‘रेशम छुटाउने सबै दलको चाहना हो’

‘रेशम छुटाउने सबै दलको चाहना हो’

तपाईं माओवादी केन्द्रको महासचिव, गठबन्धन सरकारले टीकापुर काण्डका अभियुक्त रेशम चौधरीलगायतलाई छुटाउन अचानक अध्यादेश जारी गर्नुपर्ने जरुरी के पर्‍यो ? 

यस विषयमा तत्काल मैले सोधखोज गर्न पाएको छैन। राजनीतिक सम्झौता गरेर छुटाउनुपर्छ भन्ने कुरा धेरै पहिलाबाट राजनीतिक पंक्तिमा उठिरहेको हो। केपी ओली सरकारका पालामा पनि सीके राउतसँग समेत कुरा गरिएको थियो। मुद्दा फिर्ता लिन्छौं, राजनीतिक दोषहरू हटाउँछौं भन्ने आश्वासन उहाँले पनि दिनुभएको थियो। रेशम चौधरीलगायतका मुद्दाहरू फिर्ता लिनेबारे देउवा सरकार आएपछि पनि प्रतिबद्धता भएको थियो। धेरै पहिलाबाट यी कुराहरू उठ्दै आएका हुन्।

लामो समयसम्म संसद् अवरुद्ध हुँदा विधेयक ल्याउन नसकेको मात्र हो। ९ महिना सदन अवरुद्ध हुँदा ऐन आएन। त्यत्तिकै पेन्डिङ भएको अवस्था थियो। यसमा सबै दल मुछिएका हुन् र सबै दलले सहमति गरेका हुन्। सदन नचलेको अवस्था भएकाले अध्यादेश आएको हो। पछि सदनमा प्रस्तुत गर्नु परिहाल्छ। अहिले तत्काल के कुरा भयो, मलाई विस्तृतमा थाहा छैन। बुझ्न पाएको छैन। 

तपाईंहरूका पार्टी अध्यक्ष प्रचण्डले चौधरीलाई जेलमै भेट्न जानुभएको थियो नि ? त्यो अवस्था कसरी आयो ? 

कारागारमा भेटघाट गर्नु ठूलो कुरा होइन। मान्छेको आ–आफ्नो हेर्ने दृष्टिकोण होला। यो प्रक्रिया र विधिको कुरा पनि हो। तर, अन्तरवस्तुका हिसाबले राजनीतिक मुद्दाहरूका सन्दर्भममा मुद्दा जहाँ पुगे पनि फिर्ता लिएर रिहा गराउन सक्ने विषयको विकल्पमा सबैको धारणा उस्तै हो। सीके राउत, रेशम चौधरी सबैका बारेमा दलहरूबीच सहमति भएकै हो। अहिलेका सन्दर्भमा भने विस्तृत जानकारी मलाई भएन। 

प्रसंग बदलौं, निर्वाचनको सबै परिणाम आइसकेको छ, यसलाई कसरी हेर्नुभएको छ ?

संवैधानिक व्यवस्थामा लोकतान्त्रिक पद्धतिअनुसार चुनाव तोकिएकै समयमा भएको छ। परिणाम पनि आइसकेका छन्। एकाधबाहेक कुनै समस्या पनि उत्पन्न भएन। लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा निर्वाचन सम्पन्न भएपछि हामीले सबैलाई धन्यवद पनि दिइसकेका छौं। यस निर्वाचनका दुई/तनिवटा लक्षण र विशेषता देखिन्छन्। यो चुनाव दुई गठबन्धनको पक्ष र विपक्षमा प्रतिस्पर्धाको रूपमा देखापर्‍यो। समग्रमा भन्नुपर्दा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको मान्न सकिन्छ।

तपाईं पार्टीको महासचिव जस्तो व्यक्ति कसरी पराजित हुनुभयो ? 
मेरो विषयमा पराजितको जुन प्रश्न गर्नुभयो। निर्वाचन भनेको सामान्यतः हारजित हुने प्रक्रिया नै हो। एउटा जित्छ भने अर्कोले हार्नैपर्छ। यसलाई स्वाभाविक रूपमा लिन सकिन्छ। मैले पनि स्वाभाविक रुपमा लिएको छु।

