डा. देवकोटाका स्वास्थ्य सपना

डा. देवकोटाका स्वास्थ्य सपना

विदेशमा बसेर अत्याधुनिक सुविधासहित जीवन बिताउन आएका अनेकौं प्रस्तावलाई आँखा चिम्लेर डा. उपेन्द्र देवकोटा स्वदेशमै बिरामी सेवामा तल्लीन रहे। बिरामीलाई पहिलो प्राथमिकता दिनुपर्ने संकल्प बोकेका डा. देवकोटाले ब्रेन ट्युमरले गलेकी राधिका बस्नेतलाई शल्यक्रिया गरेको दिन आफू बिरामी भएको भेउ पाए। २०७४ कात्तिक २९ गते बस्नेतलाई गरेको ब्रेन ट्युमरको शल्यक्रिया नै उनको अन्तिम पेसाकर्म बन्यो। शल्यक्रियालगत्तै उनलाई असहज भयो। मंसिर ५ गते उनी थप उपचारका लागि बेलायत प्रस्थान गरे। बेलायतस्थित किंग्स हस्पिटलमा परीक्षण गर्दा पित्तथैलीको क्यान्सर भएको प्रमाणित भयो। त्यसपछि उनलाई केमोथेरापी दिइयो। तर स्वास्थ्यमा सुधार नआएको र शल्यक्रियासमेत गर्न नमिल्ने भएपछि स्वदेश फर्किएका देवकोटा क्यान्सरविरुद्ध जुध्दाजुध्दै ६४ वर्षको उमेरमै अस्ताए।

झन्डै तीन दशक लामो सेवाअवधिमा उनले सात लाखभन्दा बढीको उपचार तथा शल्यक्रिया गरेर जीवन बचाए। आफूपछिको नयाँ पुस्तालाई दक्ष न्युरो सर्जन बन्न मार्गनिर्देशन गरे। चिकित्सा क्षेत्र विशेषगरी न्युरो सर्जरीमा उनले पुर्‍याएको योगदान र स्वास्थ्य क्षेत्र सुधारका लागि उनले देखेको सपना भने आगामी पुस्ताका लागि मार्गदर्शक भइरहनेछ।

विकट गोरखा जिल्लाको पण्डित गाउँमा जन्मेका देवकोटामा सीप, दक्षता र दूरदर्शिताका साथै विविध पक्षमा देखिएको दक्खल नेपाली चिकित्सा क्षेत्रमा विरलै पाइन्छ। नेपाली चिकित्सा क्षेत्रका अब्बल व्यक्तित्व डा. देवकोटाले नेपाली न्युरो सर्जरी सेवालाई शिखरमा पुर्‍याए। २०५९ सालमा स्वास्थ्य र विज्ञान तथा प्रविधि मन्त्री हुँदा न्यून आय भएका व्यक्तिको उपचार खर्च नभएकैले सेवाबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले उपचार खर्च व्यहोर्ने संयन्त्र विकास गर्न स्वास्थ्य बिमा सञ्चालन गर्ने कार्यक्रम अघि सारेका थिए। यो कार्यक्रम आर्थिक वर्ष २०५९/०६० को अन्त्यसम्ममा संगठित क्षेत्रबाट सुरु गरी केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय र अञ्चलस्तरीय अस्पतालमा विस्तार गरिने जनाइएको थियो। निःशुल्क स्वास्थ्य सेवाले मात्र सम्पूर्ण उपचार सम्भव नभएकाले जोखिम व्यवस्थापनको भरपर्दो उपाय महसुस गर्दै सरकारले यो कार्यक्रम डेढ दशकपछि मात्र तीन जिल्ला कैलाली, बागलुङ र इलामबाट सुरु गर्‍यो। मुलुकभर स्वास्थ्य बिमा विस्तार गर्ने योजना यस वर्षको बजेटमा उल्लेख छ। डा. देवकोटाले सात महिनाभन्दा बढी कार्यकाल बिताउन पाएका भए स्वास्थ्य बिमाको लाभ पाउन जनताले २० वर्ष कुर्नु पर्दैनथ्यो।

