विपक्षीद्वारा संसद् अवरुद्ध

विपक्षीद्वारा संसद् अवरुद्ध

धनगढी : सत्ता पक्षकै प्रदेशसभा सदस्यहरूले बजेटको विरोध गरिरहेका बेला प्रदेश ७ मा विपक्षले संसद् बैठक अवरुद्ध गरेका छन्। प्रदेश सरकारले ल्याएको बजेट जनतामुखी नभएको र कार्यकर्ता पोस्ने बजेट भएको भन्दै प्रतिपक्षी दल कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद् बैठक अवरुद्ध गरेका हुन्।

असार १ गते प्रदेश सरकारले २५ अर्ब ६ करोडको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। सोमबार अपराह्न ४ बजेदेखि सुरु भएको बजेटमाथिको छलफलमा सभामुख अर्जुनबहादुर थापाले बैठकको कार्य प्रारम्भ भएको सूचित गर्नेबित्तिकै प्रतिपक्षी सभासद्हरूले उठेर बजेटमाथिको छलफलको विरोध गरेका थिए।

सभामुख अर्जुनबहादुर थापाले केही आपत्ति भए कुनै एक जनाले सदस्यले आफ्नो कुरा राख्न निर्देशन गरेपछि कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सरकारले ल्याएको बजेट डल्लो बजेट भएको र त्यसले कार्यकर्ता पोस्ने काम मात्रै हुने भएकाले त्यसको संशोधनको माग गरे।

‘सरकारले जेठमा ल्याएको एक अर्ब ५ करोडको अल्पकालीन बजेटको हामीले पहिलो बजेट भएकाले समर्थन ग¥यौं तर त्यसको चरम दुरुपयोग भएको छ। अहिले पनि अल्पकालीनजस्तै डल्लो बजेट आएको छ। त्यो सीधै कार्यकर्ता पोस्नका लागि हो, त्यसैले त्यो बजेट संशोधन भएर आउनुपर्छ’, प्रदेशसभामा डाक्टर रावलले भने। उनले बजेट संशोधन नभए प्रतिपक्षको दायित्व निर्वाह गर्ने बताए।

उनले शीर्षकबिनाको बजेट पास भएपछि त्यसको चरम दुरुपयोग हुनसक्ने बताए। ‘प्रदेशका गौरवका योजनाका लागि डीपीआर छैन भनेर डल्लो बजेट विनियोजन भएको छ, पर्यटनका लागि भनेर अर्बौं बजेट विनियोजन गरिएको छ, प्रतिपक्षलाई छलफलमा बोलाएर थपिएका योजना र गरिएको प्रतिबद्धता पनि पूरा भएका छैनन्’, बजेटप्रति टिप्पणी गर्दै उनले आरोप लगाए।

विपक्षी सांसदको तर्फबाट डाक्टर रावलले संसद्मा सम्बोधन गरेर पनि उनीहरूले आफ्नो सिटमा नबसेपछि दुई पटकसम्म सभामुख अर्जुन थापाले सिटमा बस्न निर्देशन गरेका थिए तर प्रतिपक्षी दलका सांसदले सदनमा उभिइराखेपछि सभामुख अर्जुनबहादुर थापाले संसद् स्थगन भएको घोषणा गरे। संसद्को अर्को बैठक मंगलबार अपराह्न ४ बजेसम्मका लागि स्थगन गरिएको छ।

संसद् स्थगन गरिएपछि सरकारको तर्फबाट अर्थमन्त्री झपट बोहराले बजेटमा केही डल्लो बजेट राखिए पनि त्यो प्रदेश गौरवका योजनाका लागि भएको प्रतिक्रिया दिए। उनले प्रदेश गौरवका योजनाहरूको डीपीआर नै भएको छैन, त्यसैले डल्लो बजेट ल्याएको उनले बताए। ‘बजेटमा सकेसम्म प्रतिपक्षको पनि सहमति होस भन्ने चाहना सत्ता पक्षको हो, यदि भएन भने बजेट पास हुन्छ तर संशोधन हुँदैन’, उनले भने। प्रदेशसभा ७ मा सत्तापक्षको दुईतिहाइ बहुमत छ।

कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य भरत खड्काले सत्तापक्षलाई दुईतिहाइको दम्भ पलाएको आरोप लगाए। संसद् स्थगन भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले भने, ‘एक अर्ब ५ करोडको अल्पकालीन बजेटमा कार्यकर्ताको रजाइँ भएको छ, त्यसको चरम दुरुपयोग गरिएको छ, त्यसैले यसपालिको बजेट शीर्षकमा आउनुपर्छ, होइन भने प्रतिपक्षले संसद्मा आफ्ना गतिविधि बढाउँछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.