बीपी राजमार्गमा हायसले दैनिक लिन्छन् ज्यान
![बीपी राजमार्गमा हायसले दैनिक लिन्छन् ज्यान](https://annapurnapost.prixacdn.net/media/albums/20180514124126_Hyce-accident-bp-highway_aukqvdXmc8.jpg)
सिन्धुली: साँघुरो र मोड नै मोड भएको बर्दीबास-सिन्धुली-बनेपा (बीपी) राजमार्गमा पछिल्लो समय हायस गाडीको ठक्करबाट दैनिकजसो ज्यान जान थालेको छ ।
महोत्तरीको बर्दिबासदेखि काभ्रेको बनेपासम्मको झन्डै १ सय ६० किलोमिटर दुरीमा चल्ने हायस गाडीका कारण दैनिक सडक दुर्घटना हुन थालेको हो ।
शनिवार मात्र बीपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका-४ हरिपानी नजिकै बा ५ ख ८४० नम्बरको हायसले बा ७२ प ४९२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक दुधौली नगरपालिका-६ हर्षाहीका अन्जीत कुँवरको घटनास्थलमै मृत्यु भयो । उनीसँगै सवार गणेश फनेत गम्भीर घाइते भएपछि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ लगियो ।
त्यसको २४ घण्टा नबित्दै आइतबार कमलामाई नगरपालिका–२ को चियावारिमा हायसकै कारण अर्को दुर्घटना भयो । बा३ख ८२७० नम्बरको हायसले मे१ज २३३६ नम्बरको सुमोलाई ठक्कर दिँदा १२ जना भन्दा धेरै घाइते भए । यी त केही प्रतिनिधि घटना मात्र हुन् ।
१३५ को ज्यान गयो
बीपी राजमार्ग पूर्ण रूपमा तयार भई सञ्चालन भएको तीन वर्ष नबित्दै हायसका कारण भएका सडक दुर्घटनाबाट मात्र एक सय ३५ को ज्यान गइसकेको छ । दुर्घटनामा एक सय ५५ गम्भीर र एक सय ७० सामान्य गरी कुल ३ सय २५ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार पछिल्ला दुई वर्षयता मात्र बीपी राजमार्गमा १ सय ८० सडक दुर्घटना भएका छन् । अधिकांश दुर्घटना हायस गाडीसँग सम्बन्धित छन् । यहीका सङ्ख्यामा दुर्घटना र मानवीय क्षति महोत्तरी र काभ्रे जिल्लामा समेत भएका छन् ।
पूर्वको काँकडभिट्टादेखि, तराईको जनकपुर, सर्लाही, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप र दोलखा लगायतका जिल्लाबाट दैनिक आउने हायस गाडीको अत्यधिक गतिका कारण बीपी राजमार्गमा दैनिक दुर्घटना हुने गरेको प्रहरीकै तथ्याङ्ले प्रस्ट बताउँछ ।
बीपी राजमार्ग महोत्तरी, सिन्धुली र काभे्र जिल्लामा पर्दछ । यी तीनै जिल्लामा हुने सडक दुर्घटनालाई हेर्ने हो भने हायसकै कारण बीपी राजमार्गमा दैनिक एक न एक व्यक्तिको ज्यान जाने गरेको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका हवल्दार मनोज बस्नेत बताउँछन् ।
हायस मात्रै ५ सय
यस राजमार्गमा दैनिक ७ हजार भन्दा धेरै ठुला–साना सवारीसाधन ओहोर दोहोर गर्छन् । तीमध्ये झन्डै ५ सयको हाराहारीमा हायस मात्र सञ्चालन हुने गरेका छन् ।
बीपी राजमार्गको भौगोलिक बनावटलाई ध्यानमा राखेर यातायात व्यवस्था विभागले १६ सिटेभन्दा ठुला यात्रुवाहक, १० टनभन्दा बढी क्षमता भएका र ६ चक्केभन्दा लामो सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
नागबेली आकारको घुम्ती नै घुम्ती भएको राजमार्गमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाएपछि साना सवारीसाधन राजधानी काठमाडौँ भित्रिने र बाहिरिने गरेका छन् ।
ठुलालाई निषेध गर्दा साना सवारीको चाप बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका निमित्त प्रमुख विनोद शर्माको भनाई छ । ‘तर साना सवारी साधन तीव्रगतीमा चलाउने, अनुभव भएकाहरु विदेश जाने, लाइसैन्स नै नभएका र सह-चालकबाट चालक हुँदै गरेका राख्ने र क्षमता भन्दाबढी यात्रु तथा सामान बोक्ने गर्दा बीपी राजमार्गमा दैनिक सडक दुर्घटना बढ्ने गरेको छ,’ उनले भने ।
