उपमहानगरका विषयमा सत्ता गठबन्धन अझै अनिर्णित, शीर्ष नेताहरु भोलि साढे ११ बजे फेरि बस्ने
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिना निर्णय टुंगिएको छ। प्रधानमन्त्री निवासमा सोमबार दोस्रोपटक बसेको बैठकले पनि महानगर र उपमहानगरको विषयमा टुंगो लागाउन सकेन।
केही पालिकाहरुमा सबै दलहरुले दाबी गरेपछि सहमतिमा नपुगेको बालुवाटार स्रोतले जानकारी दियो। 'महानगरका विषयमा धेरै कुरा सहमति भएको छ। तर उपमहानगरको विषयमा अझै सहमति हुन सकेको छैन,' स्रोतले अन्नपूर्णसँग भने।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीकै अध्यक्षतामा भोलि (मंगलबार) पुनः बैठक बस्ने जानकारी दिए। 'आजको बैठकमा गम्भीरताका साथ छलफल भयो। समग्ररुपमा सहमति नजिक पुगेका छौं। भोलि यसैगरी साढे ११ बजे बैठक बस्ने छ। त्यस बैठकले तपाइँहरुलाई राम्रो खबर सुनाउने छ,' उनले सञ्चारकर्मीहरुसँग भने।
उनले ६ महानगर र ११ उपमहानगरका विषयमा गम्भीर छलफल भएको बताए। 'धेरै ठाउँमा सहमति भएको छ। यसअघि तोकेको मापदण्डअनुसार नै भोलि अन्तिम निचोडमा पुग्छौं,' उनले भने।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भने महानगरको विषयमा सहमति नजिक पुगेको दाबी गरेका थिए। सोमबार दिउँसो पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेसले ३ र बाँकी दलले एक-एक महानगरमा उम्मेदवार उठाउने सहमति भएको बताएका थिए। स्रोतका अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेसले लिने सहमति गरेको छ भने माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्जमा उम्मेदवारी दिने सहमति भएको छ।
प्रतिक्रिया दिनुहोस !