नेपालका विवाहित दम्पतीमध्ये झन्डै १५ प्रतिशत निसन्तान छन्। हरपल तनावयुक्त जीवन बिताइरहेका ती दम्पतीका लागि टेस्टट्युब बेबी सेवाको प्रभावकारी विस्तारको आवश्यकता डा. देवकोटाको अर्को सपना थियो। वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाललगायतका चिकित्सकसँग छलफल गरेपछि टेस्ट्युब बेबी सम्बन्धमा नीति बनाउने आश्वासन व्यक्त गरेका थिए उनले। स्वास्थ्य नीति सार्वजनिक गर्दासमेत टेस्टट्युब बेबीसम्बन्धी नीति चाँडै सार्वजनिक गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। तर उनी मन्त्री पदबाट हटेको १५ वर्ष व्यतीत भइसक्दा पनि टेस्टट्युबसम्बन्धी नीति अझै बनेको छैन। वरिष्ठ स्त्री रोगविशेषज्ञ डा. रिजाल भन्छन्, ‘स्वास्थ्य बिमा सुरु गर्न प्रयासरत थिएँ। टेस्ट्युब बेबीका सम्बन्धमा पनि नीति बनाउन पाए सरोगेसी, क्लोनिङलगायतका विषयमा विवाद हुँदैन भनेर छलफल गरेका थियौं।’ छोटो समयमै डा. देवकोेटा मन्त्रीबाट बाहिरिनुपरेपछि नीति निर्माण कार्य नै ओझेलमा परेको डा. रिजाल बताउँछन्। २०५९ साल कात्तिक ७ गते उनी सम्मिलित मन्त्रिपरिषद्ले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन नयाँ नीति तथा कार्यक्रम अघि सारेको थियो।

स्वास्थ्य सेवामा गरिबको पहुँच हुनुपर्नेमा डा. उपेन्द्र देवकोटा दृढ थिए। स्वदेशमै मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्न प्रत्यारोपण सेवालाई कानुनी अवरोध हटाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनी सात महिनामै मन्त्रीबाट हटेपछि कानुनी अवरोध हटाउन केही वर्ष कुर्नुपरेको स्वास्थ्यकर्मी बताउँछन्। स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. बिडी चटौत स्मरण गर्दै भन्छन्, ‘स्वास्थ्य क्षेत्रमा सुधारका लागि उहाँको भिजन र सोहीअनुसारको कार्यशैली उत्कृष्ट थियो।’

स्वदेशमा बसिसकेपछि सबैले आआफ्नो क्षेत्रबाट विशेष योगदान दिनुपर्छ भन्ने डा. उपेन्द्र देवकोटाको भावना थियो। जुन भावनालाई मूर्तरूप दिँदै उनी अस्ताए।

स्वास्थ्य सेवा प्रवाह, निजी तथा सार्वजनिक क्षेत्रबीचको सहभागिता, स्वास्थ्य सेवामा विकेन्द्रीकरण, क्षेत्रगत व्यवस्थापन र स्वास्थ्य वित्तीय व्यवस्थापन कार्यक्रमका रणनीति तर्जुमा गरिएको थियो। चिकित्सक तथा स्वास्थ्यकर्मीलाई खटाएको स्थानमा १५ दिनभित्र पुगिसक्न निर्देशनसमेत दिइएको थियो। मन्त्रालयअन्तर्गतका विभिन्न विभागका निर्देशक तथा मेडिकल सुपरिटेन्डेन्टहरूले सम्बन्धित विभागको स्वीकृतबिना कार्यालय छोड्न नपाइने व्यवस्थासमेत गरिएको थियो। सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट उपलब्ध स्वास्थ्य सेवा पारदर्शी ढंगले व्यवस्थित गर्ने र निजी क्षेत्रबाट उपलब्ध स्वास्थ्य सेवा पारदर्शी ढंगले व्यवस्थित गर्ने योजना बनाइएको थियो। निजी क्षेत्रका अस्पताल, क्लिनिक तथा नर्सिङ होममा कार्यरत चिकित्सकहरूको योग्यता र संस्थाको स्तरीयता निर्धारण गरी १५ दिनभित्र सेवा शुल्क तोक्ने निर्णयसमेत मन्त्रालयले गरेको थियो।

सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले सरकारी स्वीकृति लिएर निजी वा गैरसरकारी क्षेत्रमा काम गर्न पाइने प्रावधान बनाइएको थियो। निजी क्षेत्र तथा नर्सिङ होममा कार्यरत चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूको आयमा स्रोतमै कर काट्ने व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग समन्वय गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द डा. देवकोटामा स्वास्थ्य क्षेत्र मात्र नभई चौतर्फी ज्ञान भएको स्मरण गर्छन्। उनी भन्छन्, ‘केही समय काम गर्ने मौका पाएको हुँ। पेसागत मात्र होइन चौतर्फी ज्ञान थियो।’

न्यून आर्थिक अवस्थाका बिरामीलाई सरकारी अस्पतालहरूमा सरकारले उपलब्ध गराउँदै आएको पाँच प्रतिशत अनुदानमा अस्पतालको आन्तरिक आम्दानीको पाँच प्रतिशत थप गरी गरिब, असहाय उपचार कोष खडा गर्ने अवधारणा अघि सारिएको थियो। शुल्क तिर्ने क्षमता नभएका मुटु रोगीहरूको उपचारका लागि सहिद गंगालाल हृदय केन्द्रबाट एक वर्षमा एक सय मुटुको भल्भ निःशुल्क उपलब्ध गराइनुका साथै असहाय मिर्गौला रोगीका लागि वीर अस्पतालमा उपलब्ध डायलाइसिस मेसिनमध्ये एउटाबाट निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गराउन उनले उल्लेख्य भूमिका खेलेका थिए।

मन्त्रालयको स्वीकृति नलिई निजी तथा गैरसरकारी क्षेत्रमा अस्पताल, नर्सिङ होम, स्वास्थ्य प्रयोगशालालगायत अन्य स्वास्थ्य संस्था सञ्चालन गर्न नपाइने नीति अघि सारिएको थियो। चिकित्सकद्वारा उपचार क्रममा हुने अनावश्यक जाँचपड्ताल र अनावश्यक औषधिको सिफारिसलाई दुरुत्साहित गर्न मन्त्रालयमा चिकित्सा सेवा महाशाखाअन्तर्गत छुट्टै सेल गठन गरिएको थियो।

सन् १९८९ मा मुलुकको जेठो वीर अस्पतालमा डा. देवकोटाले स्नायु शल्यचिकित्सा विभागको निर्माण गरेका थिए। उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई वैधानिकता दिलाए। साढे दुई दशक वीर अस्पतालमा बिरामीको सेवामा बिताएका उनले २०६२ सालमा न्युरो अस्पताल खोलेका थिए।

आम्दानीलाई महत्व दिँदै विदेश पलायन हुने होडबाजी नेपाली चिकित्सा क्षेत्रमा नौलो होइन। तर डा. देवकोटाले देखाएको राष्ट्रप्रेम र पेसाप्रतिको समर्पण अन्य चिकित्सकमा बिरलै देखिन्छ। नेपाली ढाकाटोपीसहित दौरासुरुवाल लगाएर चीर निद्रामा रहेका देवकोटाको शवमा शुभचिन्तक, उनले निको पारेका बिरामी तथा आफन्तसाथै विभिन्न पेसाकर्मीको भीडले न्युरो अस्पतालदेखि पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहसम्म आँसु चुहाउँदै पच्छाइरह्यो।

जीवनको अन्तिम घडीमा पनि उनले मृत्युलाई सहज रूपमा अँगाले। मृत्युको अनिवार्यतालाई हाँसेरै स्विकारे। मृत्युबाट नआत्तिन शिक्षा दिँदै जीवनका अनुभूति बाँडे। संसारको जुनसुकै मुलुकमा बसेर काम गर्न सक्ने क्षमता भए पनि स्वदेशमै बसेर जीवन बिताएका डा. देवकोटा स्वदेशमै केही योगदान दिनुपर्ने भन्ने सोच भएको डा. रिजाल बताउँछन्। उनी भन्छन्, ‘स्वदेशमै बसिसकेपछि आआफ्नो क्षेत्रबाट सबैले योगदान पनि दिनुपर्छ भन्ने सोच थियो। न्युरो सर्जरी विधामा उल्लेखनीय योगदान दिएर जानुभयो। जुन चीरकालसम्म स्मरणीय रहिरहनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.