तयारीभन्दा हरियो पत्ती महँगो
इलाम/ ताप्लेजुङ : इलामका चिया किसानले कारखानाबाट प्रशोधन भई बिक्री हुने चियाभन्दा हरियो पत्तीको मूल्य बढी पाएका छन् । कारखानाले मागेको मापदण्डको चिया दिन सके हरियो चियापत्ती प्रतिकिलो १ हजार रुपैयाँमा खरिद गर्ने गरेको इलाम नगरपालिका–४ मलातेका किसान दीपेन्द्र दुलालको भनाइ छ ।
उनका अनुसार सन्डाकफु टी प्रोसेसरले सुइरो मात्र भएको अग्र्यानिक चिया बिक्री गर्ने किसानलाई प्रतिकिलो १ हजार रुपैयाँ भुक्तानी गर्ने गरेको हो । डेढ रोपनी जग्गामा अग्र्यानिक चिया खेती गरेका दुलालले वार्षिक ३० हजार खुद नाफा गर्ने गरेको सुनाए । सीमित जमिनमा भए पनि चार वर्षदेखि अग्र्यानिक चिया खेती गरेका उनले दुई पात एक सुइरोको चिया प्रतिकिलो २ सय ८० रुपैयाँभन्दा कममा बेच्नु नपरेको बताए ।
विषादीयुक्त खेती गर्ने चिया किसानले बढीमा ६० भन्दा माथि हरियो पत्तीको मूल्य पाएका छैनन् । सूर्योदय नगरपालिकाले त यस्तो चियाको मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेको छ । बिचौलिया र कारखनाले सूर्योदय क्षेत्रको चियाका लागि ल्याएको मापदण्डले किसानलाई घाटा हुने भन्दै विरोध गरिरहेका छन् । नगरपालिकाले भने नीति तथा कार्यक्रममै चियाको मूल्य र गुणस्तर सुधार्ने योजना बनाएको मेयर रणबहादुर राईले बताए ।
मलातेकै तेजप्रसाद दुलालले चार रोपनी क्षेत्रमा अग्र्यानिक खेती गरेर मासिक ३२ हजारको चिया बिक्री गर्ने गरेका छन् । ‘अग्र्यानिक चियामा खास खर्च छैन । आम्दानी पनि निकै राम्रो हुन्छ ।’
चार रोपनीबाट वार्षिक १ सय किलो चिया उत्पादन गर्ने उनले श्रमिकलाई दैनिक २ सय ५० रुपैयाँ ज्याला दिने गरेका छन् । श्रमिकले दैनिक दुई किलोसम्म चिया टिप्छन् । मलातेका ४६ परिवारले आठ वर्षदेखि चियामा अग्र्यानिक अभ्यास जारी राखेको दीपेन्द्रले बताए ।
कारखनाले मुना प्रतिकिलो १ हजार, एक पात एक सुइरोको २ सय ८०, दुई पात एक सुइरोको १ सय ८० र हुर्केको चिया ६० रुपैयाँमा खरिद गर्ने गरेका छन् । सन्डकफु टी प्रोसेसरका सञ्चालक चन्द्रभूषण सुब्बाले भारत र चीनसँग नेपाली चियाले परिमाणमा प्रतिस्पर्धा गर्ने अवस्था नरहेकाले गुणस्तर सुधारका लागि किसानलाई फाइदा हुने मूल्य प्रदान गरिएको जानकारी दिए । अग्र्यानिक चिया तेस्रो मुलुकमै बिक्री हुने भएकाले गुणस्तरअनुसारको मूल्य उद्योगले पनि पाउने गरेको उनको भनाइ छ । ‘कुनै चिया २ हजार (प्रतिकिलो)मा बिक्छ, कुनै २ सयमा मात्रै बिक्न सक्छ’, उनले भने, ‘चियाको मूल्य त्यसको गुणस्तरमा भर पर्छ ।’
किसानलाई प्रतिकिलो २५ रुपैयाँसम्म नाफा हुने गरेको जनाइएको छ । इलामका इलाम नगरपालिका, देउमाई नगरपालिकाका किसान र कारखाना अग्र्यानिक खेतीतर्फ आकर्षित बन्दै गएको चियाविज्ञ आरसी नेपालको भनाइ छ । उनका अनुसार इलामका ६ कारखानाले करिब १ हजार किसानका २ सय १० हेक्टर जमिनलाई अग्र्यानिक प्रमाणीकरण गरेका छन् । इलाम नगरपालिका–१ को हिमालय सांग्रिला, सूर्योदय नगरपालिकाको गोर्खा टी स्टेट, देउमाई नगरपालिका जितपुरको मिस्टभ्याली, इलाम नगरपालिकाकै सन्डाकफु टी र जसवीरे चिया प्रशोधनलगायतले किसानको बगान नै अग्र्यानिक प्रमाणीकरण गरेका हुन् ।
पाँचथरको कञ्चनजंघा टी स्टेट र धनकुटाको गुराँसे टी स्टेटे पनि अग्र्यानिक चिया उत्पादन गरिरहेका छन् । अस्टे«लियाको नासा, स्विट्जरल्यान्डको इकोसट अनि आईएमओ र जर्मनीको सेरेस संस्थाले नेपाली चिया अग्र्यानिक प्रमाणीकरण गर्ने गरेका छन् । यस्तो चिया उत्पादन कठिन भए पनि किसानले राम्रो मूल्य पाइरहेको सुब्बाले बताए ।
अग्र्यानिक प्रमाणित भएको चिया जर्मनी, फ्रान्स, चेक रिपब्लिक, क्यानडा, अमेरिका, अस्ट्रेलिया, अमेरिका, जापान, चीनलगायत देशमा राम्रो मूल्यमा बिक्री हुने गरेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका र देउमाई नगरपालिकाका चिया किसान र कारखाना प्रमाणीकरण प्रक्रियामा रहेको कारखानाले जनाएका छन् । अग्र्यानिक प्रमाणीकरण गर्न ५ लाखजति खर्च लाग्ने नेपालले बताए ।
अलैंची छाडेर चियामा
ताप्लेजुङका किसान चिया खेतीतर्फ आकर्षित हुन् थालेका छन् । मुलुकमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लामा पछिल्लो समय चिया लगाउने क्रम बढ्दो छ ।
चिया तथा कफी विकास बोर्डले २१ वर्षअघि गरेको परीक्षणले ताप्लेजुङको माटो र हावापानी चियाका लागि उपयुक्त रहेको निष्कर्ष निकालेको थियो । त्यस बेला सबै किसान अलैंचीतर्फ लागेकाले चियाको खेती हुन नसके पनि अहिले बढ्दै गएको फुङलिङ नगरपालिका–४ स्थित पाथीभरा चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष विदुर भट्टराईले बताए ।
‘अलैंचीको मूल्य क्रमशः घट्दै गएको र रोग, किराको संक्रमणसमेत बढ्न थालेपछि चिया लगाउने बढेका हुन्’, उनले भने, ‘केहीले भने अलैंची नहुने ठाउँमा चिया रोपेर दुवैलाई अघि बढाएका छन् ।’
फुङलिङ नगरपालिकाका वडा नम्बर ६, ९, १० र ११ मा पानीको सुविधा कम भएको ठाउँमा चिया र अरूमा अलैंची रोप्ने क्रम बढेको सहकारीका व्यवस्थापन सदस्य मोहन राईले बताए । सहकारीले फुङलिङ–९ मा २ सय रोपनी जग्गा खरिद गरी २०५४ सालमा चियाको व्यावसायिक खेती सुरु गरेको थियो । त्यही चियाले तीन वर्षयता उत्पादन दिन थालेको हो । गत वर्ष ७ सय किलो उत्पादन भएको थियो । ‘पहिलो वर्ष उत्पादन भएको चिया गुणस्तर परीक्षणका लागि डेनमार्क पठाएका थियौं’, भट्टराईले भने, ‘उसले गरेको परीक्षणमा गुणस्तर प्रमाणित भएको थियो ।’
उनका अनुसार डेनमार्कका व्यवसायीले वार्षिक ३० हजार टन माग गरे पनि पूर्ति गर्न सकिएको छैन । यहाँ उत्पादित चिया अहिले जिल्ला घुम्न आउने पर्यटक र विदेशमा बस्ने नेपालीले कोसेलीका रूपमा लैजाने गरेका छन् । अग्र्यानिक चिया प्रतिकिलो २ हजार ५ सय रुपैयाँमा बिक्री हुँदै आएको छ । चिया प्रशोधन केन्द्र स्थापना गर गत वर्षदेखि सहकारीले नै प्रशोधनसमेत गर्ने गरेको छ ।
फुङलिङ–१० फुरुम्बुमा वेधनिधि पौडेल, नारायण गुरुङ र बादल गुरुङले डेढ सय रोपनीमा चियाका बिरुवा लगाएका छन् । जिल्लामा चिया खेती हुने क्षेत्रको यकिन तथ्यांक नभए पनि नगरपालिका र सिदिङवा गाउँपालिकामा बढी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । फुङलिङ नगरपालिकाले चियाको प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने मेयर छत्रपति प्याकुरेलले बताए ।