ठोरीको केन्द्र सार्ने निर्णयले सातादेखि बजार र सडक बन्द
वीरगन्जः पर्साको ठोरी गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरोधमा सुवर्णपुरमा एक सातादेखि बजार र गाडी बन्द हुँदा त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
माघ १५ गते बसेको ठोरी गाउँपालिकाको प्रथम गाउँपरिषदले सुर्वणपुरमा रहेको सेवा केन्द्र साबिकको निर्मलवस्तीको घ्याङ्ग डाँडामा सार्ने निर्णय गरेपछि १६ गते देखि आन्दोलनमा उत्रिएका सुर्वणपुरवासीले बजार बन्द गराएका छन् । उनीहरूले वीरगन्ज-ठोरी सडकखण्डमा गाडी गुड्न दिएका छैनन् ।
सुर्वणपुरवासीको आन्दोलनका कारण हुलाकी सडकको काम पनि रोकिएको छ । उनीहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।
एक सातादेखि गाडी नगुड्दा र बजार पनि बन्द हुँदा स्थानीयको जनजीवन कष्टकर बन्दै गएको स्थानीय अर्जुन श्रेष्ठले बताए ।
गाउँपरिषद् भएको भोलिपल्टैदेखि सङ्घर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका सुर्वणपुरवासीले सेवा केन्द्र यथावत् कायम राख्नुपर्ने, सबै वडामा समान ढङ्गले बजेट विनियोजन गर्नुपर्ने, १५ शैयाको अस्पताल सबैलाई पायक पर्ने ठाउँमा राख्नुपर्ने माग राखेका छन् ।
गाँउपरिषद्मा गाउँपालिकाकी उपाध्यक्ष शान्तिमाया थिङसहित वडा नम्बर ५ र ३ का गरी १० जना जनप्रतिनिधिले असहमति जनाउँदा पनि गाउँपालिका अध्यक्ष श्रेष्ठले जबरजस्ती र एकलौटी सेवा केन्द्र सार्ने निर्णय गर्न लगाएको सङ्घर्ष समितिका संयोजक झरी लामा थिङले बताए ।
आफुहरुको माग सम्बोधन नभए सम्म आन्दोलन जारी नै रहने सङ्घर्ष समितिका संयोजक थिङले जानकारी दिए । एक सातादेखि आन्दोलन गर्दै आए पनि ठोरी गाउँपालिकाका अध्यक्ष पिएला श्रेष्ठले गाउँ परिषद्बाट जबरजस्ती गराएको निर्णयले सुवर्णपुरवासीलाई निराश बनाएको र उक्त निर्णय मान्य पनि नभएकोले परिषद् बैठक बोलाउनुपर्ने संयोजक थिङले बताए ।
सुवर्णपुरका काङ्ग्रेसका युवा नेता विश्वराज घिमिरेले पनि सुवर्णपुरवासीलाई बाइपास गरेर ठोरी गाउँपालिकाका जनप्रतिनिधिहरू अगाडि बढ्न नसक्ने चेतावनी दिँदै गत माघ १५ गतेको निर्णय मान्य नभएकोले उक्त निर्णय बदर गरी फेरि बैठक डाक्नुपर्ने बताए ।
सङ्घर्ष समितिले आन्दोलनलाई मर्यादित बनाउन सोमबार विश्वराज घिमिरेको संयोजकत्वमा युवा परिचालन उपसमिति, मसिनी माया मोक्तानको संयोजकत्वमा महिला परिचालन उपसमिति र लेखमान थापाको संयोजकत्वमा बुद्धिजीवी परिचालन उपसमिति गठन गरेको छ ।
आन्दोलन फिर्ता गर्न प्रदर्शन
यता सेवा केन्द्र सार्ने निर्णयको विरोधमा सुर्वणपुरमा भइरहेको आन्दोलनको विरोध र सेवा केन्द्र सार्ने निर्णयको समर्थनमा निर्मलवस्तीको विजयवस्तीमा सोमबार प्रदर्शन भएको छ ।
सुर्वणपुरको आन्दोलन फिर्ता गर्न र माघ १५ गते गाउँ परिषद्ले सेवा केन्द्र सार्न गरेको निर्णय लागु गर्न माग गर्दै ठोरी गाउँपालिका वडा नम्बर ४ विजयवस्तीमा सोमबार युवाहरूले मोटरसाइकल रयाली निकालेर प्रदर्शन गरेका हुन् ।
मोटरसाइकल रयालीमा सहभागी विजयवस्तीका युवाहरूले गाउँ परिषद्को निर्णय लागू गर, बन्द हडताल फिर्ता गर,बिजुलीको पोल भाँच्नेलाई कारबाही गर,गाउँपालिका अध्यक्ष पिएला श्रेष्ठ जिन्दाबाद लगायतका नारा पनि लगाएका थिए ।
मोटरसाइकल रयालीमा माओवादी केन्द्रको साबिक निर्मलबस्ती गाविस इन्चार्ज मान बहादुर श्रेष्ठ, नेकपा एमाले वडा नम्बर ४ का संयोजक दिल बहादुर श्रेष्ठ, गोपी श्रेष्ठ, माओवादी अगुवाहरु अर्जुन श्रेष्ठ, मुन्ना श्रेष्ठ लगायतको सहभागिता थियो ।
वार्तामा आउन आग्रह
यसैबीच सेवा केन्द्र सार्ने निर्णयको विरोधमा आन्दोलन गरिरहेको सङ्घर्ष समितिलाई वार्तामा आउन ठोरी गाउँपालिकाले आग्रह गरेको छ । वार्ताबाट समस्याको समाधान खोज्न सकिने भन्दै सङ्घर्ष समितिलाई वार्तामा आउन आग्रह गरिएको गाउँपालिकाका प्रवक्ता रामप्रकाश कुँवरले बताए ।
वार्ताको वातावरण बनाउने जिम्मा दिइएको सहजकर्ता मार्फत सङ्घर्ष समितिलाई वार्तामा आउन आग्रह गरिएको कुँवरले बताए । जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष एवं सहजकर्ता ठाकुर न्यौपाने मार्फत आन्दोलनकारीलाई वार्तामा आउन आग्रह गरिएको र सम्भवत मङगलवार बिहान ११ बजे विजयवस्तीमा वार्ता हुने कुँवरले जानकारी दिए ।
तर सङ्घर्ष समितिका संयोजक थिङले भने वार्ताका लागि सहजकर्ता न्यौपाने मार्फत मौखिक जानकारी आएको भए पनि गाउँपालिकाले लिखित रूपमा वार्ताका लागि पत्र नपठाएसम्म वार्तामा नबस्ने बताए ।
प्रतिक्रिया दिनुहोस !