बर्खा नलाग्दै भासियो तटबन्ध

बर्खा नलाग्दै भासियो तटबन्ध

टीकापुर : कैलालीको भजनी नगरपालिका–८ सोनाफाँटाको पथरैया नदीमा निर्माण गरिएको तटबन्ध बर्खा नलाग्दै भासिएको छ । पथरैया नदीको पुलदेखि दक्षिणतर्फ निर्माण भएको झण्डै २ सय मिटर तटबन्ध बर्खा नलाग्दै भासिएको हो ।

राष्ट्रिय गौरवको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको पकड क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत निर्माण गरिएको तटबन्ध भासिएको हो । आयोजनाको चार करोड रुपैयाँ लागतमा एमके कन्स्ट्रक्सन धनगढीले ९ हजार २ सय मिटर तटबन्ध गरेको थियो ।

सोमध्ये पुलबाट दक्षिणतर्फको झण्डै २ सय मिटर तबटन्ध बर्खा नलाग्दै भास्सिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिएका छन् । निर्माण सम्पन्न नहुँदै र बर्खा नलाग्दै तटबन्ध भाँसिएपछि वर्षौंदेखि बाढीबाट आक्रान्त बन्दै आएको भजनी नगरपालिका सोनाफाँटा, खल्ला गाउँ र काँडा ढिकका झण्डै ३ सय घर जोखिममा पर्ने डर छ ।

तटबन्ध भासिएसँगै जमिनसमेत भत्किँदै गएकाले प्रहरी चौकीसमेत जोखिममा परेको छ । प्रहरीचौकी इन्चार्ज असई मानसिंह पन्तले बर्खा नहुँदै तटबन्ध भासिएपछि पथरैया नदीको पानी प्रहरीचौकी र गाउँमा पस्ने खतरा रहेको बताए । ‘नदीको दुवैतर्फ तटबन्ध गरिएको छ, जम्मै पानी भासिएको ठाँउबाट गाउँ पस्छ’, असई पन्तले भने, ‘यसले प्रहरीचौकी मात्र होइन पूरै गाउँ जोखिममा छ ।’

‘वर्षौंदेखि बाढीबाट आक्रान्त बन्दै आएका सोनाफाँटाबासी तटबन्ध बनेपछि निकै खुसी थिए’, स्थानीय रमेश पाण्डेले भने, ‘हाम्रो आसा फेरि निरासामा परिणत भएको छ ।’ बर्खा नलाग्दै भासिने तटबन्धले गाउँलेलाई झन खतरा भएको उनले बताए । ‘नदीका अरू ठाउँमा तटबन्ध राम्रो छ, पुलबाट तल झण्डै २ सय मिटर भासिएपछि बाढीको सबै पानी गाउँ पस्छ, यसले हामीलाई झन् खतरा हुने भयो’, पाण्डेले भने ।

सिँचाइ आयोजना र ठेकेदारको मिलेमतोमा नदीको दलदल भागमा तटबन्ध गरिएकाले बर्खा नलाग्दै भाँसिएको स्थानीयले आरोप लगाएका छन् । सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जालका केन्द्रीय कोषाध्यक्ष जयप्रसाद ढुंगानाले नदी बगिरहेकै ठाउँमा तटबन्ध निर्माण गर्नु नै कमजोरी भएको बताए ।

‘नदी बग्ने ठाउँमा तटबन्ध गरिएको छ, दलदल जमिनमा तटबन्ध भासिएको हो’, ढुंगानाले भने, ‘निर्माण कम्पनीले स्थानीयसँग समन्वय नै नगरी निर्माण गरिएकाले पनि समस्या आएको हो ।’ निर्माण कम्पनी एमके कन्स्ट्रक्सनका चक्रबहादुर शाहले भने स्थानीयको दबाबमा आयोजनाकै सहमतिमा तीन मिटर बेसको तटबन्धमा पाँच मिटरसम्म अग्लो तटबन्ध निर्माण गरिएपछि भासिएको बताए ।

‘बस्ती संरक्षण गर्नका लागि उचाइ भएको तटबन्ध निर्माण गर्न खोज्दा भाँसिएको हो’, शाहले भने, ‘हामीले आयोजनासँग कुरा गरेर पुनः निर्माण गर्न सुरु गरिसकेका छौं ।’ तटबन्धको बेस ३ मिटर चौडाइमा निर्माण गरिएको थियो भने उचाई ५ मिटर रहेको छ ।

स्थानीयको चर्को मागबमोजिम आयोजनाले ५ मिटर अग्लो तटबन्ध निर्माण गरेको थियो । निर्माण व्यवसायी शाहले एक सातभित्रै भासिएको भाग मर्मत गरिसक्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.