उरुग्वेको जितका 'योजनाकार', जो बैसाखीको सहारामा हिँड्छन्
काठमाडौँ: रसियामा भइरहेको फिफा विश्वकप फुटबल प्रतियोगितामा आफ्ना तीनवटै खेलमा शानदाररुपमा जित्दै उरुग्वेको टिम नकआउट चरणमा पुगेको छ । उरुग्वेले लगातार तीनै खेल जित्दा एक गोल पनि खाएको छैन । यस पटक मात्रै होइन उसलले सन् १९३०, सन् १९५०, सन् १९५४ र सन् २०१० को विश्वकपका समूह चरणमा पनि सबै खेलमा जित निकाल्दै अन्तिम १६ मा पुगेको थियो ।
यहाँनिर एउटा चाख लाग्दो कुरा के छ भने उरुग्वेको यस सफलताका नायक एक व्यक्ति छन्, जो आफूचाहिँ बैसाखीको सहरामा हिँड्छन् । उनी बैसाखी टेकेर नै मैदानको टचलाइनमा लगातार खेलाडीहरुलाई ठुलो आवाजमा निर्देशन दिइरहेका हुन्छन् ।
यी व्यक्ति अरु कोही नभइ उरुग्वेका कोच (म्यानेजर) ओस्कर तबरेज हुन् । उनी यो विश्वकपमा सबैभन्दा पाका प्रशिक्षक पनि हुन् । ७१ वर्षीय तबरेज एक खतरनाक बिमारीसँग संघर्षरत छन् । तर पनि उनको उत्साह देख्दा जो कसैलाई हौसला मिल्छ ।
ओस्करलाई जीबीएस (गुलियन ब्यारे सिन्ड्रोम) नामक गम्भीर रोग लागेको छ गुलियन ब्यारे सिन्ड्रोम एक यस्तो समस्या हो जसले रोगीको शरिरमा पहिले पीडा या दुखाईको महसुस हुन्छ अनि पछि आफ्नो मांसपेशी कम्जोर हुन थाल्छ । लक्षण थाहा पाउनेबित्तिकै उपचार हुन नसकेमा पाखुरा र तिघ्रासमेत कम्जोर हुन्छ ।
ओस्करकै प्रशिक्षणमा उरुग्वेको टिमले सन् २०१० को विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको थियो । डिफेन्डरका रुपमा उनले उरुग्वेका लागि खेलिसकेका छन् । उनी सन् २००६ देखि उरुग्वेको प्रशिक्षक छन् । सन् १९८० मा सन्यास लिएको एक वर्षमै उनी उरुग्वेको क्लब बेला भिस्टाको प्रशिक्षक बनेका थिए ।
उरुग्वेको प्रशिक्षकका रुपमा ओस्करले सन् २००६ देखि २५ जुन २०१८ सम्म १५५ खेलमध्ये ७७ मा जित दिलाएका छन् । ३९ खेल बराबरी भएको भने त्यति नै खेल उनले गुमाएका छन् । ओस्करको जीतको प्रतिशत ४९.६८ छ । ओस्कार १९८८-९० का क्रममा पनि उरुग्वेका प्रशिक्षक थिए । त्यो बेला उनले ३४ खेलमध्ये १७ मा जित दिलाएका थिए ।
प्रतिक्रिया दिनुहोस !