वृषेशचन्द्र लाल समूहले छाड्यो लोसपा
जनकपुरधाम : प्रभावशाली नेता वृषेशचन्द्र लालसहितको एक समूहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्यागको घोषणा गरेको छ ।
मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर कार्यकारिणी सदस्य तथा राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका लालसहितका नेताहरुले लोसपा परित्याग गरेर तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा समावेश भएको बताएका छन् ।
लालसँगै नेता संविधानसभा सदस्य डा. विजयकुमार सिंह, रामजी राय, धिरेन्द्रबहादुर सिंह, सतिशलाल दास, योगेन्द्र राय, उमेश मण्डल, ब्रजकिशोर सिंह, भोलानाथ झा, विन्दु देवी, राजकिशोर मण्डललगायतले पनि लोसपा परित्याग गरेका छन् ।
नेतृत्व पंक्तिले जनता, जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक एजेन्डालाई बिर्सेको हुँदा पार्टी परित्याग गर्न विवश भएको नेता लालले बताए ।
‘बृहत राजनीतिक शक्तिको निर्माणको नाममा सरकारहरु बनाउन भएका एकीकरण र विभाजनले मधेश केन्द्रित दलहरुको अस्तित्व नै रहेन,’ नेता लालले पार्टी परित्यागको घोषणा गर्ने क्रममा भने, ‘नेतृत्व पंक्ति मधेश केन्द्रित नामबाटै तर्सिन थालेका छन् । जनताले दिएको अभिमत, समर्थनलाई सत्ता र सरकारमा सहभागिताको स्वार्थमा शक्तिको हातमा सुम्पिने काम भयो । त्यसैले मधेशको जनताको चाहनाअनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई अगाडि बढाउन पार्टी परित्याग गरेका छौं ।’
तत्कालीन जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भई भदौ ९ गते लोसपा गठन भएको थियो । लामो समयदेखि अध्यक्ष महन्थ ठाकुरलाई साथ दिँदै आएका नेता लाल र सिंह लोसपा परित्याग गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
हाल रविशंकर लाल कर्णको नेतृत्वमा तमलोपा दर्ता छ । कर्ण नेता लालनिकटका छन् । फागुन १५ गते तमलोपालाई सुदृढिकरण र पुनर्गठन गरी अघि बढाइने अर्का नेता सिंहले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !