सिकिस्त उपेन्द्र जन्मथलोमा

सिकिस्त उपेन्द्र जन्मथलोमा

दिनेश गौतम,काठमाडौं / शिव उप्रेती,गोरखा

आफ्ना बारेमा सामाजिक सञ्जालमा अफवाह फैलिएको चौविस घण्टा नबित्दै बरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटा शनिबार बिहानीपख ह्वीलचेयरमा न्यूरो अस्पताल परिसरमा टहलिए । गोरखा, पालुङगटार—४, बोहोरागाउँस्थित पुख्र्यौली घरको पिँढीमा दिउसो सुस्ताए । अस्पताल परिसरमा पत्नी मधु देवकोटा दिक्षितसँग आधाघण्टा जति सम्वाद गरे । नर्सले मुखमा चम्चाले पानी राखिदिएपछि उनी मुस्काए । उनलाई पत्नी देवकोटा र स्वास्थ्यकर्मीको टोलीले विभिन्न कक्षमा पुर्‍यायो ।

उनलाई फ्रेस बनाउन हरियालीको दृश्यावलोकन गराइएको थियो । यस्ता गतिविधि पछि डा. देवकोटाको मुहारमा पनि उज्यालो छाएको थियो । उनले पुख्र्यौली घरको पिँढीमा बस्ने र सिस्नेपँधेराको पानी पिउने इच्छा देखाए लगत्तै दिउसो परिवारले जन्मथलो लगेको थियो । दिउसो दुई बजे उनी जन्मथलो आउने खबर फैलिएपछि आफन्त एवं छिमेकी पालुङटार ४ बोहोरागाउँस्थित घरमा ओइरिएका थिए ।

नेपाली सेनाको र अल्टिच्यूड एयरको दुईवटा हेलिकोप्टरमा डा.देवकोटासहित पत्नी मधु र तीन छोरीहरू मेघा, मञ्जरी, बसुधा उनको जन्मथलो ओर्लिए । अत्यावश्यक औषधि उपचारका सामान पनिसँगै लगिएको थियो । अवतरण गर्नुअघि हेलिकोप्टरलाई देवकोटोको मामाघर रहेको साइलीटार र उनले एसएलसी दिएको अमरज्योति मावि लुइँटेलको आकासमा एक चक्कर घुमाइएको थियो ।

पुख्र्यौली थलोमा जाने, वाल्याकालमा पिएको सिस्नेपँधेराको पानी पिउने र आफन्त, बालसखा भेट्ने चाहना गरेपछि देवकोटालाई परिवारले जन्मथलो लगेको हो । ‘गाउँ लगिदेऊ भनेर पहिल्यैदेखि भन्नुहुन्थ्यो’ उपेन्द्रका मामाका छोरा काशिराज घिमिरेले भने, ‘बेथाले च्याप्दै गएपछि पनि हेलिकोप्टर चढेर गाउँ जाने, सिस्ने पँधेराको पानी खाने भनेर हातको इशाराले भन्न थाल्नु भयो । त्यसैले आज समय मिलाएर ल्यायौं ।’

पुख्यौली घरको पिँढीमा बसे
छोरीहरूले ल्याएको पानी पिए

पत्नी मधु देवकोटा दीक्षितले सिस्नेपँधेराको पानी चम्चाले खुवाइन

देवकोटाले ब्रेन ट्युमरको अप्रेशन गरेका राधिका बस्नेत भावुक

पुनः सघन कक्षमै उपचार

सिस्नेपँधेराको पानी उनका छोरीहरूले ल्याएका थिए । पत्नी मधुले पानी खुवाइदिएकी थिइन् । गाउँलेलाई भेट्न चाहे पनि कसैसँग बोल्न भने नसकेका पत्नी मधुले जानकारी दिइन् । भेट्न आएका गाउँलेको नाम भनेर चिनाउने प्रयास गरे पनि देवकोटा भने हेरिरहन्थे मात्र । मुखबाट अक्सिजन निकाल्ने बित्तिकै घ्वार्रर्र आवाज सुनेपछि उनलाई हेर्न उपस्थित गाउँलेका आँखा रसाएका थिए । पत्नी मधु र छोरीहरू एक आपसमा अंगालो हालेर भावुक बनेको दृश्य साच्चै कारुणिक थियो । चेपेखोलाको पानीमा खुट्टा डुबाउने चाहना भने पूरा गर्न नसकिएको घिमिरेले बताए ।