बीपी राजमार्ग अन्तरगत पर्ने तीनै जिल्लामा भएका दुर्घटनालाई हेर्ने हो भने दैनिक रूपमा एकजनाको ज्यान जाने गरेको शर्मा पनि स्वीकार गर्छन् ।
टाइम कार्डको बेवास्ता
प्रहरीले हायस र टाटा सुमोका कारण दुर्घटना हुन थालेपछि बीपी राजमार्गमा सबै प्रकारका सवारी साधनलाई टाइमकार्डको समेत व्यवस्था गरिएको छ । साँझ ५ बजेबाट सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सिन्धुलीको भिमान र नेपालथोकबाट आउन जान रोक लगाइएको छ ।
‘तर, पनि सडक दुर्घटना बढेको बढेकै छ । सवारी चालकहरूलाई रिफ्रेस गराउने, ट्राफिक नियमबारेमा जानकारी दिन भिमान र खुर्कोटमा रिफ्रेस सेन्टरनै सञ्चालन गरेका छौँ’, उनले भने, ‘र, पनि दुर्घटनामा कमी आउन सकेको छैन ।
प्रहरीले टाइमकार्ड लगाए पनि बिचको समयमा खाजा, खाना खान रोक्ने र समय सकिएपछि तीव्रगतीमा प्रहरी चेकपोष्टमा पुग्ने गर्दा दुर्घटना बढेको शर्माको भनाई छ ।
‘होटेलबाट चालकले कमिसन पाउने भएकाले प्राय चालकहरूले ढिलोसम्म खाना र नास्ता खान रोक्ने गरेका छन् । निश्चित समय गुज्रेपछि साना गाडी र मोटरसाइकललाई साधन नै नसम्झी हायस दौडँदा दुर्घटना हुने गरेका धेरै प्रमाण छन् । यसलाई नियन्त्रण गर्न प्रहरीले आफ्ना सबै शक्ति लगाउँदा पनि सफल हुन सकेको छैन,’ उनले भने ।
बीपी राजमार्गमा दुर्घटना कम गर्न माथिल्लो निकायले नै नियम कडा बनाएर लागू गर्नुपर्ने शर्माको सुझाव छ । बीपी राजमार्गको बर्दिवासदेखि धुलिखेलसम्म सुविधासम्पन्न अस्पतालहरू छैनन् ।
राजधानी जोड्ने छोटो दुरीको बीपी राजमार्ग भए पनि पछिल्लो समय साना सवारी साधनको चाप बढ्दा त्यसलाई छिचोलेर काठमाडौँ पुग्न एम्बुलेन्सलाई पनि पाँच घण्टा भन्दा बढी समय लाग्छ ।
अस्पताल पुर्याउनै चुनौती
राजमार्गमा दुर्घटनामा परेकाहरुलाई उपचारका लागि तत्काल बाहिर लानु परे एम्बुलेन्समा सम्भावना हुँदैन । ‘ढिला गरे यात्रुको ज्यान जान्छ । छिटो गर्न हेलिकोप्टर नै मगाउनु पर्छ । हेलिकोप्टरले एक लाख ९५ हजार रुपैयाँ बढी रकम लिन्छ’, सिन्धुलीका युवा नेता सन्तोष बुढाथोकी भन्छन्, ‘गरिबहरूसँग त्यो पहुँच पनि हुँदैन ।’
शनिवार भएको दुर्घटनाका घाइतेलाई पनि पैसा उठाएर हेलिकोप्टर मगाएर काठमाडौँ पठाएका उनले बताए । दुर्घटनापछि उपचार गर्ने भन्दा राजमार्ग दुर्घटना हुनै नदिए सबैको ज्यान बच्ने उनको चिन्ता छ ।
‘एउटा चालकको लापरबाहीका कारण अर्काको परिवारको बिचल्ली हुन्छ । परिवार गुमाउनु पर्छ । यस विषयमा सम्बन्धित पक्षको ध्यान जानु पर्छ,’ उनले भने ।
बीपी राजमार्गमा अधिकांश रक्सी पिएर, गाँजा खाएर र लाइसेन्ससमेत नभएका अनुभवविहीनहरुले गाडी चलाउने गरेका कारण यस्तो मानवीय दुर्घटना हुने गरेको धेरैको ठम्याइ छ ।
राजमार्गमा हुने दुर्घटर्ना न्यूनीकरण गर्न प्रहरीले विशेष पहल गरिरहेको निमित्त प्रहरी प्रमुख शर्माको दाबी छ । ‘हायस चालकहरूले आफ्नो साइड छाडी अर्काको साइड च्यापेर चलाउँदा पनि अन्य गाडी र मोटरसाइकललाई ठक्कर दिने गरेको पाइएको छ,’ उनले भने । राजमार्गको अधिकांश भाग खोला र नदीको तिरैतिर भएकाले पनि चालकले सानो लापरबाही गरे सवारीसाधन ठुलो भिर र नदीमा खस्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)