‘किसुनजी, गिरिजाबाबुले कम्युनिस्टसँग सत्ता सहकार्य गर्दा पनि चुनावी तालमेल गरेनन्, अहिले के बाध्यता आइलाग्यो?’
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कम्युनिस्टसँग चुनावी तालमेल गर्ने निर्णयमा असहमति जनाएका छन्। केन्द्रीय समितिको आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय पन्छाएर केन्द्रबाट निर्णय लादिएको भन्दै कोइरालाले विरोध गरेका हुन्।
नेविसंघको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै नेता कोइरालाले विगतमा कम्युनिस्टसँग सरकारमा सहकार्य भए पनि चुनावी तालमेल नभएको स्मरण गर्दै अहिले के बाध्यता आइलाग्यो भनि प्रश्न गरे। उनले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासम्म पालामा कांग्रेसले कम्युनिस्टसँग सत्ता सहकार्य गरेको तर कसैले पनि निर्वाचनमा तालमेल नगरेको कोइरालाले बताए।
वीपीले नै कांग्रेसको पृष्ठभूमि, भूमिका, पहिचानमा अरुभन्दा भिन्न भएकाले कहिले पनि कम्युनिस्टसँग शाब्दिक साथ लिएर अगाडि जानुहुँदैन भनेको उनले स्मरण गराए।
‘तर राजाको कारणले गर्दा गणेशमानजी, किसुजी, गिरिजाबाबुहरुसँग कम्युनिस्टहरुसँग मिलेर पहिलो जनआन्दोलन भयो। प्रजातन्त्र बहुदलीय व्यवस्थामा अगाडि बढ्यौं। त्यो बेला किसुनजीको सरकारमा एमाले पनि थियो। तर निर्वाचनमा हामी एक्लै लड्यौं। हामी कसैसित मिलेनौं,’ उनले भने।
दोस्रो जनआन्दोलनमा निरंकुशता अन्त्य गर्न र गणतन्त्र प्राप्त गर्नलाई गिरिजाबाबुले माओवादीसहित सबै कम्युनिस्टलाई एकढिक्का बनाएर लोकतन्त्र प्राप्त गरेको र देश गणतन्त्रमा गएको भन्दै उनले थपे, ‘हाम्रै सरकारमा माओवादी र एमालेहरु थिए। तर निर्वाचनमा हामी सँगै गएनौं।’
सुशील कोइरालाको पालमा संविधान बनाउने क्रममा कांग्रेसँगै एमाले सरकारमा रहेको र माओवादीहरुले बाहिरबाट सहयोग गरेर संविधान बनाएको उल्लेख गर्दै कोइरालाले भने, ‘तर निर्वाचनमा हामी सँगै गएनौं।’
उनले प्रश्न गरे, ‘तर आज के कति कारणले किन हामीहरु कम्युनिस्टहरु मिलेर गठबन्धन गरेर अगाडि बढिरहेका छौं? स्थानीय निर्वाचनमा गइरहेका छौं? के कारणले नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयलाई पन्छाएर शीर्ष नेताहरु गठबन्धनको बैठकमा निर्णयहरु गरेर जिल्ला जिल्लामा पठाइरहनुभएको छ? के हामी कमजोर छौं? मलाई लाग्छ नेपाली कांग्रेस कमजोर छ। एक्लै लड्यौं भने पनि हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौं भन्ने आत्मविश्वास छ।’
उनले कम्युनिस्टहरु मिल्दै चुनाव लड्ने हो भने भएका मतदाता पनि गुमाउने चेतावनी दिए। ‘हाम्रा ३६ लाख भोटर छन्। नयाँ भोटरहरु आएका छन्। ३४/३५ प्रतिशत हामीसँग भोट छ। त्यसलाई १० लाख र २० लाख गरेर बढाउन सकेनौ भने कांग्रेस फेरि कमजोर हुन्छ,’ उनले भने।
उनले चुनावी तालमेल गर्ने निर्णयमा महामन्त्री गगन थापा पनि असन्तुष्ट रहेको बताए। ‘अघि हामी कानेखुसी गर्दैथियौं, गगनजीले भन्नुभयो, दाई कस्तो विडम्बना भयो हामीहरुलाई। हामीले त अर्को पार्टीको छापमा स्वस्तिक चिन्ह लगाउनुपर्ने भो भन्दै हुनुहुन्थ्यो,’ उनले भने, ‘यो अवस्था किन आयो? के कारणले आयो? यसको लेखाजोखा हामी निर्वाचनपछि गरौँला। यो निर्वाचन कांग्रेसका उम्मेदवारलाई जिताउन तपाईँहरु घरघर गएर जिताउनुस्। कांग्रेसलाई कसैको वैशाखी लिएर जानुपर्ने आवश्यकता छैन। पर्दैन।’
प्रतिक्रिया दिनुहोस !