चेपाङ बस्तीमा अनिकाल

चेपाङ बस्तीमा अनिकाल

भरतपुर : सुगम जिल्लाका रूपमा चिनिने चितवनका दुर्गम बस्तीमा अनिकाल सुरु भएको छ। विपन्न चेपाङ समुदायले यो समस्या हरेक वर्ष झेलिरहनुपरेको छ। खोरिया बारीमा हुने उत्पादनले ६ महिना पनि नपुग्ने हुँदा हरेक वर्ष यही समस्यासँग जुध्नुपर्ने अवस्था छ। उनीहरूले बाँकी समय जंगली कन्दमूलकै भरमा पेट भर्नुपर्छ।

‘हामीलाई त अनिकाल लाइसक्यो’, कालिका नगरपालिका-८ का अमरबहादुर चेपाङले भने, ‘साँझ बिहानको छाक टार्न जंगलको भर पर्नुपरेको छ।’ उमेरले ७० वर्ष पुगेका उनी बिहान उठेदेखि कोही आउँछन् कि भनेर बाटो हेरेर बसिरहन्छन्। ‘बूढो भइयो दायाँ-बायाँ जान पनि सक्दिनँ’, ६७ वर्षीया श्रीमती मनकुमारीले भनिन्। आडमै छोराको घर छ तर उनको अवस्था पनि उस्तै भएपछि छोराबुहारीबाट पनि आस छैन।

राप्ती नगरपालिका-१२ का बुद्धिबहादुर चेपाङको साथमा कुटो, खुर्पा र झोला कहिल्यै छुट्दैन। घरमा अनिकाल लागिसकेकाले उनलाई आगो बाल्न समस्या छ। जंगली कन्दमूलको खोजीमा उनको दिन बित्छ। उनी ३५ वर्षदेखि बिरामीसमेत छन्। खुट्टाको औँलामा घाउ हुने समस्याले दुवै खुट्टाको कान्छी औँला चुँडिएर झरिसक्यो तर उपचार पाउन सकेको छैन।

‘नजिकै पाउने भए त सकेको ज्यालामजदुरी पनि गर्थें। तर, के गर्नु नजिकमा काम पाइँदैन’, रोग र भोकको चपेटामा परेका उनले भने, ‘टाढाको ज्याला मजदुरीमा जानुभन्दा नजिकै जंगलमा कन्दमूल खोज्नै सजिलो छ।’ हरेक वर्ष अनिकालको सिजन आएपछि उनलाई रातभर निद्रा लाग्दैन। परिवारमा नौ सदस्य छन् तर कमाउने कोही नहुँदा पालिन पनि फलामको च्युरा चपाएजस्तै भएको छ उनलाई।

नजिकै सडकबाट गाडीका गाडी खाद्यान्न अन्य जिल्लामा गइरहँदा चितवनका चेपाङ भने अनिकालको चपेटामा बस्न बाध्य छन्।

राप्ती नगरपालिकाकै वडा नं. १३ युर्ती चापगैरीका उनबहादुर चेपाङको पनि समस्या उस्तै छ। मंसिरमा दुई-चार डोको कोदो थन्क्याएका उनको परिवार अहिले अनिकालको चपेटामा छ। ज्याला मजदुरीका भरमा परिवार पाल्दै आएका उनी अहिले फुर्सद हुनासाथ गिठ्ठा भ्याकुर खोज्न जंगल पस्छन्। दिनभरि मजदुरी गरे पनि जम्मा २५० रुपैयाँ ज्याला पाउने भएपछि अहिले उनी त्यता गएका छैनन्। ‘कालीटार पुगेर दिनभरि भारी बोक्यो, बूढाबूढीको दिनभरको कमाइ भनेर जम्मा पाँच सय रुपैयाँ दिन्छ’, उनले भने, ‘त्यतिले अहिलेको जमानामा के आउँछ र ? ’

पाँच वर्ष ओढारमा बसेको यो परिवारलाई जनता आवास कार्यक्रमले घर बनाइदिए पनि अनिकालको समस्याबाट मुक्त हुन सकेको छैन। खोरिया पनि भण्डारा-मलेखु चेपाङ राजमार्गले पुरिदिएपछि झन् समस्यामा परेको उनले बताए।

भरतपुर महानगरपालिका-२९ जुगेडीस्थित मगरखहरेमा बस्दै अएका विपन्न चेपाङ परिवारको पीडा पनि उस्तै छ। नजिकै सडकबाट गाडीका गाडी खाद्यान्न अन्य जिल्लामा गइरहँदा यहाँको चेपाङ समुदाय भने अनिकालको चपेटामा बस्न बाध्य छन्। घरमा खाने अन्न सकिएपछि आफ्नो नाममा एक टुक्रा जग्गासमेत नभएका सुकबहादुर चेपाङको दैनिकी दाउरा र कन्दमूल संकलन गर्नमै बित्न थालेको छ।

‘जंगल गएर दाउरा सँगसँगै कन्दमूल खोजेर ल्याउने अनि साँझ त्यही पकाएर खाने हो,’ उनले भने, ‘त्यति नगरे पटुकीले पेट कसेर बस्नुपर्छ।’

चितवनका प्रायः सबै चेपाङ बस्तीको समस्या हो यो। सडकको पहँुच पुगेका विपन्न चेपाङ बस्तीमा विभिन्न संघसंस्थाले बेलाबेला सहयोग गर्दै आए पनि सडक पहुँच नपुगेका ठाउँमा भने अहिलेसम्म त्यस्ता संघसंस्था पुग्न सकेका छैनन्। जसले गर्दा उनीहरूको पीडा जस्ताको त्यस्तै छ। गरिबी, अशिक्षा, जनचेतनाको कमीलगायत कारणबाट धेरै सन्तान जन्माउने हुँदा झन् समस्या भएको देखिएको छ। जिल्लालाई आर्थिक राजधानी बनाउने बहस चलिरहँदा विपन्न बस्तीमा बर्सेनि हुने गरेको अनिकालको समस्याबारे सरोकारवाला निकाय तथा संघसंस्थाको खासै चासो पुगेको देखिँदैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.