चुनावी समीक्षा गर्नुपर्दा सत्तारुढ गठबन्धन सफल भयो वा असफल भयो ? 
समग्रतामा हेर्दा, निर्वाचन गराउने कुरामा पाँचदलीय गठबन्धन सफल भएको छ। अपेक्षा गरे अनुसारको रिजल्ट आउन सकेन। त्यो आफ्नो ठाउँमा होला। जसमा हाम्रो पनि कमीकमजोरी भए होलान् भनेर हामी मूल्यांकन गर्न सक्छौं। निर्वाचनको तयारी पाटो। ५ दलीय गठबन्धनलाई जनताले भोट दिने कुरा। मतदाताको भोट टा«न्सफर गर्ने बारेमा जे जति तयारी गर्नुुपर्ने थियो सायद त्यो पुगेन जस्तो लाग्छ।

एकताबद्ध भएर जनतालाई भोट टा«न्सफर गर्न पहल हुनुपथ्र्यो, त्यो हुन सकेन। कतिपय ध्यान दिनुपर्ने कुराहरू पुगेनन्। त्यसैले जनताबाट गठबन्धनलाई सबै भोट ट्रान्सफर हुन सकेन। अन्य ठाउँमा बाँडियो। सूर्य, घण्टी र हलोलगायतमा जनताले भोट हाले। जसको फलस्वरूप हामीलाई अपेक्षा गरेअनुसारको परिणाम आएन। हामीले कतिपय ठाउँमा अनेपक्षित खालको पराजय भोग्नुपर्‍यो। 

गठबन्धनका कारण कांग्रेस २३ बाट ५७ पुग्यो तपाईंहरू ३६ बाट १८ मा झर्नुभयो। कसका लागि सफलता मान्ने ? तपाईंको पार्टीले सोचेजस्तो परिणाम ल्याउन नसक्नुका कारण के होला ? 
गठबन्धनले जति आशा अपेक्षा गरेको थियो, त्यो हुन सकेन नै। यो हामीले पनि महसुस गरेका छौं। केन्द्रमा भन्दा प्रदेशतर्फ त ठीकै खालको परिणाम छ। तर, संघमा त्यो अनुसारको परिणाम आएन। हाम्रो पार्टीमा पनि प्रदेशतर्फ राम्रो परिणाम आयो। तर, संघमा सोचेजस्तो आउन सकेन।

  • सरकार दिन सकिएन् भने मुलुकले दुर्घटना बेहोर्नुपर्छ। त्यसैले यस्तो नहोस् भन्नका लागि हामी सरकार गठनदेखि मुलुकमा स्थिरता र स्थायित्व कायम राख्ने कुरामा गम्भीर भएर लागेका छौं। 
  •     शक्ति सन्तुलन, पोजिसन र सहमतिको आधारमा सरकार गठन हुनेछ। अहिले नै यस्तो हुन्छ भन्न किटान गर्न सकिने अवस्था छैन। 
  •     नयाँ शक्ति आउनु दलहरूप्रतिको असन्तुष्टि सहायक कारण मात्र हो। 
  •     कुनै एउटा विचार, सिद्धान्त नभएको व्यक्तिले देशलाई निकास दिन सक्छ भन्नेमा जनता भ्रममा रहे।
  •     एकले अर्कालाई भित्तामा पुर्‍याउने, निषेध गर्ने, समाप्त पार्न खोज्ने, शत्रुता पूर्णव्यवहार अझै गर्ने हो भने मुलुक सिद्धिने बाटोमा जान्छ।

कांग्रेसका लागि २०७४ को तुलनामा सन्तोषजनक भए पनि अहिले ५ दलीय गठबन्धन एकजुट भइरहँदा यसबाट आउने परिणामको अपेक्षाअनुसार उहाँहरूको पनि पुगेको छैन। ७० देखि ७५ सिट आउँछ भन्ने उहाँहरूको पनि अनुमान थियो त्यो आउन सकेन। त्यसैले समग्रमा कुरा गर्दा संघमा भने जस्तो नभए पनि प्रदेशमा धेरै फरक परेको देखिँदैन। किन आएन भन्ने कुरामा हाम्रो तयारी नै पुगेन भन्ने लाग्छ। 

हिजोको एमालेसँगको सम्बन्ध र अहिलेको गठबन्धन : कस्तो अनुभव गर्नुभयो ? 