उपेन्द्रलाई भेट्न उनले अन्तिम पटक ब्रेन ट्युमरको सफल अप्रेशन गरेकी राधिका बस्नेत आएकी थिइन । बिरामी भएको बेला अस्पतालमै पुगेर भेटेकी उनलाई डा.देवकोटाले ‘तिमीलाई कस्तो छ ? भन्ने प्रश्न गर्दै आफ्नो अन्तिम अप्रेशन भएको सुनाएका थिए । डा.देवकोटाले गत कात्तिक ३० गते राधिकाको ब्रेन ट्युमरको अप्रेशन गरेका थिए ।

सिस्नेपानी धाराको पानी खाएका अधिकांश व्यक्तिले राष्ट्रिय जीवनमा ठूलो योगदान गरेको स्थानीयवासी बताउँछन् । ‘उनी नाम चलेका डाक्टर बने । राजेश्वर देवकोटा त्यही धाराको पानी खाएका हुन्, बाचस्पति देवकोटाले पनि त्यही धाराका पानी खाएका हुन्, दिनेशचन्द्र देवकोटा, सरोज देवकोटा त्यही धाराका पानी खाएर ठूलो मान्छे बने’, स्थानीय देवेन्द्रराज देवकोटाले भने ।

न्यूरो अस्पतालका र मेडिसिटी अस्पतालका १० जनाको चिकित्सकको अति सघन रेखदेखमा उनलाई पण्डित गाउँस्थित घरमा पुर्‍याइएको हो । उनको घरसम्म मोटरबाटो नपुगेकाले हेलिप्याडदेखि स्टे«चरमै राखेर घरसम्म पुर्‍याइएको थियो । पण्डित गाउँको उनको घर भूकम्पका बेला पनि जोगिएको थियो । ‘डाक्टरसाब आफंैले बनाउनु भएको घर हो । भूकम्पको बेला अलिअलि चर्किएको थियो । मर्मत गर्नुभयो’, स्थानीय शंकर देवकोटाले भने, ‘आफ्नो घर र गाउँलाई असाध्यै माया गर्नुहुन्थ्यो ।’

आफन्तजन, छिमेक र बालसखालाई भेट्न पाएकोमा उनले खुशी व्यक्त गरेका थिए । ‘हामी काठमाडौं गएर भेट्न सक्दैनथ्यौं’, स्थानीय रामदत्त देवकोटाले भने, ‘हामीलाई भेट्न यहाँ आउनु भयो । मुख हेर्न पाइयो ।’

यसअघि गाउँमा आउँदा उनीसँग उपचार सेवा लिन आउनेको घुइँचो लाग्ने गरेको थियो । कमजोर स्वास्थ्य अवस्थामा पुगेको बेला गाउँमा देख्दा गाउँलेका आँखा रसाएका थिए । ‘उनले छोएपछि बिरामी सञ्चो हुन्छ भन्थे । उनी गाउँ आएपछि मलाई के भएको हो हेर्दिनु न भन्न सबै धुरिन्थे’, देवकोटाका सानिमा नाता पर्ने कलादेवी देवकोटाले भनिन्, ‘अहिले त उनको अवस्था देख्दा केही बोल्नै सकिएन । गाउँको बत्ती निभेजस्तो भएको छ । मनै उराठ भएको छ ।’ जन्मथलोमा करिब दुईघण्टा समय बिताएपछि उनीहरू साँढे चारबजे काठमाडौं फर्किएका थिए ।

सात महिनापपछि पुख्यौली थलोमा पुगेर फर्किका डा. देवकोटा साँझपख थकित देखिन्थे । यद्यपि, इच्छा पुरा गराइदिन पाएकोमा परिवारका सदस्यले सन्तोष मानेका थिए ।

डा.देवकोटाका भतिजा बसन्तले भने, ‘लामो यात्रा गरेकोले थाक्नु भएको छ । सघन उपचार कक्षमै आराम गरिरहनु भएको छ ।’ पाँच महिनासम्म बेलायतको किंग्स अस्पतालमा स्वास्थ्य उपचार गराउँदा निको नभएपछि जीवनको उत्तराद्र्ध स्वदेशमै बिताउने निर्णय गर्दै उपेन्द्र बेलायतबाट फर्केका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.