मेसीविरुद्ध मुसा
मस्को : निरन्तरको खराब नतिजाबाट गुज्रिरहेको लियोनल मेसीको अर्जेन्टिनाले जारी विश्वकपमा जित्नै पर्ने बाध्यतासहित समूहगत चरणको आफ्नो अन्तिम खेलमा मंगलबार अफ्रिकी टोली नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ । अर्जेन्टिनाका लागि यो खेल नकआउट चरणमा पुग्ने अन्तिम अवसर हो । विश्वकप सुरु हुनुअघि उपाधिको बलियो दाबेदार मानिएको अर्जेन्टिनाको अगाडिको भाग्य मंगलबारका दुई खेलले निर्धारण गर्नेछ ।
नाइजेरियासँगको जितले अप्ठ्यारो अवस्थामा रहेको अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा पु¥याउने सम्भावना कायम राख्नेछ । तर, हारले भने गत संस्करणको उपविजेता अर्जेन्टिनालाई प्रतियोगिताको पहिलो चरणबाटै घर फर्काउनेछ । त्यसैले नकआउट चरणको यात्रा सम्भव बनाउन अर्जेन्टिनाले समूहगत चरणको आफ्नो अन्तिम खेलमा नाइजेरियालाई हराउनै पर्ने हुन्छ ।
समूह ‘डी’ को अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरिया र क्रोएसियाले आइसल्यान्डलाई हराए अर्जेन्टिना सहजै नकआउट चरणमा पुग्नेछ । तर, अर्जेन्टिनाले नाइजेरियालाई हरायो र आइसल्यान्डले पनि क्रोएसियालाई हरायो भने गोलअन्तरका आधारमा अर्जेन्टिना र आइसल्यान्डमध्ये एक टोली नकआउट चरणमा पुग्नेछ ।
क्रोएसिया भने यअसघ नै नकआउट चरणमा पुगिसकेको छ । अहिले भने गोलअन्तरमा अर्जेन्टिनाभन्दा आइसल्यान्ड अगाडि छ । नाइजेरियालाई पराजित गर्नु अर्जेन्टिनाका लागि सहज भने पक्कै हुने छैन ।
जारी प्रतियोगितामा नाइजेरियाले सशक्त प्रदर्शन गर्दै आएको छ । तर, अर्जेन्टिनाले भने विश्व फुटबलमा स्थापित आफ्नो नाम र क्षमता अनुशारको प्रदर्शन गर्न सकेको छ । अघिल्ला दुबै खेलमा अर्जेन्टिनाको प्रदर्शन निकै निराशाजनक थियो । त्यसैले मंगलबार हुने खेललाई अर्जेन्टिनाका लियोनल मेसी र नाइजेरियाका अहमद मुसाबीचको प्रतिस्पर्धाको रूपमा समेत हेरिएको छ ।
नाइजेरियाले आफ्नो दोस्रो खेलमा आइसल्यान्डलाई २–० ले पराजित गर्दै प्रिक्वार्टरफाइनल चरणको सम्भावना बलियो बनाउँदा दुवै गोल उनै मुसाले गरेका थिए । त्यसैले मंगलबार हुने खेलमा मेसी र मुसाकै प्रदर्शनमा अर्जेन्टिना वा नाइजेरियामध्ये एक टोलीको भाग्य चम्कनेछ । अर्जेन्टिना र नाइजेरियाले विश्वकपमा पाँचौं पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघिका चार भेटमा अर्जेन्टिनाले नाइजेरियामाथि एकपक्षीय जित निकालेको छ ।
क्रोएसियाले यसअघि नै लगातार दुई खेल जित्दै नकआउट चरणको यात्रा पक्का गरिसकेकाले उसलाई मंगलबारको खेलमा कुनै चिन्ता हुने छैन । क्रोएसियालाई राम्रो गोलअन्तरमा पराजित गर्न सकेमा पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्डको प्रिक्वार्टरफाइनलमा पुग्ने सम्भावना रहन्छ । तर त्यसका लागि आइसल्यान्डले अर्को खेलको नतिजाको पनि भर पर्नुपर्ने हुन्छ ।
विगतमा दुई टोली
कुल खेल: ४
अर्जेन्टिना विजयी: ४
नाइजेरिया विजयी: ०
बराबरी: ०
प्रतिक्रिया दिनुहोस !