नेमार जति पटक लड्छन् , त्यति नै पटक सित्तैमा मदिरा
एजेन्सी विश्वका सबैभन्दा महंगा फुटबलर नेमारले विश्व कपमा अहिलेसम्म आशा गरे अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । गतिलो प्रदर्शन गर्न नसकिरहेका बेला मैदानमा अनावश्यकरुपमा डाइभ गर्दै लडेपछि उनी हाँसीमजाकका विषय पनि भएका छन् ।
उनकै गृहदेश ब्राजिलको रियो दि जेनेरियोस्थित एक बारले बुधवार ब्राजिल र सर्बियाबीच हुने अहम खेलका क्रममा फुटबल प्रशंसकलाई नेमार जति पटक लड्छन् त्यति नै पटक सित्तैमा मदिरा दिने घोषणा गरेको छ।
उत्तरी रियोको सर वाल्टर पबले आफ्नो फेसबुक पेजमा लेखेको छ, 'नेमार जब जब मैदानमा लड्छन् तब तब हामी पबमा आएका सबैजनालाई सित्तैमा मदिरा दिने छौँ ।'
फेसबुकमा यस पोस्टलाई लिएर पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ भने अहिलेसम्म हजारौँले यसलाई सेयर पनि गरिसकेका छन् । यस पोस्टका साथ खेलको दिन र समयसमेत उल्लेख गरेर एउटा फोटो पनि सेयर गरिएको छ। ब्राजिल र कोस्टारिकाबीच शुक्रवार भएको खेलमा फिलिपे कोटिन्हो र नेमारले अन्तिम ६ मिनेटमा गोल गरेर टिमलाई २-० ले जिताएका थिए ।
यसका साथै पाँच पटकको च्याम्पियन ब्राजिलले फिफा विश्व कप २०१८ मा अघिल्लो चरण पुग्ने आशालाई जीवितै राखेको छ। यस जीतपछि ब्राजिल समूह ई बाट दुई खेलमा ४ अंकसहित शीर्ष स्थानमा छ । अर्कातिर कोस्टारिका दुई खेलमै पराजित हुँदै अंकबिहीन छ । ब्राजिल समूह चरणको आफ्नो अन्तिम खेलमा २७ जुनमा सर्बियासँग खेल्ने तयारीमा छ ।
प्रतिक्रिया दिनुहोस !