यसमा दुईवटा व्यावहारिक वा नीतिगत कुरा हुन्छन्। मुलुकको राजनीतिमा प्रतिगमन र अग्रगमनको बहस चर्किरहेको अवस्थामा अग्रगमनले संसद्लाई यथावस्थामा लैजाने क्रममा अहिलेको गठबन्धनको आवश्यकता महसुस गरिरएको थियो। राष्ट्रिय सजगताको सवाल थियो। राष्ट्रिय राजनीतिक कोर्सलाई हेर्दा एमालेको नेतृत्व गर्दै आएका केपी शर्मा ओलीले विगत कालमा जुन खालको प्रतिगमनका कदम चलाउनुभयो, त्यो सबैलाई थाहै छ। उहाँले गर्न लागेको सही थियो/थिएन भन्ने जनताले समेत बुझेका छन्।

अहिले पनि एमालेमा तत्कालीन समयका कमीकमजोरी सच्याउने, आत्मसमीक्षा गर्ने कुरा भएका छैनन्। त्यसैले पनि यो गठबन्धनमै जानुपरेको हो। एकातिर संसद् विघटन गर्ने अर्कोतर्फ त्यही संसद्मा भाग लिने। यस्ता खालको द्वयचरित्र एमालेले देखायो। नैतिकतामाथि संकट ल्याएको अवस्था भएकोले उहाँहरूसँग सहकार्यको कुरा अहिलेको चुनावमा रहेन। 

त्यसो भए अब एमालेसँग (वाम) गठबन्धनको सम्भावना हराएकै हो त ? 

एमालेसँगको वामगठबन्धन भन्ने विषय हराउने वा नहराउने भन्ने हुँदैन। अहिलेको राजनीतिक एजेन्डा के छ र कोसँग मिलेर जानुपर्छ भन्नेमा भर पर्छ। राजनीतिक एजेन्डा कसरी जान्छ भन्ने विषय हो। परिस्थितिअनुसार कुनै पनि पार्टीबीच सहकार्य हुँदैन भन्न सकिदैन। एजेन्डाबिनाको फलानो दल वा अर्को कुनै दल भन्ने कुरा छैन। यसको यथार्थता तत्कालको राजनीतिमा भर पर्छ। कुन लाइनमा जाँदा राम्रो हुन्छ, त्यसमा निर्भर हुन्छ। जहाँ लाइन मिल्छ, त्यहाँ गठबन्धन हुन्छ। राजनीति भनेको देश र जनताको सेवा गर्ने विषय हो। त्यसका लागि कुन यात्रामा कसरी कोसँग तय गरेर अगाडि जाने भन्ने कुरा हो। त्यसैले गठबन्धन कोसँग गर्ने ? किन गर्ने ? राजनीतिक अवस्था हेरेर मात्र निर्णय हुन्छ। कसैले चाहेर वा नचाहेर हुँदैन। 

प्रतिस्पर्धी पृथ्वी सुब्बा गुरुङलाई बधाई दिँदै गर्दा तपाईंले वामएकतामा जोड दिनु होला भन्नुभएको थियो कुरा के हो ? तपाईं बामएकताको पक्षमा हुनुहुन्छ भनेर बुझ्न सकिन्छ ? 
बधाई दिने क्रममा त्यस्तो खालको केही भनेको होइन। शुभकामना मात्र भनेको थिएँ। वामएकता हुने वा नहुने भन्ने मैले अघि पनि भने यो एजेनडामा भर पर्ने विषय हो। एमालेले हिजो चालेको कदम ठीक हो कि आजको ?

तपाईंको विचारमा, एमालेसँग मिल्नै सकिन्न ?
हो, कामको दौरानमा कमीकमजोरी भए होलान्। तर, तिनीहरूलाई सच््याएर जानुपर्छ। लाइनमा करेक्सन नगर्ने, हिजो ठीक हो भने चुनावमा सहभागी हुने कुरालाई कसरी ठीक मान्ने ? आफू सरकारमा हुँदा संसद् भंग गर्ने, त्यो हो भने संसद् र चुनावको के औचित्य रह्यो ? निर्वाचनमा जाँदा जनताले नैतिक प्रश्न उठाउने अवस्थामा कसरी जान सकिन्छ ? त्यसैले एकता गर्नु भनेको विचार र राजनीतिक लाइनमा निर्भर रहने विषय हो।

राजनीतिमा इमानदारी र नैतिकता ठूलो पूँजी हो। दोहोरो चरित्रलाई इमानदारी मानिँदैन। अहिलेको राजनीतिक अवस्था हेर्दा स्थिरताको खाँचो छ। केही कमी कमजोरी भए पनि यही अवस्थामा स्थायित्व दिनु अहिलेको आवश्यकता हो। यो अवस्थालाई भत्काउन थाल्यौं भने के हुन्छ ? अस्थिरता र अराजकताको बीउ रोप्न थाल्यौं भने देश कसरी सुरक्षित हुन्छ ? 

