पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाउने
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले नव निर्वाचित सांसदहरुलाई शपथ खुवाउने भएका छन्। निर्वाचित सांसदमध्ये जबरा जेष्ठ सदस्य भएकाले प्रतिनिधिसभाका सांसदहरुलाई शपथ खुवाउने निर्णय भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अन्नपूर्णलाई जानकारी दिए। उमेरका हिसाबले जबरा ८० वर्षका भए। उनको जन्ममिति वि.सं. १९९८ वैशाख २५ रहेको छ।
उनले भने,' निर्वाचन आयोगले पठाएको २७५ सांसदहरुको विवरणमा राप्रपाका सांसद पशुपति शमशेर जबरा जेष्ठ सदस्य देखिएनु भएको छ। उहाँले नै अन्य सांसदलाई पुस ७ गते शपथ खुवाउनुहुनेछ।'
निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ। जबराले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि अन्य सांसदहरुलाई शपथ खुवाउनेछन्।
पशुपतिशमशेर समानुपातिक सांसद हुन्।
यसअघि महिन्द्र यादव, चित्रबहादुर केसी र पशुपति शमशेर जबरामध्ये को ज्येष्ठ सदस्य भन्ने प्रश्न उठेको थियो। त्यसपछि जेष्ठ सदस्यको टुंगो लगाउन सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित सांसदहरुको जन्ममितिसहितको विवरण मागेको थियो। सोही विवरणका आधारमा संसद सचिवालयले जेष्ठ सदस्यको टुंगो लगाएको हो।
यसअघि २०७४ सालको प्रतिनिधिसभामा यादव उपस्थित नभएपछि सांसदलाई महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर ४ मा सम्पन्न निर्वाचनमा राजनीतिक दलहरुले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते बेलुका ५ बजेभित्र दावी पेश गर्न आह्वान गरेकी छन्। सोहीअनुसार पुस ७ गते सांसदहरुको शपथ हुन लागेको हो।
प्रतिक्रिया दिनुहोस !