राष्ट्रिय कविता महोत्सवमा प्रथम फूलमान वलको कविता 'इन्द्रेणी गीत'
काठमाडौं : विश्वकपमा फुटबलको चर्चा भइरहेको बेला फूलमान वलले कवितामा गोल गरेका छन्।
‘राष्ट्रिय कविता महोत्सव २०७५’ मा काभे्रका कवि वलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता पहिलो भयो। नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवको अवसरमा कविता महोत्सवमा सहभागी हुन देशका विभिन्न भागबाट कविहरुको बाक्लै उपस्थिती थियो।
प्रतियोगितामा धादिङका कवि सुनिता खनालको श्यामश्वेत फोटो शीर्षकको कविता दो श्रो भयो। तेह्रथुमकी एलिना दुलाल (लाहुरेकी स्वास्नी), रामेछापका जीवन खत्री (एउटा अर्को प्यास) र मोरङकी मेनुका चापागाईं (बिराएछु बाटो) को कविताले ते श्रो स्थान पायो।
वरिष्ठ कवि बैरागी काईलाबाट कविता वाचनको उद्घाटनलगतै सुरु भयो कविहरुको कविता वाचन कार्य। देशभरबाट छानिएर आएका ३६ तथा आगन्तुक २१ कविहरुले आआफ्नो कविता वाचन गरे।
पाका कविमात्र होइन, युवा पुस्ता पनि आफ्नो उत्कृष्ट कविताको साथमा उपस्थित थिए। प्रज्ञाका कुलपति गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपाली बृहत् शब्दकोशको दसौँ संस्करण पनि सार्वजनिक गरे।
इन्द्रेणी गीत
- फूलमान वल
वषौंदेखि तिम्रो इतिहासले
विस्मृतिको बुइँगलमा मिल्काइ दिएको
पेङदोर्जेको उही प्राग ऐतिहासिक डम्फू बजाउँदै
गाएकै हुँ मैले,
नयाँ युगको फापरे व्हाई
यसको मतलब यो हैन कि
मैले मादलको ताल बिगारें
मादललाई त
लाउँदै मायाको खरी
पागल प्रेमीले झैँ
भिर्दै आएकै हुँ दिलको कम्मरमा
गाउँदै आएकै हुँ तिम्रै एकोहोरो समला र चुट्की
हो मित्र,
बषौंदेखि तिम्रो इतिहासले
बिस्मृतिको बरण्डामा बाँधी राखेको
आखे म्हेम्हेको उही पुरानो टुङ्ना बजाउँदै
गाएकै हुँ मैले नयाँ युगको म्हेन्दोमाया
यसको मतलब यो हैन कि
मैले सितारको धुन बिगारें
सितारलाई त
झन तन्काउँदै प्रणय तार
पागल प्रेमीले झैं
राख्दै आएकै हुँ मनको देब्रे कुनामा
गाउँदै आएकै हुँ तिम्रै एकोहोरो वसन्त बन्दना
बरु कुनै समय,
सहगोत्री सहनाई र सारंगीलाई
मिल्काएर ढोका बाहिर तिमीले
बनाइदिएका थियौ अछुत
र, निदाएका थियौ लामो समय तिमी
घमण्डको राज पलङ
दुखाएर मुर्चुङगा,, ढोल, डम्फु र बाँसुरी मन
जुन दिनदेखि तिमी निदायौ त्यसरी
त्यही दिनदेखि,
कमजोर बनेको हो हाम्रो आँगनको चिरबिर लय
सुस्क सुनिएको हो स्वाभिमानी सारंगी
रुन थालेको हो सहगोत्री सहनाई
हो, त्यही दिनदेखि नै
बज्न थालेको हो हाम्रो आँगनमा
आतंकको डरलाग्दो ड्रमसेट
सुनिन थालेको हो चारैतिरबाट
एकसरो एकसरो अहम्को आलाप
हो मित्र,
बषैंदेखि तिम्रो इतिहासले
विस्मृतिको बुइँगलमा मिल्काइदिएको
पेङदोर्जेको उही प्राग ऐतिहासिक डम्फू बजाउँदै
गाएकै हुँ मैले,
नयाँ युगको विहानी गीत
तिमीले सदियौँदेखि गाउँदै आएको
एकसरो गीतमा
मात्र मैले,
चाहेको हुँ थप्न एउटा रंगीन लय
जसरी सप्तरंगमा उभिन्छ इन्द्रेणी
जसरी सप्तक स्वरमा गुन्जिन्छ संगीत
त्यसरी नै गाउन चाहेको हुँ
मैले पनि समयको
एउटा इन्द्रेणी गीत।