एमालेसँग मुख्य विमती केमा हो ? 
राष्ट्रिय सुरक्षा, स्वाधीनतासँग जोडिएको छ। यस्तो कुरामा दलहरूले लापरबाही गर्न मिल्दैन। आफ्नो अहंकार, दम्भ साध्ने विषय होइन, राष्ट्रियता। राष्ट्रिय महत्वका मुद्दामा लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने कुरामा एउटै बिन्दुमा उभिनुपर्छ। एउटै बिन्दुमा उभिन नसक्नेसँग कसरी सहकार्य गर्ने ? हो, कांग्रेस वैचारिक हिसाबले फरक पार्टी हो। कम्युनिस्ट होइन। तर, वर्तमान राजनीतिक मुद्दामा चाहि कमसेकम लोकतन्त्रको रक्षाका लागि बटमलाइनमा उभिएको त छ। हामीले हेर्ने राजनीतिक लाइन त्यो त होला। को हार्छ को जित्छ भन्ने कुरा मात्र ठूलो होइन। 

चुनावअघि निर्णयक शक्ति बन्छौं भन्नुभएको थियो। तर, चुनावले निर्णायक बनाएन नि, कसरी अगाडि बढ्दै हुनुहुन्छ ? 
माओवादी अहिले पनि निर्णायक शक्तिको पोजिसनमै देखिन्छ। सिटको हिसाबले हामीले भने जति नआए पनि हामी निर्णायक नै छौं। समाजवादी पनि साथमा छ। अरू पनि जोडिने प्रक्रियामा छन्। स्वतन्त्र पनि छन्।

हामी अहिले स्थिरता र स्थायित्वको दिशामा छौं। यसमा राष्ट्रिय स्वाधिनताको कुरा जोडिएको छ। यो लाइनमा जहाँ मेल हुन्छ त्यहाँ सहकार्य गरेर अगाडि बढन सकिन्छ। सहज ढंगले सरकार गठन गर्ने हाम्रो उद्देश्य हो। सरकार स्थायी रूपमा चलाउने कुरामा सहज होस् भन्ने हामी चाहान्छौं। संसद् पनि पाँच वर्ष चल्न पाओस्। विगतमा जस्तो दुई–दुई पटक विघटन गर्ने अवस्था सिर्जना नहोस्। 

त्यसको अर्थ, सरकार निर्माणमा तपाईंहरूको सक्रियता रहन्छ ? 
दुई तिहाइको बहुमत आउँदा पनि पटक–पटक विघटन गर्ने संसद् चल्न नदिने परिस्थितिको सामना गर्न नपरोस्। अस्थिरता र अस्थायित्व भोग्नुपर्ने अवस्था नआओस्। अहिले करिब करिब देश संकटको अवस्थामा छ। सरकार गठनमा थोरै तलमाथि पर्यो भने, सरकार दिन सकिएन भने मुलुकले दुर्घटना बेहोर्नुपर्छ। त्यसैले यस्तो नहोस् भन्नका लागि हामी सरकार गठनदेखि लिएर मुलुकमा स्थिरता र स्थायित्व कायम राख्ने कुरामा गम्भीर भएर लागेका छौं। 

गठबन्धन नै यथावत रहने जस्तो कुरा गर्नुभयो। पार्टीको बैठकमा प्रतिपक्षमा बस्नुपर्छ भन्ने आवाज पनि उठेको भन्ने सुनिएको थियो, कुरा के हो ? 
अहिले हामी पाँच दलीय गठबन्धनमा छौं। अहिले कुनै विवाद गरेर विघटन हुने पक्षमा छैनौं। मूलभूत पक्षमा पनि कुनै असन्तुष्टि भएको छैन। न त कुनै कुरामा विवाद छ। नमिल्ने र संकट पैदा भएको देख्दिनँ भविष्यमा फरक परिस्थिति सिर्जना भयो भने फरक कुरा हो। अन्यथा अहिले त्यस्तो कुनै निर्णय भएको छैन। एमाले नेतृत्वले पनि लाइनमा कुनै सुधार गरेको छैन। त्यसकारण गठबन्धन यथावत नै राख्ने योजना छ। 

