कर्णाली बढेपछि फेरी बन्द

कर्णाली बढेपछि फेरी बन्द

कालिकोट : कालिकोट जिल्लाको जितेबजारमा रहेको कर्णाली राजमार्गको सुर्खेत जुम्ला सडकखण्ड र राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर जोड्ने फेरी बन्द भएको छ।वर्षायामसँगै कर्णाली नदीमा पानीको बहाव बढेपछि कर्णाली नदीमाथि नेपाली सेनाले बनाएको फेरी बन्द भएको हो। 

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर निर्माणका लागि आवश्यक पर्ने सामान ढुवानीका लागि निर्माण गरेको उक्त फेरी बन्द भएपछि सामान दुवानीमा समस्या भएको छ। 

नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलका अनुसार कर्णाली करिडोरको जिरो पोइन्ट खुलालुमा निर्माण हुने पक्की पुल निर्माणको काम ढिलाइ भएपछि तत्कालका लागि सामान ढुवानी गर्नका लागि  फेरी बनाइएको थियो।

सेनाको कर्णाली करिडोर निर्माण कार्यदलले वर्षायामसँगै भेरी नदीमा पानीको बहाव बढेपछि  तुरून्तै फेरी बनाउन नसकिने जनाएको छ। सडक निर्माणका लागि आवश्यक पर्ने, औजार, मेसिन,ड्रम, खाद्यान्नलगायतका सामान अब मजदुर तथा खच्चरबाट ढुवानी गर्नुपर्ने समस्या आएको छ।

खुलालुस्थित कर्णाली नदीमा बन्ने भनिएको पक्की पुल शिलान्यास भएको वर्षौँ वितिसक्दा पनि अहिलेसम्म निर्माण कार्य अलपत्र छ। खुलालु पुल निर्माणका लागि झापाको कन्काई जेभी भन्ने निर्माण कम्पनीले ठेक्का लिएको छ। उसले काममा ढिलासुस्ती गर्दा अहिले जिल्ला प्रशासन कार्यालयले काम चोर निर्माण कम्पनीको लिस्टमा राखेर कारबाहीका लागि गृहमन्त्रालयमा सिफारिस गरेको छ।

पहिले कन्काई जेभीले अर्कै पेटी निर्माण व्यवसायीलाई निर्माणको काम जिम्मा दिएर पेटी निर्माण व्यवसायी भागेपछि अहिले आफैं आएर काम सुरुवात गरेको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटका अनुसार कन्काई जेभीले अबको एक वर्षभित्र पुल निर्माण गरिसक्ने वचन दिएको जनाएको छ। तर निर्माणको काम सुस्त भइरहेको छ। 

जिल्लाको शान्तिघाट बजारमा व्यापार गर्ने व्यवसायी ददी बुढाले जिते बजारमा संचालनमा रहेको फेरी बन्द भएपछि  सामान ढुवानी गर्न निकै सास्ती भएको बताए। उनले नदीमा पानीको बहाव बढेपछि फेरी बन्द हुँदा बढी ज्याला तिरेर खच्चर र मजदुरको सहायताले ढुवानी गर्नु परेको बताए। 

यस्तै विकास निर्माणमा असारे चटारो परिरहेका बेला विकास निर्माणका योजनामा आवश्यक पर्ने, सिमेन्ट, सरिया, तार जाली, पाइपलगायतका सामान ढुवानी गर्न सास्ती भएको जनप्रतिनिधिको भनाइ छ। हाल कर्णाली छेउसम्म ट्रकले ढुवानी गरेको सामान स्थानीय मजदुर र खच्चरको सहायताले  झुलुङगे पुलबाट ढुवानी गर्न थालिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.