कांग्रेसद्वारा प्रदेशसभा बैठक अवरुद्ध
सुर्खेत : कर्णाली प्रदेशको संसद् बैठक विपक्षी दल कांग्रेसले अवरुद्ध गरेको छ।। कांग्रेसका सांसदहरूले बजेट पारित भएको लामो समयसम्म पनि रातो किताब नपाएको भन्दै बिहीबारको प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन्।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले रातो किताब तत्काल पाउनुपर्ने माग गरे। उनले रातो किताब र कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनमा भएको खर्च सार्वजनिक नहुँदासम्म बैठक चल्न नदिने बताए। त्यसलगत्तै कांग्रेस सांसदहरूले बैठकमा उठेर विरोध गरेका हुन्। सभामुख राजबहादुर शाहीले बारम्बार बस्न आग्रह गर्दासमेत कांग्रेस सांसदहरू नबसेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो। बिहीबार दिउँसो ३ बजे संसद् बैठक सुरु भएलगत्तै कांग्रेस संसदीय दलका नेता शाहीले आफूहरूले बैठक चल्न नदिने बताएका हुन्।
बैठकमा बोल्दै सांसद शाहीले भने, ‘चालु आर्थिक वर्षको तीन महिनाका लागि बजेट पारित भएको धेरै भयो, हालसम्म हामीलाई रातो किताब दिइएको छैन। पहिलाको नीति तथा कार्यक्रमअनुसार सरकार अघि बढेको छैन, यस्तो अवस्थामा अब नयाँ नीति तथा कार्यक्रम चाँहिदैन।’ संसद् र कार्यव्यवस्था परामर्श समितिलाई जानकारी नै नदिएर सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउन लागेको कांग्रेसको आरोप छ। आफूहरूका माग पूरा नभएसम्म बैठक चल्न नदिने कांग्रेसको भनाइ। कर्णालीमा संसद् बैठक सुरु भएयता पहिलो पटक संसद् अवरुद्ध भएको हो।
प्रतिक्रिया दिनुहोस !