तपाईंलाई दिएको म्यान्डेट सरकारमा जान हो कि खबरदारी गर्न ?
अहिलेको परिस्थितिमा स्थिरता र स्थायित्व कायम राख्न हाम्रो भूमिका हुन्छ। के गर्दा स्थिरता कायम रहन्छ, के गर्दा सरकार दिन सकिन्छ, कसरी सदन ५ वर्ष चलाउन सकिन्छ, जनताको समस्या कसरी समाधान हुन्छ भन्ने केन्द्रित रहन्छ। त्यसका लागि सुरुमा सरकार गठन महत्वपूर्ण छ। एकले अर्कोलाई भित्तामा पुर्‍याउने, निषेध गर्ने, समाप्त पार्न खोज्ने, शत्रुतापूर्ण व्यवहार गर्ने गर्यो भने त मुलुक सिद्धिने बाटोमा जान्छ। त्यसैले त्यो हुन नदिन हामीले जे जति भूमिका खेल्नुपर्छ, त्यसका लागि सहमति, समझदारी, सद्भाव कायम राख्दै दलीय प्रणालीलाई प्रतिस्पर्धामा लगेर बाह्य शक्तिले खेल्न नपाउने गरी मुलुकको अस्मितालाई जोगाउन कुनै पनि भूमिका खेल्न तयार छौं। 

अब कस कसको सरकार बन्छ ? सरकारको नेतृत्व कसले गर्छ प्रचण्ड, देउवा वा अन्य कुनै विकल्प ? तपाईंहरू (माओवादी) को एउटै मिसन प्रचण्डलाई प्रधानमन्त्री बनाउन खोजेको भन्ने छ नि ?
सबै प्रक्रिया पूरा गरेपछि मात्र सरकार बन्ने हो। समय आएपछि सरकार बन्छ। निर्वाचन आयोगले अन्तिम रिपोर्ट राष्ट्रपतिलाई बुझाएपछि मात्र प्रक्रिया अगााडि बढ्ने हो। प्रदेशको हकमा पनि प्रदेश प्रमुखसँंग परिणाम पुग्नुपर्छ। त्यसपछि शपथ ग्रहणको प्रक्रिया अगाडि बढ्छ। सांसदले शपथ खाएपछि मात्र वैधानिक बन्छन्। त्यसपछि संसदीय दलका नेता र पदाधिकारी चयन हुन्छन्। अनि मात्र सरकार गठन प्रक्रिया सुरु हुन्छ।

प्रधानमन्त्री अहिले नै यो वा त्यो भनेर हुँदैन वा भन्न सक्ने अवस्था छैन। त्यस्तो खालको कुनै मिसन बनेको पनि छैन। हामीले अहिले नै भन्ने अवस्था पनि छैन। सरकारमा को प्रधानमन्त्री भनेर अहिले छलफल सुरु नै भएको छैन। पाँच दलीय गठबन्धनले सरकार बनाउने कुरा आफ्नो ठाउँमा छदैछ। रह्यो पार्टीको कुरा, आफ्नो पार्टीमा छलफल हुनु, दाबी गर्नु स्वाभाविक रूपमा लिन सकिन्छ। प्रदेशको हकमा पनि शक्ति सन्तुलन, पोसिजन र सहमतिको आधारमा सरकार गठन हुनेछन्। 

यो पटक चुनावमा अन्य नयाँ शक्तिहरू उदाए। त्यसलाई कसरी हेर्नुभएको छ ? यो परम्परागत राजनीतिक दलहरूप्रतिको विृतष्णा त होइन ? 
नयाँ पार्टी उदय हुनुको कारणलाई हामी फरक ढंगले हेर्न सक्छौं। अनपेक्षित प्रकारले, जुन ढंगले जुन प्रवृति देखापर्‍यो यसले नेपालको राजनीतिमा गम्भीर खालको असर पार्न सक्ने लक्षणका देखापरेका छन्। पुरानो व्यवस्थाप्रतिको असन्तुष्टि पनि हुन सक्छ। यी पक्षहरू लोकतन्त्रमा सीमारहित भन्न मिल्दैन। सीमाहरू छन्। दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेका कारण केही असन्तुष्टि पनि पैदा भएका छन्। तर, केवल यी सिमाहरूको कारणले मात्र नयाँ शक्ति वा नयाँ दलको उदय भएको हो भन्ने लाग्दैन। यो एउटा बाह्य कारण हुन सक्छ। तर, अहिलेको मुख्य कारण के हो भने देशीविदेशी प्रतिगामी शक्तिहरूले देशको अस्मितालाई समाप्त पार्न षड्यन्त्र गरिरहेका छन्। यही षड्यन्त्रको परिणामस्वरूप हामीले नयाँ शक्तिलाई हेर्न सकिन्छ।

