नयाँ वर्ष नयाँ आशा

नयाँ वर्ष नयाँ आशा

२०७८ साल बिदा भएको छ। आजदेखि नयाँ साल २०७९ सुरु भयो। गएको वर्ष खास सुखद रहेन। रहलपहल कोभिडको असर पर्‍यो। २०७८ साललाई राजनीतिक खिचातानीको वर्षभन्दा हुन्छ। झन्डै दुई तिहाइको सरकार गिरेर सानातिना दलहरू मिलेर सरकार बनाए। राजनीतिमा फोहोरी खेल देखियो। सत्ताको फोहोरी खेलकै परिणाम पार्टीहरू फुटे। नयाँ संविधानपछि देशमा राजनीतिक स्थिरताको आशा थियो। त्यसमाथि दुई ठूला दलहरू मिलेर बनेको झन्डै दुई तिहाइको सरकार त्यसै साल पो ढल्यो। राजनीतिक स्थिरताको जनताको आशामा तुषारापात भयो। एकातिर राजनीतिक खिचातानी अर्काेतिर आर्थिक संकट। यी दुवै कुराले जनतालाई निकै निराश पार्‍यो। अर्थतन्त्र कमजोर भयो। सरकारले पुँजीगत खर्च गर्न सकेन। बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भयो। ऋण खोज्नेले पनि पाउन सकेनन्। ब्याजदर महँगो भयो। पेट्रोलियम पदार्थको मूल्य इतिहासकै महँगो भयो। त्यसको असर यातायातलगायत क्षेत्रमा पर्‍यो। दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्यो। यी यावत् कुराहरूले २०७८ साललाई बिर्सनलायक बनाए। 

आखिर जुनसुकै समय पनि बितेरै जाने हो। गयो। प्रसिद्ध भनाइ ‘समय बितेर जान्छ’ भन्नुको मतलव के हो भने सधैं दुःख पर्दैन सुख आउँछ, सधैं सुख पनि रहँदैन, दुःख आउन सक्छ। समयको चक्र चलिरहन्छ। समयशक्तिको सामथ्र्यलाई सही सदुपयोग गर्नु नै बुद्धिमत्ता हो। तसर्थ आजदेखि सुरु भएको नयाँ वर्षमा नयाँ संकल्पका साथ नयाँ प्रारम्भ गर्नु विवेकसम्मत हुन्छ। त्यस्तो संकल्प सरकार वा सत्ता चलाउनेहरूले मात्रै गरेर हुँदैन। सम्पूर्ण नागरिकले पनि गर्नुपर्छ। व्यक्ति व्यक्तिले गर्नुपर्छ। व्यक्ति व्यक्तिकै असल कर्मबाट समाज र देश असल बाटोमा लम्किन्छ। 
हरेक समयले मानिसलाई मौका दिन्छ। वर्ष २०७९ ले त्यस्तै मौका लिएर नेपालीमाझ आएको छ। मौका किनभने यो वर्ष तीन वटा चुनाव हुँदैछ। पहिलो महिनामै स्थानीय चुनाव गर्दैछौं हामी। असल नागरिक भएर असल जनप्रतिनिधि चुन्न सक्यौं भने असल सेवा पाउन सक्छौं। प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पनि यसै वर्ष गर्नुपर्ने नै छ। त्यतिबेला पनि हरेक मतदाता नेपालीले विवेकसम्मत मतदान गर्नुपर्नेछ। हाम्रो एकएक भोटले नै हाम्रो आफ्नै भविष्य निर्धारण गर्ने हो। देशको भविष्य निर्धारण गर्ने हो। यो वर्ष राजनीतिक स्थिरता र समृद्धिका लागि मतदान गर्न सकौं। दलहरूले जनमतको कदर गरून्। म र मेरो दल नभनी राष्ट्र भनून्। 

वैशाख भन्नु वसन्त याम हो। यो याममा रुखबिरुवाले काँचुली फेर्छन्। शिशिरमा झरेका ठाउँमा नयाँ पालुवा र पात पलाउँछ यो याममा। चराचुरुंगी र वन्यजन्तुको प्रणयको याम पनि हो यो। वसन्त याम त्यसै ऋतुहरूको राजा कहलिएको होइन, यो साँच्चिकै सिर्जनाको ऋतु हो। प्रकृतिको यही संयोगसँग मिलाएर हाम्रा पुर्खाहरूले वैशाखलाई वर्षको पहिलो महिना बनाएका छन्। कविवर स्व. माधवप्रसाद घिमिरे आफ्नो एउटा कवितामा भनेजस्तै ‘आएर कैल्यै पनि नसकिने चैत वैशाख’ फेरिफेरि पनि आउँलान्। तर २०७९ वैशाख १ फेरि अर्काे आउँदैन। तसर्थ पुराना खराब आनीबानी त्यागेर नयाँ असल बानीव्यहोरा अँगाल्ने प्रेरणा संकल्प गरौं। भित्ताको पात्रो पल्टाउने बेलामात्रै यसलाई नठानौं। असल कर्मको प्रेरणा दिवसका रूपमा नयाँ वर्षलाई लिऔं। इतिहासको निर्मम समीक्षा गरी भविष्यको सुन्दर योजना बनाएर कार्यान्वयनमा लागौं। सबै नेपालीको भलो होस्। नेपालको जय होस्। नयाँ वर्षको शुभकामना ! 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.