अर्जेन्टिनालाई गोन्जालो हिग्वेनको आश
गोन्जालो हिग्वेन
अर्जेन्टिना
क्षमतावान् स्ट्राइकर गोन्जालो हिग्वेन पछिल्ला थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्जेन्टिनी टोलीका नियमित खेलाडीका रूपमा रहँदै आएका छन्। यद्यपि अर्जेन्टिना सधैं ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेर उपाधिबाट चुक्दा उनी पनि आलोचित बन्ने गरेका छन्। टोलीको मुख्य स्ट्राइकरको रूपमा खेल्दै आएका हिग्वेन सहभागी भएको तीन ठूला प्रतियोगिताबाट अर्जेन्टिना फाइनलमा पुगेर उपाधिबाट बञ्चित भएको छ।
सन् २०१४ को विश्वकप तथा सन् २०१५ र सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना पराजित हुँदा हिग्वेन पनि टोलीका सदस्य थिए। रुस विश्वकपमा अर्जेन्टिनालाई यस पटक समूहगत चरणमै मुस्किल देखिँदा हिग्वेनजस्ता अनुभवी र क्षमतावान् खेलाडीले जिम्मेवारीसाथ प्रदर्शन गर्नुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी अन्य स्ट्राइकरहरूसमेत चल्न नसक्दा जारी विश्वकपमा टोलीलाई अघि बढाउने जिम्मेवारी उनीमाथि अझ बढी थपिएको छ।
हिग्वेन क्लब फुटबलमा निक्कै सफल देखिएका स्ट्राइकर हुन्। युभेन्टससँग अनुबन्धित रहेका हिग्वेन इटालियन सिरिएमा बारम्बार सर्वाधिक गोलकर्ता रहिसकेका छन्। यतिबेला उनको त्यही ‘गोल स्कोरिङ’ क्षमता राष्ट्रिय टोलीका लागि पनि आवश्यक देखिएको छ। अर्जेन्टिनाले मंगलबार प्रिक्वार्टरफाइनल चरणको यात्रा सम्भव बनाउन नाइजेरियासँग प्रतिस्पर्धा गर्दा हिग्वेनले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यसो हुन सकेमा हिग्वेन यतिबेला निराश रहेका थुप्रै अर्जेन्टिनी समर्थकमाझ पनि गौरवान्वित हुनेछन्।
सन् २००९ यता अर्जेन्टिनी राष्ट्रिय टोलीबाट खेल्दै आएका हिग्वेनले हालसम्म ७४ खेलबाट ३१ गोल गरेका छन्।
प्रतिक्रिया दिनुहोस !