धनगढीको तापक्रम ४१ डिग्री, जनजीवन प्रभावित
धनगढी : लगातार बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ। बढ्दै गएको गर्मी र सुक्खा मौसमका कारण बालबालिका, वृद्धवृद्धा र मजदूरमा थप समस्या भएको छ।
गर्मी बढेसँगै श्वासप्रश्वासको समस्या, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता बिरामीको चाप बढेको स्वास्थ्यकर्मीले बताएका छन्। गर्मी बढ्दै जाँदा सर्वसाधारण घर बाहिर निस्कन सकिरहेका छैनन्।
गर्मी बढ्दै जाँदा कतिपय व्यक्ति गर्मी छल्नकै लागि कैलालीको चुरेपहाडको बूढीतोला र खानीडाँडासम्म पुग्न थालेका छन्। वर्षा नभएको र गर्मी बढ्दै जाँदा आकाशको पानीको भरमा धान रोपाइँ गर्ने तयारीमा रहेका किसानले पानी अभावमा रोपाइँ गर्न सकेका छैनन्।
बोरिङको पानी तानेर गरिएको रोपाइँ पानी अभावमा सुक्न थालेको छ भने खेतबारीमा राखिएको धानको ब्याड सुक्न थालेको स्थानीय किसान हरि चौधरीको गुनासो छ।
यस क्षेत्रमा मनसुन अझैसम्म सक्रिय हुन सकेको छैन। तीन दिनअघि हावाहुरीसहित हल्का वर्षा भए पनि जमिनमा खसेको वर्षाको पानी तातेर तातो वाष्प बन्दा थप गर्मीको महसुस भएको थियो। सोमबार धनगढीको तामक्रम ४१ डिग्री सेल्सियस रहेको छ।
प्रतिक्रिया दिनुहोस !