सार्वजनिक पार्क व्यक्तिको कब्जामा

सार्वजनिक पार्क व्यक्तिको कब्जामा

तौलिहवा : कृष्णनगर बजारमा रहेको महेन्द्र पार्क व्यक्तिले कब्जा गरेको छ । ०१५ सालमा निर्माण भएको उक्त पार्क स्थानीय रुद्रप्रताप शाहले निजी प्रयोजनका लागि प्रयोग गरिरहेका छन् । रुद्रप्रताप, प्रतिनिधिसभाका सांसद अभिषेकप्रताप शाहका हजुरबुबा हुन् । उनको परिवारले पार्कछेउमा निर्माण गरिएको भवनको भाडासमेत उठाउने गरेका छन् । नेपाल–भारत सीमानाकासँग जोडिएको महेन्द्र पार्क कृष्णनगरका शिवप्रताप शाह तत्कालीन अर्थ राज्यमन्त्री हुँदा राजा महेन्द्रले निर्माण गर्न लगाएका थिए । राजा महेन्द्रले सभा, समारोह, सम्मेलन र नेपाल भारत आवातजावत गर्ने सर्वसाधारणलाई बसोबासको प्रबन्ध मिलाउन पार्कका लागि जग्गा उपलब्ध गराएका थिए ।

राजा महेन्द्रले उपलब्ध गराएको उक्त जग्गामा आकर्षक पार्क र सार्वजनिक पुस्तकालय निर्माण गर्ने योजना छ । तर, रुद्रप्रताप शाह परिवारको कब्जामा रहेपछि पार्क प्रयोगमा आउन नसकेको स्थानीय दिनेशचन्द्र गुप्ताले बताए । ‘राज्यबाट पार्क निर्माण गर्न लाखौं रुपैयाँ आएको छ’, उनले भने, ‘तर यस विषयमा बोल्न पनि गाह्रो छ ।’

प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहले आफू सांसद हुँदा सांसद विकास कोषको लाखौं रुपैयाँ यही पार्क निर्माणमा खर्च गरे । तर, न पार्क निर्माण भयो न त अरूले नै प्रयोग गर्न सकेका छन् । ०१५ सालदेखि शाह परिवार कांग्रेस, राप्रपा, मधेसवादी दलबाट राज्यका विभिन्न ओहोदामा पुग्दै आएका छन् ।

राजनीतिक रूपमा शक्तिशाली मानिएका शाह परिवारले कब्जा गरेको पार्कको विषयमा कुनै तहले प्रश्न उठाएको छैन । शाह परिवारकै कारण पार्कका विषयमा कुरा उठाउन नसकिएको स्थानीय प्रभाव भण्डारीले बताए । पार्कलाई एउटा परिवारले मात्रै कमाइ खाने भाँडो बनाउँदै आएको उनको आरोप छ । विभिन्न समयमा महेन्द्र पार्कलाई सार्वजनिक रूपमा प्रयोग गर्ने प्रस्ताव आएको थियो । तर, शाह परिवारले छाड्न मानेको छैन । त्यसविरुद्ध दबाब पनि सिर्जना हुन सकेको छैन । स्थानीय कृष्णकुमार गुप्ताले भने, ‘पार्कको विषयलाई उठाउँदै आएका छौं ।’

महेन्द्र पार्कको व्यवस्थापन गर्न भनेर वन विभाग, जिविस, गाविस, संसदीय विकास कोष हुँदै नगरपालिकाबाट समेत बजेट निकासा हुँदै आएको छ । झन्डै एक बिघा क्षेत्रफलमा अवस्थित पार्कको स्वामित्वमा आठ वटा सटर रहेको भवन निर्माण गरिएको छ । ३० को दशकदेखि ती सटरको भाडा रुद्रप्रताप शाह परिवारले लिँदै आएका छन् । प्रतिसटर महिनाको दुई हजारका दरले रुद्रप्रताप शाहलाई भाडा बुझाउँदै आएको कनोडिया वस्त्रालयका व्यापारीले बताए ।

पार्क कब्जा गरिरहेका रुद्रप्रताप शाहले भने यसबारे केही बोल्न मानेनन् । कृष्णनगर नगरपालिकाले पनि महेन्द्र पार्कलाई आफ्नो नियन्त्रणमा राख्न सकेको छैन । नगरपालिकाका मेयरसमेत शाह परिवारबाटै भएकाले पार्कको विषयमा चासो नदिएको नगरपालिकाका कर्मचारीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.