भिजिट भिसाको जालो तोड्ने गृहको कसरत, अध्यागमनले फर्कायो १८ जना
काठमाडौं : अध्यागमनले थाइल्याण्ड, दुबइ, मलेसिया र कतार हिँडेका १८ जनालाई ‘शंकास्पद यात्रा’ भन्दै प्रस्थान अनुमति दिन अस्विकार गरेको छ। त्रिभुवन विमानस्थल स्थित अध्यागमन कार्यालयले अत्यावश्यक कागजात नहुने एक भारतीय नागरिकसहित १८ जना नेपाली यात्रुलाई शुक्रबार फिर्ता(अफलोड) गरेको हो।
गृह मन्त्रालयले भिजिट भिसा तस्करीको जालो तोडन गरेको प्रयास स्वरुप त्रिअवि अध्यागमन कार्यालयले कडाइ गरेको छ। अध्यागमनका अधिकारीहरुले शंकास्पद कसैलाई पनि प्रस्थान अनुमति नदिएका छैनन्। गृहले अध्यागमनकै अधिकारीहरुको समेत निगरानी गरिरहेको स्रोतले बताएको छ।
शुक्रबार अध्यागमनबाट फिर्ता हुनेमा दुबइ हिँडेका भोजपुरका ओमकुमार श्रेष्ठ, दैलेखका सनत बहादुर थापा, धादिङकी पुनम श्रेष्ठ, पाल्पाकी शान्ता विश्वकर्मा, बर्दियाकी प्रमिला सुनार, सुर्खेतका लिलबहादुर रोका, ललितपुरका राजभाई महर्जन, काठमाडौकी समृद्धी श्रेष्ठ, अमृता श्रेष्ठ, शोभाकुमारी न्यौपाने र शुशिला श्रेष्ठ रहेका छन्। दुबइ हिँडेका भारतीय नागरिक सिरज राजपूतलाई पनि अध्यागमनले शंकास्पद यात्रा भन्दै फिर्ता गरेको हो।
भिजिट भिसामा दुबइ हिँडेका अधिकांशले आफ्नो यात्राको उदेश्य पुष्टि गर्न सकेनन्। गृह मन्त्रालयले तोकेको मापदण्ड अनुसारको कागजात पेस गर्न नसकेपछि अध्यागमन अधिकृतले प्रस्थान अनुमति नदिइ फिर्ता गरेको हो। अध्यागमनले मालदिभ्स हिँडेकी सिन्धुपाल्चोककी सुष्मा लामा, थाइल्याण्ड हिँडेका बाग्लुङका याम बहादुर बिक र लाल बहादुर सुनार, कतार हिँडेका सिन्धुलीका देव बहादुर बाराकोटी, मलेसिया हिँडेका महोत्तरीकी प्रतिमा भट्टराई र करन थापालाई समेत प्रस्थान अनुमति नदिइ फिर्ता गरेको छ।
थाइल्याण्ड हिँडेका बाग्लुङका बिक र सुनारको साथमा आवश्यक डलर नभएपछि अध्यागमनका अधिकारीहरुले उनीहरुलाई फिर्ता गरेको हो। रोजगारीका लागि मालदिभ्स हिँडेकी सिन्धुपाल्चोककी सुष्मा लामाले आवश्यक कागजपत्र पेस गर्न नसकेपछि अध्यामगनले उनलाई पनि प्रस्थान अनुमति दिएन्। अध्यागमनका अधिकारीका अनुसार, मलेसिया , खाडी मुलुक, थाइल्याण्ड लगायत मुलुकमा भिजिट भिसामा जान खोज्ने तर आफ्नो यात्राको उदेश्य पुष्टि गर्न नसक्नेलाई फिर्ता गरिएको बताएका छन्।
गृह मन्त्रालयले तोकेको मापदण्ड अनुसार उदेश्य पुष्टि गर्ने भिजिट भिसा भएकाहरुलाई नरोकिएको पनि ती अध्यागमनका अधिकारीले बताए। गृह मन्त्रालयले मानव तस्करी भएको आशंकामा भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान कडाइ गरेको छ।
प्रतिक्रिया दिनुहोस !