लेदो भेटिएको पानी उद्योगमा सिलबन्दी

लेदो भेटिएको पानी उद्योगमा सिलबन्दी

विराटनगर :  मोरङको उर्लाबारी–६ स्थित एच.आर.के इण्डष्ट्रिज प्रालिले उत्पादन गर्दै आएको ओजन पानी उद्योगमा सरकारी टोलीले शुक्रबार सिलबन्दी गरेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय उर्लाबारी र पानी व्यवसायी महासंघ मोरङको संयुक्त टोलीले उद्योगमा सिलबन्दी गरेको हो ।

उद्योग मापदण्ड विपरित रहेको पाइएपछि पानी उत्पादन  र विक्रीमा रोक लगाउँदै सिलबन्दी गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत प्रेम अर्यालले जानकारी दिए । बजारमा विक्रीका लागि लगिएको ‘सिलप्याक’ पानीको बोतलमा तीन दिन अघि लेदो भेटिएपछि सरकारी अधिकारीको एउटा टोली उद्योगको अनुगमन गर्न पुगेको थियो ।

अनुगमनका क्रममा उद्योग मापदण्ड विपरित संचालनमा रहेको र उत्पादन गरेको पानी पिउन योग्य नदेखिएपछि सिलबन्दी गरिएको जानकारी अर्यालले दिए । ‘अनुमगनका क्रममा उद्योगले न्यूनतम मापदण्ड पनि पूरा नगरेको देखियो,’ उनले भने, ‘उद्योग दर्ता तथा संचालनको आधिकारिक कागज पत्र पनि भेटिएन ।’ अर्यालका अनुसार रिभर्स असमोसेस (पानीमा हुने नचाहिने खनिज पदार्थ तान्ने काम गर्ने उपकरण) मा माकुराको जालैजाले भेटिएको थियो ।

‘उद्योग सबै फोहोरको डंगुरले भरिएको थियो,’ उनले भने, ‘पानी ‘प्याकिङ’ गर्ने ठाउँमा माउसुली र अन्य किराहरु कुदिरहेका थिए ।’ उनका अनुसार पानी ‘प्याकेजिङ’ गर्ने ठाउँमा चारैतिरबाट घेरिएको हुनु पर्नेमा खुल्ला अवस्थामा थियो । उद्योगले दर्ता र संचालनको अनुमति लिएका कागजपत्रहरु पनि प्रस्तुत गर्न नसकेको अर्यालले बताए ।

भने, ‘अनुगमनका क्रममा आवश्यक कुनै कागज पत्र पनि भेटिएन । प्रक्रिया पूरा नगरिकनै उद्योग संचालन गरे जस्तो देखिन्छ ।’ उनले उद्योगबाट उत्पादन भएर बजारमा विक्रीका लागि लग्ने तयारी गरिएको पानी परीक्षण गर्नका लागि नमुना संकलन पनि गरिएको जानकारी दिए ।

पानीको ल्याब परीक्षण क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरमै हुन्छ । सरकारी टोलीले उद्योग संचालकलाई सम्पूर्ण कागजपत्र लिएर जिल्ला प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा तीन दिन भित्र उपस्थित हुन निर्देशन पनि दिएको छ । धु्रबचन्द्र पराजुली, नरकाजी श्रेष्ठ र निरराज लुइँटेल समेतको उद्योगमा संयुक्त लगानी छ । उनीहरुले संचालन गरेको पानी उद्योगमा पटक पटक समस्या देखिंदै आएको जानकारी सरकारी टोलीले दिएको छ ।

२०६७ सालमा दर्ता भएको उद्योगले तीन वर्षदेखि ओजन पानी उत्पादन गरेर बजारमा विक्रीका लागि पु¥याउने गरेको थियो । उर्लाबारी १ मा संचालित पूर्वेली क्रसर उद्योग र उर्लाबारीमै खोलिएको मावा समृद्धि बचत तथा ऋण सहकारी संस्थाका लगानीकर्ता समेत रहेका पराजुली र श्रेष्ठको कारोवार विगतदेखि नै शंकास्पद रहँदै आएको थियो । क्रसर र सहकारीमा उर्लाबारी १ का गोविन्द भट्टराईको पनि लगानी छ । 

पानीका विषयमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी समेत परेको थियो । सो उजुरीमा जिल्ला प्रशासन कार्यालयले क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई अनुसन्धान गर्ने जिम्मा दिएको थियो । पटक–पटक अनुगमन गर्ने क्रममा पनि उद्योगले समान्य मापदण्ड पनि पूरा नगरेको र मानिसको स्वास्थ्यमै गम्भीर असर पर्ने गरी लेदो मिसिएको पानी बजारमा पठाएर विक्री गर्ने गरेको पाइएपछि उद्योगमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका नायव सुब्बा केदार घिमिरेले बताए । 

उनका अनुसार ल्याब परिक्षणपछि उद्योगविरुद्ध खाद्य ऐन बमोजिम जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गर्ने तयारी गरिएको छ । यस ऐन अन्तर्गत दोषी ठहर भए दुईदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना वा तीनदेखि छ महिनासम्म कैद सजाय हुने कानुनी प्राबधान छ । 
 

समाचार लेख्दा पत्रकार पक्राउ

यही उद्योगले उत्पादन गरेको पानीमा लेदो भेटिएको विषयमा समाचार लेखेपछि केही विवादस्पद व्यक्तिहरुको मिलेमतो र उक्साहटमा प्रहरीले उर्लाबारीबाट पत्रकार केदार चौहानलाई पक्राउ समेत गरेको थियो । घटनाको प्रारम्भिक जाँचबुझ र अनुसन्धाननै नगरिकन प्रहरीले तत्कालनै चौहानविरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा दर्ता गराएको थियो ।

शुक्रबार नै उनलाई जिल्ला प्रशासन कार्यालय मोरङले तीन हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले पानी उद्योगसंगै क्रसर र सहकारी संचालन गरेर विवादस्पद काम गर्दै आएका पराजुली, भट्राई र श्रेष्ठसंग ‘कनेक्सन’ मिलाएर जवरजस्ती पत्रकारलाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले विरोध गरेपछि चौहानलाई मुद्दा दर्ता गरिएको भोलीपल्टै छाडिएको हो ।

 महासंघ मोरङ शाखा अध्यक्ष बन्धु पोख्रेलले एउटा गिरोह नै खडा गरेर विभिन्न अवैध कारोवारमा संलग्न रहेका व्यक्तिले प्रहरी निरीक्षक तिमल्सिनालाई प्रभावमा पारेर योजनाबद्ध ढंगबाट पत्रकारलाई पक्राउ गराएको बताए । पूर्वेली क्रसर उद्योग मापदण्ड विपरित रहेको कुरा प्रदेश १ का सांसद कुलप्रसाद साम्बाले प्रदेशसभामा उठान गरिसकेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीलाई फलामे गेट बनाइदिनेदेखि लिएर मोवाइल सेटसम्म पनि ओजन पानी र क्रसर संचालकले नै प्रहरीलाई दिएको तथ्य पनि फेला परेको छ । त्यही गुन तिर्न र लेदो भेटिएको पानी उद्योगलाई बचाउनकै लागि समाचार लेख्ने पत्रकारलाई गिरोहसंग मिलेर प्रहरीले पक्राउ गरिएको नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले बताए । भने, ‘उनीहरुका फट्याइ एकपछि अर्को गर्दै पर्दाफास हुन थालेपछि नाटकीय ढंगमा प्रहरी निरीक्षकलाई प्रयोग गरेर पत्रकार चौहानलाई पक्राउ गर्न लगाइयो ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.