तलब दिलाइदिन दौडधूप

तलब दिलाइदिन दौडधूप

भोजपुर : एक वर्ष बितिसक्दा पनि तलब नपाएको भन्दै वडा कार्यालयमा कार्यरत कर्मचारीले सरोकारवाला निकायमा हारगुहार मागेका छन्। षडानन्द नगरपालिकाका वडा नम्बर २, १०, ११ र १२ मा कार्यरत पाँच जना करार कर्मचारीले गत साउनदेखि तलब नपाएको जनाइएको छ।

उनीहरूले हालै जिल्ला प्रशासन, जिल्ला समन्वय समितिलगायत निकायमा तलब दिलाइदिन निवेदन दर्ता गराएका छन्। वडा नम्बर ११ र १२ देउरालीमा करारमा कार्यरत खरिदार मुक्तिप्रसाद घिमिरे, कार्यालय सहयोगी खगेन्द्रकुमार घिमिरे, अर्का कार्यालय सहयोगी सन्तोष कार्की, वडा नम्बर २ कुदाककाउलेका खरिदार शिवप्रसाद घिमिरे र वडा नम्बर १० साम्पाङ कार्यालय सहयोगी धर्मानन्द काफ्लेले तलब नपाएको जनाइएको छ।

वडा कार्यालयले हाजिरी प्रमाणीकरणसँगै अन्य कागजातसमेत नगरपालिकामा पठाइसके पनि तलब नपाएको उनीहरूको गुनासो छ। खरिदार घिमिरेले आफूहरूले गत साउनदेखि तलबका साथ नियुक्तिपत्रसमेत नपाएको बताए। ‘मेयर र प्रशासकीय अधिकृतसँग तलब, भत्ताको कुरा गर्दा हुन्छ, भइहाल्छ भनेर टार्नुहुन्छ’, उनले भने, ‘हामीले पाउने तलब सुविधाको नामनिशाना नै छैन।’

उपमेयर मेरिका राईले करारका कर्मचारीको तलबसहित सेवा–सुविधा दिलाउने पहल भइरहेको बताइन्। नगरपालिकाले ०७४ साउन महिनाबाटै नियुिक्त दिने निर्णय गरे पनि तत्कालीन प्रमुख प्रशासकीय अधिकृतका कारण तलब, भत्तासमेत वितरण गर्न समस्या भएको उनको भनाइ छ।

‘हामीले उहाँहरूलाई तलब दिलाइदिन पहल गरिरहेका छौं’, उनले भनिन्, ‘यसका लागि हामीले मन्त्रालयमा पत्राचारसमेत गरेका छौं।’ यसअघि कार्यालयमा अढाई महिनामै सरुवा भइजाने प्रशासकीय अधिकृतको परिपाटीले गर्दा नियुक्तिपत्र दिन पनि समस्या भएको उनको भनाइ छ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले कर्मचारीलाई तलब, भत्ता खुवाउन पहल भइरहेको बताएका छन्। आन्तरिक मामिलाका कारण केही समस्या रहेकाले त्यसलाई समाधान गरी अघि बढ्न पहल गरेको उनले सुनाए। भने, ‘पहिलेदेखि काम गरिरहेको र अन्य बैठकबाट भत्ता पाइराखेकोले नगरपालिकाले उहाँहरूको तलब रोक्न मिल्दैन।’

प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले पनि ती करार कर्मचारीको ‘तलब दिलाई पाऊँ’ भनी आएको निवेदनबारे सत्य–तथ्य अध्ययन गरेर काम अघि बढाइने बताइन्। ‘ती पाँच जना करार कर्मचारीले तलब नपाएको भन्दै प्रशासनसम्म निवेदन आएकोले नगरपालिकासँग के, कति कारणले तलब भत्ता नपाएको भन्ने विषयमा सोधपुछ गरेर मात्र काम अगाडि बढाइनेछ’, उनले भनिन्।

गत फागुन १३ गतेबाट प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका रामप्रसाद वाग्लेले आफ्नो कार्यकालदेखिको तलब, भत्ता दिलाउन सक्ने भए पनि त्यसअघिको विषयमा केही गर्न नसक्ने बताइएको उनीहरूले गुनासो गरे। यस विषयमा कुराकानी गर्न खोज्दा वाग्लेसँग सम्पर्क हुन नसकेको जनाइएको छ।

यसअघि सरुवा भएर जाने प्रमुख प्रशासकीय अधिकृतहरू जयनारायण खनाल र चन्द्र कार्कीको कार्यकालको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि नगरपालिकाको काममा ढिलाइ भएको उपमेयर राईले स्वीकार गरिन्। खनालको कार्यकालमा वडा नम्बर ८, दिङ्लामा विद्युत् विस्तार गर्ने क्रममा अनियमितता गरेको विषय र कार्कीको कार्यकालमा औषधि खरिदको विषयलाई लिएर अख्तियारले फाइल नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.