पानी माग्दै धान दिवस

पानी माग्दै धान दिवस

धनगदी :  कैलालीका किसानहरूले इन्द्रसँग पानी माग्दै धान दिवश मनाएका छन् । खेतभरि पानी भरिएर रोपाइँ गर्न अप्ठेरो हुने समयमा खडेरी परेपछि किसानहरूले पानी परोस् भन्ने कामना गर्दै धान दिवश मनाएका हुन् । थारू समुदायका किसानले सेतो लुगा लगाउँदै सजना (थारू भाषाको गीत) गाएर इन्द्रसँग पानीको याचना गरेका छन्् ।

‘थारू समुदायमा असार १५ भनेको ठीक आधा रोपाइँ सकिने समय हो, तर जिल्लामा अहिलेसम्म ४० प्रतिशत पनि रोपाइँ भएको छैन । जमिनमा सिँचाइको व्यवस्था नभएको र पानी नपरेका कारण खेत बाँझै छन् । त्यसैले पनि किसानहरूले पानीको याचना गर्दै सजना गाएर धान दिवश मनाएका हुन्’, हसुलियाका किसान बुधराम चौधरीले भने । उनले पानी नपरेकाले बोरिङमा पनि पानी आउन छोडेको बताए ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीका अनुसार विगतका वर्षमा जिल्लामा असार १५ सम्म ६० प्रतिशत रोपाइँ हुने गरेकोमा अहिले जिल्लाभर ३० प्रतिशत पनि रोपाइँ पुगेको छैन । ‘संघीय सरकारले कैलालीको हसुलियालाई धान ब्लक घोषणा गरेको छ, तर डेढ सय बिघाको त्यो ब्लकमा २० प्रतिशत किसानले पनि रोपाइँ गर्न पाएका छैनन्’, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले भने ।

‘गत वर्षमा पानी कम परोस् भन्ने कामना गर्दै हलो उल्टो पारेर गाडिन्थ्यो, यस वर्ष धेरै वर्षपछि सजना गाइएको छ’, कैलारी गाउँपालिकाका अर्का किसान कमल चौधरीले भने । ‘थारू समुदायमा असारमा पानी बढी परेको वर्ष रोपाइँ गर्न असहज हुने भएकाले हलो उल्टो गाडेर पानी कम पर्ने कामना गरिन्थ्यो ।

यस वर्ष चर्को घाममा धान दिवश मनाइएको छ । प्रदेश सरकारका सबै मन्त्री, सभामुखले विभिन्न ठाउँ गई धान दिवशमा सहभागिता जनाए । प्रदेश ७ का सभामुख अर्जुनबहादुर थापा र निर्मला बडालले कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित किसानको खेतमा गएर रोपाइँ गरेका छन् । प्रतिनिधिसभा सदस्य लालबहादुर खड्का, प्रकाश रावल, तारा लामा तामाङ, मानबहादुर सुनार, महेशदत्त जोशीलगायतकाले धान दिवस मनाएका छन्् ।

बैतडीमा देउडामय धान दिवस

मानो रोपेर मुरी उब्जाउने दिनको रूपमा मनाइने धान दिवस बैतडीका विभिन्न स्थानमा देउडासहित मनाइएको छ । जिल्लाको धान धेरै फल्ने स्थानको रूपमा चिनिएको पाटनमा शुक्रबार किसानहरूले बाजागाजा र देउडासहित मनाएका छन्् । हिलोमा धान रोपिरहेका रोपारहरूले सुरिलो भाकामा देउडा गाउँदै रोपाइँ गरेका छन्् । प्रदेश ७ का पहाडी जिल्लामा रोपाइँ गर्दा असारे गीतको रूपमा देउडा गाउने चलन रहेको स्थानीय संस्कृतिका जानकार चन्द्रमोहन तिवारी बताउँछन् । उनले भने, ‘असारको महिना रोपाइँ गर्दाको मजा बेग्लै हुन्छ । महिलाहरूले देउडा भाकामा असारे गीत गाउँछन््् । हलीहरूले हिलोमा रोपाइँ गर्दाको दृश्य नै बेग्लै हुन्छ ।’ धान दिवसका लागि पाटन पुगेका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पनि रोपारहरूसँगै ड्यौडा गीत गाउँदा वातावरण झन् रमाइलो बनेको थियो । गोरु जोतेर हलिहरूलाई साथ दिएका प्रमुख जिल्ला अधिकारी जोशीले देउडा गीत गाएर रोपारहरूलाई पनि साथ दिए । उनले भने, ‘देउडा हाम्रो प्राण हो । रोपाइँ गाउने देउडा अन्य बेलाको भन्दा फरक हुन्छ । रोपाइँका बेला गाइने देउडा कृषिसँगै जोडिएको हुन्छ ।’

बैतडीमा ९ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको छ । अहिलेसम्म ४० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पछिल्लो समय किसानहरूले धान खेतीमा आधुनिकीकरण ल्याइसकेका जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले बताए । उनले भने, ‘पहिला पहिला धान दिवस मनाउने खासै चलन थिएन् । तर, असारे गीत भने प्रशस्त मात्रामा घन्किन्थे । अहिले औपचारिक रूपमा धान दिवस मनाउँदा सरकारी कार्यालयका प्रमुखहरूको समेत सहभागिता हुने गरेको छ । यसले किसानहरूलाई झन् हौसला बढाएको छ ।’

असारको महिना धान रोप्दा महिलाहरूलाई थकान महसुस नहोस् भन्ने उद्देश्यले पनि गीत गाएर रोप्ने चलन चलेको हुन सक्ने पाटनकी किसान गीता विष्टले बताइन् । उनले भनिन्, ‘पछिल्लो समय देउडा गाउने चलन कम हुँदै गएको छ । रोपाइँ मनाउने चलनले यस्ता संस्कृतिको संरक्षण मात्रै गरेको छैन, हामीलाई कृषि कर्ममा लाग्न प्रेरणा दिएको छ ।’

बझाङमा ८५ प्रतिसत रोपाइँ

पुरुषहरूले खेत रोप्ने बनाएपछि महिलाहरूको एक हुल आएर बीउका मुठा खेतमा फालिन्छ । एकछिनपछि सबै महिला एकछेउ भएर रोप्न थाल्छन् । रोपाइँ सुरु गरेको केही मिनेटमै रोपारेहरूले स्थानीय भाकामा गीत गुन्जाउन थाल्छन् । बझाङका महिला असार महिनामा खेती रोप्दा प्रायः परम्परागत देउडा भाकामा दुःख सुखका गीत गाउने गर्छन्् । ‘रोपाइँमा सधैं महिलाहरूले गीत गाएरै रोप्ने प्रचलन छ’, पिखेतकी प्रेमजला थापाले भनिन् । ‘रोपाइँमा रोपारे र हली बाउसे रमाइलो गर्ने गछन्् ।’ बझाङमा यस वर्ष पानी छिटो परेकाले पनि जिल्लाका प्रायः स्थानमा रोपाइँ सकिन थालेको छ । थलाराजस्तै झोता देउरा बंगोल, जुजी, छान्ना देवल, मटेलामा रहेको खेतीयोग्य जमिन तथा जिउलाहरूमा रोपाइँ हुँदै छन्् । असारको समयमा परदेशबाट पनि लोग्ने मानिसहरू घर आउने चलन भएकाले यहाँ असारे खेती लगाउने कामलाई धेरै महत्व दिने गरिन्छ ।

बझाङमा भने जेठको अन्तिम सातादेखि रोपाइँ सुरु भएको हो । नदी किनारका खेतहरूमा कुलो लगाएर सिँचाइ हुने हुदाँ ८५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि कार्यालय बझाङका प्रमुख राजेश केसीले बताए । 
शिवराज भट्ट, कैलाली /जगदिश रोकाया, बझाङ/ भगिरथ अवस्थी, बैतडी/ भागेश्वरी शाह, कञ्चनपुर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.