नौमती बाजा बजाउँदै ब्राह्मण
सिमरा: राति ८ बजेपछि गढीमाई ४, औराहस्थित दुर्गा मन्दिरमा नौमती (पञ्चैबाजा) बाजाको भाका सुरु हुन्छ । भाकाको तालमा ताल मिलाएर नाच्नेको उत्साह र छेउमै बसेर थपडी बजाउनेको जोशले लाग्छ, त्यहाँ कुनै वैवाहिक कार्य भइरहेको छ । तर, त्यहाँ न बेहुलाबेहुली भेटिन्छन् न त जन्ती नै । सुनसानजस्तै हुने रातिको समयमा मन्दिरमा देखिने यो दृश्यले जोकोही पनि झुक्किन्छन् ।
स्थानीयलाई तब रोचक लाग्छ, जब दमाई जातिले बजाउने परम्परागत पञ्चैबाजा ब्राह्मण समुदायका पुरुष र महिलाको हातमा देखिन्छ । सनई, दमाहा, ढोलकी, कर्नाल, टेम्पो र झ्याली बजाएर औराहका ब्राह्मण समुदाय भने त्यसको तालमा रमाइरहेका हुन्छन् ।
विवाहको झल्को दिने औराहका ब्राह्मण समुदायको यो प्रयास रमाइलोमा मात्र सीमित छैन । लोप हुन लागेको परम्परागत पञ्चैबाजाको संरक्षण गर्ने अभियानमा औराहका ब्राह्मण समुदाय धौलागिरि सांस्कृतिक समूह निर्माण गरेर लागिपरेका छन् । एक महिनादेखि पञ्चैबाजा समाउन थालेका उनीहरू अहिले बाजा बजाउन सिकिरहेका छन् ।
'पञ्चैबाजा लोप हुन थालेको छ । परम्परागत बाजा संरक्षण गर्नु हाम्रो पनि दायित्व हो', बाजा संरक्षण समितिका सदस्य चूडामणि पौडेलले भने, 'त्यसैले हामी ब्राह्मण समुदायका व्यक्तिहरू मिलेर पञ्चैबाजा सिकिरहेका छौं । यसले लोप हुन लागेको बाजाको संरक्षणका साथै हाम्रो सीपको विकास हुन्छ ।' पञ्चैबाजा दमाई जातिले बजाउने भनेर समाजमा भनिने गरिए पनि आफूहरू त्यसमा सहमत नभएको पौडेलको भनाइ छ । नेपाली संस्कृतिको परम्परागत बाजालाई संरक्षण गर्न कुनै जातिविशेष हुनुपर्छ भन्ने मान्यताबाट आफूहरू टाढा रहेको भन्दै पौडेलले सबैको सहयोगमा यो अभियान थालिएको बताए ।
गाउँमै २०४८ सालमा स्थापना गरिएको दुर्गा मन्दिरमा भजन गाउँदै आएका उनीहरूले पञ्चैबाजा बजाउनका लागि अहिले दैनिक दुई घन्टा प्रशिक्षण गरिरहेका छन् । राति ८ बजे मन्दिरमा भेला भएर बाजा बजाउन सिक्नेमा महिला पुरुष दुवै छन् । उत्साहका साथ बाजा बजाउन सिकिरहेका उनीहरू व्यावसायिक रूपमा अघि बढ्ने सोचमा छन् ।
'अहिले हामी संरक्षणको अभियानमा छांै, विस्तारै व्यावसायिक रूपमा अघि बढ्छौं', भजन तथा बाजा समितिका संयोजक राधाकृष्ण पौडेलले भने, 'बाजाबाट आएको आयस्रोत हामी मन्दिर भौतिक पूर्वाधार र थप संरचना निर्माणमा खर्चनेछौं ।'
नेपाली संस्कृतिमा विवाह, व्रतबन्ध, जात्रा, रोपाइँ, यज्ञ, समारोहजस्ता शुभ कार्यको साइतमा पञ्चैबाजा बजाएपछि उक्त साइत शुभ हुने विश्वास रहिआए पनि पछिल्लो समय पञ्चैबाजा बजाउनेको कमी हुँदै गएपछि आफूहरू संरक्षणमा जुटेको पौडेलको भनाइ छ । शुभकार्य गर्दा बाजा बजाउनेलाई ठूलो रकम खर्चिनुपर्ने र आवश्यक परेको बेलामा पञ्चैबाजा नपाइने भएकाले पनि आफूहरूले रकम जुटाएर बाजा खरिद गरेको पौडेलले बताए ।
झन्डै ८५ जना सदस्य रहेको धौलागिरि समूहका सदस्यले आर्थिक रकम संकलन गरेर पञ्चैबाजा किनेका छन् । समूहका नौजनाले अहिले दैनिक प्रशिक्षण गरिरहेका छन् । सनई फुक्न थालेका गोविन्द आचार्यले कहिल्यै नसमाएको बाजा बजाउँदा सुरुमा केही असहज भए पनि अहिले आफू उत्साहित रहेको बताए ।
'दमाई जातिले बजाएको हामीले देखेका थियौं, कसरी बजाउने भन्नेबारेमा पनि थाहा थिएन', आचार्यले भने, 'तर हामीले प्रयास गर्यौं र आज सफल हुँदै गएका छौं । अब एक महिनापछि विवाहमा बजाउनका लागि योग्य हुनेछौं ।'
ब्राह्मण समुदायले सनई बजाएको देखेर आश्चर्यमा परेका समाजका केही व्यक्तिको प्रतिक्रियाबाट आफूहरू विचलित नभएको भन्दै आचार्यले यो निःस्वार्थ ढंगबाट थालिएको अभियानमा लागिपर्ने बताए । समूहमै दमाहा बजाउँदै आएकी सरिता पौडेलले पञ्चैबाजा जोगाउनुपर्छ भन्दै सुरु गरिएको अभियानमा सबैले साथ दिनुपर्ने बताइन् । प्रशिक्षणका क्रममा रहेका आफूहरू अहिले गाउँमा हुने धार्मिक कार्यमा बजाउन थालेको पौडेलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !