लकिङ प्रणाली प्रयोग : रोकियो ट्यांकरबाट हुने इन्धन चोरी
काठमाडौं : इन्धनको ट्याँकरबाट विभिन्न बहानामा हुने चोरी घटनालाई नियन्त्रण गर्न सुरु गरिएको लकिङ प्रविधि जडानले चोरीका घटना पूर्ण रुपमा बन्द भएको नेपाल आयल निगमले दावी गरेको छ। ट्याँकर चालकहरुले विभिन्न प्राविधिक बिषयमा रहेका स साना छिद्रलाई मौकामा परिणत गरी नाजायक रुपमा ट्याँकरबाट मापदण्डभन्दा बढी आफुखुशी इन्धन चोरी गर्दैआएका थिए।
निगमकाअनुसार ‘टेम्परेचर लस ड्युटी टु ट्रान्जिट’ र ‘क्लेमेवल लस’ को नाममा नाजायज रुपमा हुने इन्धनको चोरी ह्वात्तै घटेको छ। टेम्परेचर लस ड्युटी टु ट्रान्जिटको नाममा हुने इन्धन चोरीको घटना पूर्ण रुपमा बन्द भएको छ भने क्लेमेवल लसको नाममा हुने इन्धनको नाजायज माग पनि करिब शुन्यमा घटेको छ। यो सबै फायदा ट्याँकरमा लगाइएको लकिङ प्रविधि जडानका कारण सम्भव भएको हो।
ट्याँकरमा लकिङ प्रविधि जडान नहुँदासम्म ट्याँकर चालकहरुले टेम्परेचर लसको नाममा नाजायज रुपमा २० हजार लिटरको ट्याँकरबाट झण्डै ४० देखि सय लिटरसम्म चोरी गरी आफुखुशी बिक्री गर्दैआएका थिए। ‘तर लकिङ प्रणाली जडान भइसकेपछि अहिले मापदण्डले तोकेको बैज्ञानिक टेम्परेचर लसबाहेक थप लस पूर्ण रुपमा बन्द भएको छ,’ निगमका प्रवक्ता बीरेन्द्र गोइतले अन्नपूर्ण पोष्टसँग भने,‘टेम्परेचर लस बढी देखाएर बाटोमै आफुखुशी ट्याँकरबाट इन्धन झिक्ने अवैध गतिविधिमा पनि रोक लागेको छ।’
गोइतकाअनुसार लकिङ प्रविधि जडानका कारण इन्धनको समग्र ढुवानी प्रक्रियामा अहिले ९५ प्रतिशत इन्धन चोरी र क्लेमेवल लसको समस्या समाधान भएको छ। ‘इन्धन ढुवानी प्रक्रियामा अब बाँकी रहेको ५ प्रतिशत हाई इररलाई पनि निगरानीमा राखेर बैज्ञानिक रुपमा बिश्लेषण गरी त्यसलाई पनि समाधान गर्न लागेका छौं,’ गोइतले भने। लकिङ प्रविधि जडानका कारण अहिले जति परिमाणमा इन्धन लोड भएर हिडेको छ, डिपोसम्म करिब मापदण्डकै हाराहारीमा मात्रै नोक्सान भएर इन्धन पुग्ने गरेको निगमको दावी छ।
लकिङ प्रविधि जडानका कारण ट्याँकर चालकले अहिले ट्याँकरको ताल्चा फोड्न सक्दैंनन्। जसले गर्दा इन्धन चोरीको घटना करिब पूर्ण रुपमा रोकिएको छ। निगमका प्राविधिक अधिकृत उपेन्द्र सुवेदीकाअनुसार निगमले बैज्ञानिक आधारमा ०.७५ लिटर प्रति किलोलिटरमा टेम्परेचर लस ड्युटी टु ट्रान्जिट शिर्षकमा नोक्सानीको दर तोकेको छ। अन्य मुलुकमा पनि यस्तै मापदण्ड कार्यान्वयनमा छ। अर्थात २० हजार लिटरको ट्याँकरमा भएको इन्धन एक डिग्री तापक्रम कम हुँदा टेम्परेचर लस ड्युटी टु ट्रान्जिट अन्तर्गत डिजेल र मट्टितेलमा १५ लिटरसम्म बैज्ञानिक रुपमा नोक्सानी हुन्छ। पेट्रोलमा भने २१ लिटरसम्म नोक्सानी हुन्छ। यो नोक्सानीलाई मापदण्ड बनाएर निगमले चालकले ढुवानी गर्दा यति परिमाणमा नोक्सानी हुँदा मिनाहा गर्दै आएको छ। मापदण्डभन्दा बढी नोक्सानीलाई अवैध मानिएको छ।
निगमकाअनुसार ट्याँकरबाट वार्षिक रुपमा करोडौं मूल्यबराबरको ठूलो परिमाणमा हुने इन्धन चोरी, चुहावट र गुणस्तरमा आउने कमीलाई नियन्त्रण गर्न इण्डियन आयल कर्पोरेशन(आईओसी) को आर्थिक तथा प्राविधिक सहयोगमा ट्याँकरमा लकिङ प्रविधि जडान गर्ने काम सुरु भएको छ। भारतीय डिपोमा जाने ट्याँकरमा इन्धन लोड गरेपछि त्यही ताल्चा मार्ने काम हुन्छ। त्यो ताल्चाको एउटा साँचो इन्धन लोड लिने भारतीय डिपोसँग हुन्छ। अर्को साँचो नेपालीको जुन डिपोमा इन्धन खन्याउने हो, त्यो डिपोसँग हुन्छ। यसरी गन्तव्यमा पुगेका ट्याँकरको ताल्चा डिपोका कर्मचारीले मात्रै खोल्न पाउनेछ। यस्तै डिपोबाट इन्धन बोकेर पम्पसम्म जाने ट्याँकरमा पनि यस्तो लकिङ प्रविधि जडान गरिएको छ।
नेपालमा एक हजार आठ सयको संख्यामा इन्धन बोक्ने ट्याँकर सञ्चालनमा छ। यसमध्ये चारआली क्षेत्रको सतप्रतिशत, अमलेखगञ्जको ६५, काठमाडौंको ९८, थानकोटको ७०, भैरहवाको ५०, नेपालगञ्जको ७० र धनगढीका ७० प्रतिशत ट्याँकरमा लकिङ प्रविधि जडान भइसकेको छ। यसबाहेक जनकपुर, पोखरा, बिराटनगरका ट्याँकरमा लकिङ प्रविधि जडान गर्न बाँकी छ। आईओसीले विभिन्न चरणमा उपलब्ध गराउने लकिङ प्रविधिको आधारमा ट्याँकरमा लकिङ प्रविधि जडान गर्ने काम भइरहेको छ।
यसरी बढाइन्छ अवैध रुपमा टेम्परेचर नोक्सानी
सुवेदीकाअनुसार जनघनत्वको आधारमा ट्याँकर र इन्धन जति तातो हुन्छ, इन्धनको मात्रा उति बढी बढ्छ। ट्याँकर र इन्धन जति चिसो हुन्छ, इन्धनको मात्रा त्यति कम हुँदै जान्छ। ट्याँकर चालकहरुले यही प्राविधिक बिषयबस्तुलाई नाजायज रुपमा प्रयोग गरी इन्धन चोरी गर्दैआएका थिए। चालकहरुले बैज्ञानिक रुपमा प्राप्त गरेको एक डिग्रीसम्मको प्राविधिक नोक्सानीलाई बृद्धि गरी दुईदेखि सात डिग्रीसम्मको नोक्सानी वापतको इन्धन ट्याँकरबाट चोरी गर्दैआएका थिए।
निगम स्रोतकाअनुसार ट्याँकर चालकहरुले मापदण्डभन्दा बढी परिमाणमा टेम्परेचर नोक्सानी शिर्षकमा इन्धनको नोक्सानी भएको देखाएर अवैध रुपमा अधिकतम सय लिटरसम्म निकालेर चोरी गर्दैआएका थिए। बढी नोक्सानी देखाउन चालक र ढुवानी ठेक्केदारहरु मिलोमतो गरी लोड भइसकेको ट्याँकरहरुलाई बीच बाटोमा रोकेर चिसो पानीले भिजेको बोराले ढाक्ने, पानीले मज्जाले भिजाउने, आइस(बर्फ) ले छोप्ने कार्य गर्दैआएका थिए। यसले गर्दा ट्याँकर र इन्धनको तापक्रम घटाउन सहयोग गर्छ।
‘यसरी परीक्षणको क्रममा उक्त ट्याँकर र इन्धनको तापक्रम चार डिग्री भेटियो भने एक डिग्रीसम्मको नोक्सानी चालकले मापदण्डअनुसार नै पाउँछन्,’ सुवेदीले भने,‘तर बढी देखिएको तीन डिग्री वापत डिजेल र मट्टितेलतर्फ ४५÷४५ लिटर र पेट्रोलतर्फ ६३ लिटर अतिरिक्त इन्धन नोक्सानी देखाएर चालक र ढुवानीकर्ताले उक्त परिमाणको इन्धन ट्याँकरबाट चोरेर आफुखुशी बिक्री गर्दैआएको विभिन्न समयमा गरिएको अध्ययनले देखाएको छ।’
निगम स्रोतकाअनुसार बढी नोक्सानी देखाउन चालक र ढुवानी ठेक्केदारहरुले निगमले कुन ट्याँकरको परीक्षण लिन्छ भनेर पहिले नै पत्ता लगाउँछ। यसरी ट्याँकरको बारेमा पत्ता लागेपछि सामुहिक रुपमा चालक र ढुवानीकर्ताले मिलोमतो गरी परीक्षण हुने भनिएको लोड भइसकेको ट्याँकरहरुलाई बीच बाटोमा रोकेर चिस्याएर परीक्षण हुने लाइनमा प्रवेश गराएर बढीभन्दा बढी नोक्सानी देखाउने प्रयास गरिन्छ।
००क्लेमेवल लस झ¥यो शुन्यमा००
इन्धन लोड भएको ट्याँकर चालक र ढुवानीकर्ता ठेक्केदारले मिलोमतो गरी गर्दैआएको क्लेमेवल लस(दावी नोक्सानी) पनि लकिङ प्रणाली जडानका कारण शुन्यमा झरेको निगमले दावी गरेको छ। इन्धन लोड गरी हिडेको ट्याँकरमा भएको इन्धन डिप (गहिराई) नाप्ने काम निगमले गर्छ। गहिराई नाप्ने क्रममा करिब सय लिटर कम परिमाणमा इन्धन भेटियो भने निगमले ४० लिटर नोक्सानी वापत मिनाहा गर्छ। तर सयबाट ४० घटाएर बाँकी रहेको ६० लिटर निगमलाई घाटा पर्ने हुँदा निगमले उक्त ६० लिटर वापतको रकम चालक र ढुवानीकर्ता ठेक्केदारबाट असुल्ने प्रावधान छ। ‘तर अहिले यो क्लेमेवल लस वापतको दर पनि आश्चर्यजनक रुपमा शुन्यमा झरेको छ,’ प्रवक्ता गोइतले भने। उनकाअनुसार इन्धनको कूल परिमाणमध्ये १ प्रतिशतभन्दा बढी क्लेमेवल लस आयो भने निगमले सम्बन्धित ढुवानीकर्ताको पीडीओ(प्रडक्ट डेलिभरी अर्डर) रोकेर स्पष्टीकरणसम्म लिने गरेको छ।
००००
क्याप्सन
इण्डियन आयल कर्पोरेशनले उपलब्ध गराएको लकिङ प्रविधि नेपाली नम्बरको ट्याँकरमा जडान गरिदैं।
प्रतिक्रिया दिनुहोस !