नुवाकोट गोल्डकप नेपाल प्रहरीको पोल्टामा, थ्रीस्टार स्तब्ध
बट्टार, नुवाकोटः सर्वाधिक पुरस्कार राशीको प्रथम राष्ट्रिय नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल प्रहरीले उचाल्न सफल भएको छ । ‘प्रथम नुवाकोट गोल्डकप’को शनिवार भएको फाइनल प्रतिस्पर्धामा ए डिभिजन क्लव थ्रीस्टार क्लबलाई पराजित गर्दै नेपाल प्रहरीले क्लबले उपाधि चुम्न सफल भएको हो ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा नेपाल प्रहरीले थ्रीस्टारलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै उपाधि उचालेको हो । नेपाल प्रहरीले उपाधिसँगै नगद पाँच लाख रुपैयाँ हात पारेको छ ।
प्रतियोगितामा उपविजेता थ्रीस्टारले नगद तीन लाख रुपैया पुरस्कार प्राप्त गरेको छ । विजेता टिमलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले पुरस्कार, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरे ।
फाइनल खेलमा दुबै टिम उत्तिकै प्रतिष्पर्धामा उत्रिएका खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेपाल प्रहरीले ३२ औं मिनेटमा पाएको पेनाल्टी गोल हुन सकेन ।
प्रहरीका सुमन लामाले प्रहार गरेको पेनाल्टी थ्रीस्टारका गोलराक एलन न्यौपानेले रोक्न सफल भएका थिए । पहिलो हाफमा दुबै टिम रक्षात्मक र आक्रामक देखिएकामा दोस्रो हाफमा प्रहरी बढी आक्रामक रुपमा उत्रिएको थियो ।
खेलको ५३ औं मिनेटमा प्रहरीका रवि पासवानले गरेको प्रहारले जाली चुमेपछि थ्रीस्टार स्तब्ध भयो । फाइनल हेर्न खेल मैदानमा हजारौं दर्शकहरुले खचाखच भरिएको थियो ।
प्याराफिटमा स्थान भएपछि उभिएर पनि हजारौंले देशको उत्कृष्ट टिमको खेल हेरेका थिए । धेरै समर्थकको साथ पाए पनि थ्रीस्टारले गोल गर्ने राम्रा अवसरहरुलाई उपयोग गर्न सकेन ।
प्रतियोगितामा थ्रीस्टारमा अज्या मार्टिनले सबै भन्दा धेरै गोलकर्ताको पुरस्कार पाए । उनले प्रतियोगिता अवधिभरमा सर्वाधिक ३ गोल गरेका थिए । उत्कृष्ट प्रशिक्षक नेपाल प्रहरीका अनन्तराज थापा, नुवाकोट ११ का उचित लामाले उदियमान खेलाडी र थ्रीस्टारका एलेन न्यौपानेले म्यान अफ दि म्याचको पुरस्कार जिते ।
उदियमान खेलाडी लामाले नगद ५० हजार र अन्यले नगद २५÷२५ हजार प्राप्त गरे । प्रतियोगितामा विजेताहरुलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ट्रफी तथा पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !