अर्थमन्त्रीको विषयमा छानविन गरौं :महेश बस्नेत
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माको भूमिकामाथि प्रश्न उठेको छ ।
आर्थिक वर्ष २०७९/ ८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत रुपमा एक पूर्वकर्मचारीलाई सहभागी गराएको विषय बाहिर आएपछि संसदमा प्रश्न उठेको हो ।
सांसद महेश बस्नेतले अर्थमन्त्रीको विषयमा प्रश्न उठेको भन्दै छानविनको माग समेत गरे । उनले भने, ‘आज मात्रै हामीले समाचार सुन्यौं । अर्थमन्त्रीज्यूले भन्सारका दररेटहरु र करका दररेटहरु परिवर्तन गर्न अघिल्लो दिन राति एकजना पूर्वसुब्बालाई ल्याएर गडबडी गर्नुभयो । वायर कारखानादेखि लिएर सेनेटरी प्याड सबै कुरामा तमाम दररेटहरु खारेज गरेर अर्थमन्त्रीज्यूले नियमित कमिसन खाने योजना बनाउनुभयो भन्ने कुरा सुन्यौं ।’
सांसद बस्नेतले नीतिगत सुधारदेखि मन्त्रीहरुको व्यवहार परिवर्तन हुन जरुरी रहेको बताए ।
सिमेन्ट र रडमा महिनाको ३० करोड विद्युत तिर्ने कारखानालाई १५ प्रतिशत छुट दिनएर एक मुष्ट करोडौं रकम आम्दानी लिने कुरा बाहिर आएको भन्दै उनले अर्थमन्त्रीको भूमिकामाथि प्रश्न गरे।
उनले भने, ‘सिमेन्ट र रडमा महिनाको ३० करोड विद्युत तिर्ने कारखानाहरुलाई १५ प्रतिशत छुट दिने कुराले एक मुष्ट करोडौ रकम आम्दानी लिएको कुरा, महिनाको ३७ लाख रुपैंया नियमित लिएको कुरा पनि आएको छ । रोम जलिरहेछ निरोहरु बाँसुरी बजाइरहेछन् भन्ने कुरा देखिरहेका छौं । यो विषय छानविन हुनुपर्छ । ’
सोमबार अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा 'बिहानी प्रहर जब पूर्वनासुले बजेट चलाए...’ शीर्षकमा समाचार प्रकाशित भएपछि अर्थमन्त्री शर्माको तीव्र आलोचना भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !