अर्थतन्त्रको समस्या गभर्नरमाथि थोपरेर अर्थमन्त्री उम्किन मिल्दैन : रिजाल
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले आसेपासे पुँजीबाटबाट राज्य बाहिर निस्कन नसकेको बताएका छन्।
अन्नपूर्ण मिडिया नेटवर्कको अन्तर्क्रियामा बोल्दै नेता रिजालले आसोपासे पुँजीवादबाट उम्किन ढिला भइसकेको बताए। ‘हिजो चकलेट आयात खोल्नु र अहिले छोहडा, सुपारीको आयात खोल्नु उस्तै प्रवृति हो,’ उनले भने।
अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको समस्या समाधान गर्नुको सट्टा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि दोष थोपरेर उम्किन खोजेको नेता रिजालले आरोप लगाए। ‘अर्थतन्त्रको समस्या गभर्नरमाथि थोपरेर अर्थमन्त्री उम्किन मिल्दैन,’ उनले भने। गभर्नरलाई दोष लगाएर गठबन्धनलाई फाइदा पुग्ने भए पनि अर्थमन्त्री उम्किनु गलत भएको उनले बताए।
अर्थतन्त्र संकटउन्मुख हुँदा पनि पढेका नपढेका सबै मन्त्रीले हचुवामा ७ प्रतिशत आर्थिक वृद्धि गर्छु भन्ने खोक्रो रटान गर्ने गरेको बताए। निरपेक्षतामा पछिल्ला कुनै मन्त्रीले अर्थतन्त्रलाई सुधार्नतर्फ नलागेको उनको भनाइ छ।
अर्थतन्त्रको चरित्र फेरिए पनि बहस नफेरिएको उनले बताए। पात्र र कुर्सी फेरिए पनि अर्थतन्त्रको स्वरुप नफेरिएको उनको भनाइ छ। ‘दुई खर्ब ७३ अर्बको पुँजीगत खर्च हुन नसक्नु अहिलेको समस्या मात्रै नभई पुरानै समस्या हो,’ उनले भने। अहिलेको सरकारले नयाँ बिगार नगरेको भन्दै डा.रिजालले पूर्ववत् सरकारले पनि उत्पात नबिगारेको बताए।
अर्थतन्त्र संकटउन्मुख भए पनि सजिलै समस्या निस्केर जाने उनले विश्वास व्यक्त गरे। कृषिको आयात रोक्न उत्पादन बढाउनुको विकल्प नभएको उनको भनाइ छ। माछा, मासु, अण्डा, चामललगायत कृषिजन्य उत्पादन ल्याउन नपरोस् भन्नेमा सोच्न जरुरी रहेको रिजालको जोड छ।
प्रतिक्रिया दिनुहोस !