झुम्सा चरङ्गे वकल्पिक मार्गमा मुख्यन्त्री
तानसेन : सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सिद्धबाबा सडक खण्डको बैकल्पिक मार्ग झुम्सा चौकीभञ्याङ देवदह चरङ्गे नयाँ ट्रयाक लाई आउदो आर्थिक बर्षभित्र डवल लेनको रुपमा स्तर उन्नती गरिने भएको छ । ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रवार ट्रयाकको निरीक्षण गर्दै झुम्सा चौकीभञ्याङ देवदह चरङ्गे सडकको २० किलोमिटर लाई स्तारोन्नती गरिने बताए । प्रदेश सरकारले झुम्सा चौकीभञ्याङ देवदह चरङ्गे सडकको स्तर उन्नतीको लागी १० करोड रुपैया विनियोजन गरेको भन्दै उनले रकम नपुग भएमा रकमान्तर गरेर भएपनि स्तरीय डवल लेनको सडक निर्माण पुरा गर्ने बताए ।
जिल्ला समन्वय समिति पाल्पाको अगुवाइमा स्थानीय तहको लगानीमा वैकल्पिक मार्गको नयाँ ट्रयाक खोल्ने काम पुरा भएको हो । झुम्सा चौकीभञ्याङ चरङ्गे सडक वैकल्पिक मार्गको ५ नम्वर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल, भौतिक योजनामन्त्री बैजनाथ चौधरी, प्रदेश सांसद लगायतको टोलीले अवलोकन तथा निरिक्षण गरेको हो । मुख्यमन्त्री पोखरेल सहितका ३० भन्दा बढी सवारी साधनले झुम्सा चौकीभञ्याङ चरङ्गे सडक वैकल्पिक मार्गमा वारपार गरेका थिए ।
प्रदेश सरकार भौतिक योजनामन्त्री बैजनाथ चौधरीले सिद्धवावा क्षेत्रको बैकल्पिक सडकको रुपमा निर्माण भएको यस सडक लाई प्रदेश सरकारले नमुना योजनाको रुपमा काम गर्ने बताए । बैकल्पिक सडक निर्माणको लागी तिनाउ गाउँपालिकाले ६० लाख र रिब्दीकोट गाउँपालिकाको १० लाख रूपैंया लगानी गरिसकेका छन् । तानसेन नगरपालिकाले २० लाख र बगनासकाली गाउँपालिकाले ५ लाख रूपैंया र देवदह नगरपालिका रुपन्देही बाट १० लाख गरी १ करोड १० लाख रुपैयामा बाटोको ट्रयाक खोलिएको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए ।
यो वैकल्पिक मार्गको निर्माणले सिद्धबाबा क्षेत्रमा खस्ने पहिरोले वर्षेनी हुने जनधनको क्षति रोक्ने विश्वास लिएको छ । झुम्सा चौकीभञ्ज्याङ् चरङ्गे वैकल्पिक मार्गको लम्बाई करिव २० किलोमिटर रहेको छ । पाल्पाको झुम्सा चौकीभञ्ज्याङ ७ किलोमिटर र रूपन्देहीको चरङ्गे मुढाबास ७.५ किलोमिटरमा यसअघि नै ट्रयाक खोलिएको थियो । चौकीभञ्याङ मुढाबास खण्डको करिव साढे ५ किलोमिटरमा नयाँ ट्रयाक खोलेपछि झुम्सा चरङ्गे सडकले जोडिएको छ ।