  • ‘निर्वाचन गराउने कुरामा पाँच दलीय गठबन्धन सफल भएको छ’
  • ‘जहाँ लाइन मिल्छ, त्यहाँ गठबन्धन हुन्छ। राजनीति भनेको देश र जनताको सेवा गर्ने विषय हो’

दल निर्माणको प्रक्रिया के हो त, यसमा कुनै वैचारिक नीतिगत खालको घोषणापत्र हुन्छ। त्यसलाई अघि लैजान स्थापित लिडर लामो समयसम्म संघर्ष गरेको व्यक्ति राजनीतिक लिडर नेता कार्यकर्ता जोडिएका हुन्छन्। त्यसैका आधारमा पार्टी जन्मने, हुर्कने, विकास हुने हुन्छ। यिनीहरूका न त कुनै कुनै दर्शन न त कुनै सिद्धान्त। न त स्थापित लिडर नै। केवल सामाजिक सञ्जालको भरमा गरिएको प्रचार। विदेशी शक्ति र सर्पोटको भरमा सञ्जाललाई बुष्ट गरेर रातारात जुन खालको दल बनाउने प्रक्रिया सुरु भएको छ, यो सहज होइन। 

के यसलाई विदेशी हस्तक्षेप भन्न खोज्नुभएको हो ? 
यो प्रणाली देशको राष्ट्रियता, अस्मितामाथि निर्वाचनको नाममा विदेशी चलखेलको उपज हो। विदेशी हस्तक्षेप हो। बाह्य शक्ति केन्द्रले जुन खालको चलखेल चलाएको छ। त्यसप्रति गम्भीर हुन जरुरी छ। यसका लागि सबै दल एकजुट भएर लाग्नुपर्छ। यसो गर्न सकेमात्र मुलुकको रक्षा गर्न सकिन्छ। होइन भने यस्तालाई प्रोत्साहन गर्न थालियो भने मुलुकमा अनिष्ट पैदा हुनेवाला छ। 

काठमाडौंका मतदाताले तपाईंको पार्टीलाई पत्याएनन्। नयाँ शक्तिलाई मत हाले। यति हुँदा पनि तपाईंले नयाँ शक्ति उदाउनुमा दलहरू दोषी होइनन् भन्नुभयो। अब सच्चिएर जानुपर्छ जस्तो लाग्दैन ? 

देशको स्वाधीनता रक्षाका लागी देशको राष्ट्रियता जोगाउने भिजन वैचारिक पार्टीले हो। देशलाई बचाउने वा ध्वस्त पार्ने भन्ने मुख्य प्रश्न हो। राष्ट्रियता र स्वाधीनता छुट्टयाउन नसक्ने खालको स्थिति आउनु मुलुकका लागि राम्रो होइन। विचार, सिद्धान्त र लाइनका लागि हेर्ने कुरा पनि होला। हो, जनतामा दलहरूप्रति नकारात्मक असर परेको छ। यसलाई चिर्न जरुरी छ। कुनै एउटा विचार, सिद्धान्त नभएको व्यक्तिले देशलाई निकास दिन सक्छ भन्नेमा जनता भ्रममा रहे।

व्यक्तिगत स्वार्थमा लाग्ने हामीले कस्तो नेतृत्व तयार गर्दैंछौं भन्ने हो। अहिलेको शिक्षा प्रणालीले कस्तो खालको जमात तयार गर्दैछ ? मुलुकलाइ केन्द्रबिन्दु बनाएर सोच्नुपर्छ। यदि त्यो स्कुलिङ भएन भने मुलुक समाप्त हुन्छ भनेर जाने हुन्छ। नेपाल थियो रे भन्ने खालको इतिहासको विषय बनिदिन्छ। राष्ट्रियता, स्वाधिनता समाप्त पार्न दिनु हुँदैन।

प्रस्तुति : तारा चापागाईं  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.