मध्यपहाडी लोकमार्गः सडक मोड्ने तयारी
फिदिम : पूर्वको च्याङ्थापुदेखि पश्चिम बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्गलाई नेपाल-भारत सीमाको फालोटतर्फ मोड्ने तयारी गरिएको छ।लोकमार्गको उद्गमस्थल मानिएको चिवाभञ्ज्याङदेखि भारतर्फ सीधा सम्पर्क सम्भव नहुने भएपछि फालेलुङ गाउँपालिकाको फालोटतर्फ मोड्न लागिएको हो।
चिवाभञ्ज्यासम्म यातायातका साधन गुड्न थालेको करिब ६ वर्षपछि लोकमार्गलाई सीमापारि जोड्ने उद्देश्यले च्याङथापुदेखि फालोटतर्फ सडक विस्तार गर्न लागिएको हो। फालोटको ३-सिमानासम्म लोकमार्ग विस्तारका लागि चिवाभञ्ज्याङभन्दा १८ किलोमिटर तल च्याङथापुदेखि फालोटतर्फ सडक मोड्न लागिएको हो। ३-सिमानामा रहेको नेपाल-भारत सीमाको एक नम्बर पिलरसम्म प्रारम्भिक चरणको सर्भे गरिएको मध्यपहाडी लोकमार्गका इन्जिनियरले बताएका छन्।
लोकमार्गको उद्गमस्थल चिवासम्म पाँच वर्ष अघिदेखि यातायातका साधान पुग्न थालेका थिए। तर, चिवादेखि सीमापारि भारतको सिक्किमसम्म जोड्ने सडक निर्माण अहिलेसम्म अनिश्चित छ। चिवाबाट सिक्किमसँगको सीधा सम्पर्क सम्भव नहुने भएपछि निकासका लागि फालोटतर्फ सडक मोड्ने तयारी गरिएको छ। फालोटबाट सिक्किमको बिजम्बारी बजार नजिक पर्छ।
चिवामा नेपाल-भारत सीमाको ४७ नम्बर पिरलसम्म सडक पुगेको थियो। चिवापारि भारततर्फ सिंहलीला राष्ट्रिय निकुञ्ज पर्छ। सीमावर्ती क्षेत्र चिवादेखि करिब २० किलोमिटरको दूरीमा भारतको उत्तरे बजार छ। उक्त बजारसम्म मात्र भारतीय पक्षले सडक विस्तार गरेको छ। राष्ट्रिय निकुञ्जलाई क्षति पुग्ने गरी भारतीय पक्षले चिवासम्म सडक विस्तार नगर्ने हुँदा फालोटतर्फ सडक मोड्न लागिएको हो।
चिवादेखि भारतीय सीमावर्ती बजारसँग सडक नजोडिएकै कारण च्याङथापुदेखि फालोटतर्फ सडक मोड्न खोजिएको हो।
फालोटसम्म भारतीय क्षेत्र भएर सडक सञ्जालको विस्तार भइसकेको छ। परामर्शदाताको सल्लाहबमोजिम फालोटसम्म सडक पुर्याउन प्रारम्भिक चरणको काम सुरु गरिएको यस क्षेत्रमा कार्यरत इन्जिनियर शिबु खत्रीले जानकारी दिए।
‘च्याङ्थापुदेखि फालोटसम्मको प्रारम्भिक सर्भे पूरा भएको छ,’ इन्जिनियर खत्रीले अन्नपूर्णसँग भने, ‘सडक निकासका लागि फालोटतर्फ मोड्न लागिएको हो।’ च्याङथापुदेखि सामाजुङ, तोरीफुले, लामपोखरी हुँदै फालोटको ३-सिमानासम्म सडक पुर्याउन लागिएको हो। ३-सिमानामा रहेको नेपाल-भारत सीमाको एक नम्बर पिलरसम्म प्रारम्भिक चरणको सर्भे सकिएको हो। चिवादेखि भारतीय सीमावर्ती बजारसँग सडक नजोडिएकै कारण च्याङथापुदेखि फालोटतर्फ सडक मोड्न खोजिएको हो। ‘सडकको रुट परिवर्तन गरिएको होइन,’ खत्रीले भने, ‘चिवातर्फ पनि काम भइरहेको छ।
सडकको निकासका लागि फालोटतर्फ पनि सडक लैजाने प्रयत्न गरिएको हो।’ च्याङथापुदेखि चिवासम्मको १८ किलोमिटर सडकमा पनि स्तवृद्धिको काम सुस्त गतिमा भइरहेको छ। यो खण्डमा कोसी एन्ड न्यौपाने निर्माण कम्पनीले स्तरवृद्धिको काम गरिरहेको छ।
व्यापारिक र सामरिक दृष्टिकोणले फालोटसम्म सडक पुर्याउन उपयुक्त देखिएपछि प्रारम्भिक चरणको काम सुरु गरिएको हो। ‘भारतसँग व्यापारिक सम्बन्ध बढाउन फालोटसम्म सडक पुर्याउनु उपयुक्त छ,’ च्याङथापुका स्थानीय यज्ञ भट्टराइले भने, ‘पर्यटकीय क्षेत्रसमेत रहेको फालोटसम्म पारितिरबाट यसअघि नै सडक आइसकेको छ।’ च्याङथापुदेखि मेमेङ, लामपोखरी हुँदै फालोटसम्म नयाँ ट्रयाकबाट सडक पुर्याउनुपर्ने हुन्छ। भारतर्फबाट दार्जिलिङ, मानेभञ्ज्याङ, सन्दकपुर हँुदै यहासँम्म सडकको विकास भइसकेको छ।
पाँचथर, ताप्लेजुङ र तेह्रथुममा सडक सञ्जालको विकास नभएसम्म यहाँका मानिसहरूले भारतको पश्चिम बंगालमा अवस्थित सीमा क्षेत्रको विजमबारी बजारमा व्यापारिक कारोबार गर्थे। फालोटसम्म सडक पुगेपछि भारतसँगको व्यापारिक कारोबारमा सहजता हुने स्थानीयको भनाइ छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको मध्यपहाडी लोकमार्गलाई सामरिक र व्यापारिक हिसाबले महत्वपूर्ण मानिएको छ। पहाडै पहाड सडकको विकास गर्ने उद्देश्यले विस्तार सुरु गरिएको सडकको कुल लम्बाइ एक हजार सात सय ५६ किलोमिटर छ। सडकको उद्गमस्थल चिवाभञ्ज्याङदेखि काठमाडौंसम्मको सडक ६ सय ८१ किलोमिटर हो। फालोटतर्फ सडक मोड्दा दुई-चार किलोमिटर सडकको लम्बाइ बढ्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !