लुक्ला विमानस्थल नजिकैको वनमा लागेको आगो हावाका कारण झनै फैलियो
सोलुखुम्बु : हावाको वेगका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा लागेको आगो निभाउन समस्या भएको छ । फायर फाइटरसहितको सिम्रिक एयरको हेलिकोप्टर आगो निभाउन सोमबार बिहानैदेखि जुटिरहेको छ।
सिम्रिक एयरको हेलिकोप्टरले स्थानीय सुर्के खोलाबाट पानी ल्याएर आगो निभाउने प्रयास गरिरहेको छ। तीव्र वेगको हावाका कारण आगो फैलिरहेको र निभाउने प्रयास भइरहेको सिम्रिक एयरका आङतासी शेर्पाले जानकारी दिए।
हेलिकोप्टरले ६० पटकसम्म पानी खन्याइसकेको छ। आगो फैलिए पनि सिम्रिक एयरको हेलिकोप्टरले निभाउने प्रयास गरिरहेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले बताए । 
हेलिकोप्टरले स्थानीय सुर्के खोलाबाट पानी भरेर नाक्चुङ वनमा लागेको आगो निभाउने प्रयास गरिरहेकाे छ । धुवाँले गर्दा सोमबार बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।
प्राधिकरण प्रमुख अछामीका अनुसार विमानस्थल नजिकैको जंगलमा लागेको आगोको धुवाँले धावन मार्ग ढाकेपछि विमानस्थल बन्द भएको थियो। आगलागीबाट सल्ला, उत्तिसलगायतका प्रजातिका बोटबिरुवाहरु धेरै मात्रामा नष्ट भइसकेको स्थानीयले बताएका छन् ।
नाक्चुङ वनमा आइतबार रातीबाट सुरु भएको आगलागीको कारण भने पत्ता लागेको छैन।
प्रतिक्रिया दिनुहोस !