सभामुख सापकोटा र ली चानसुबीच नयाँ बानेश्वरमा भेटवार्ता
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसुबीच शिष्टाचार भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा उनीहरुबीच भेटवार्ता भएको हो।
'सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चानशुबीच शिष्टाचार भेट भएको छ। उहाँहरुबीच संघीय संसद भवन नयाँ वानेश्वरको तिलिचो हलमा शिष्टाचार भेट भएको हो,' सभामुखको सचिवालयले भनेको छ।
चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेका ली चानसुको सम्मानमा आजै सोल्टी होटलमा रात्रिभोजको आयोजना गरिएको छ। सभामुख सापकोटा रात्रिभोजमा सरिक हुन साँज ७ बजे सोल्टी होटल जाने कार्यक्रम छ।
ली चानसुले भोलि (मंगलबार) प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नेछन्। भोलि नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्नेछन्।
ली चानसुले पर्सी (बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !