भोलि एमसीसी टेबल गर्ने देउवाको प्रस्ताव प्रचण्ड-माधवले मानेनन्
काठमाडौं: एमसीसीका विषयमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पुरानो अडान कायमै राखेपछि सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा तीन घन्टा बसेको बैठकले पनि एमसीसीको विषयमा साझा धारणा बनाउन सकेन।
सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले संसदमा एमसीसी टेबल गर्ने विषयमै छलफल केन्द्रीत रहेको बताए। 'एमसीसी कसरी अनुमोदन गराउने विषयमा छलफल केन्द्रीत भयो। बैठकमा सबै पार्टीका विचार प्रकट भए। यसलाई सहमतिका साथ निष्कर्षमा पुर्याउन भोलि फेरि १० बजे बैठक बस्छ। भोलिको बैठकले निष्कर्षमा पुर्याउँछ,' उनले सञ्चारकर्मीसँग भने।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (शुक्रबार) बस्ने संसद बैठकमा जसरी पनि एमसीसी टेबल गर्नुपर्ने अडान राखेको बालुवाटार स्रोतले जानकारी दियो। 'भोलि जसरी पनि एमसीसी टेबल गरौं। अर्को विकल्पको कुरै छैन,' प्रधानमन्त्री देउवाले अडान राख्दै भने।
त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यही अवस्थामा एमसीसी टेबल गर्न नसकिने बताएका थिए। नेकपा एसका अध्यक्ष माधव नेपाल पनि प्रचण्डकै कुरालाई दोहोर्याएका थिए। 'यही अवस्थामा एमसीसी टेबल गर्न सकिँदैन। सकिन्छ भने एकपटक फेरि अनुरोध गरौं। एमसीसीलाई चुनावपछि अनुमोदन गर्नेगरी सारौं,' प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, प्रवक्ता प्रकाशशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी थिए । जनमोर्चालाई भने बैठक बोलाइएको थिएन ।
प्रतिक्रिया दिनुहोस !