साना योजनामा सकिँदै सांसदको सवा करोड

साना योजनामा सकिँदै सांसदको सवा करोड

जनकपुरधाम : चालू आर्थिक वर्ष सकिन लाग्दा प्रदेश २ का प्रदेशसभा सदस्य (सांसद)लाई निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम सक्न भ्याइनभ्याइ छ। प्रदेश सरकारले चालू आवभित्र खर्च गर्ने गरी सांसदलाई १०÷१० लाख रुपैयाँ विनियोजन गरेको थियो। तर, चौमासिक बजेटबाट मात्र प्राप्त रकम खर्चिन उनीहरूलाई सकस देखिएको छ।

निर्वाचन क्षेत्र विकासका लागि पाएको १० लाख बजेटको काम असारभित्र नसकिए फ्रिज हुने भएकाले धमाधम रकम छर्ने काम भइरहेको छ। प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधि गत जेठ १८ गते मात्र स्वीकृत भएकाले हतारमा उपभोक्ता समिति बनाएर काम गराउन थालेको जनाइएको छ। धनुषाका १३ प्रदेश सांसदले विकासका नाममा झारा टारेर खल्ती भर्नेदेखि कार्यकर्ता पाल्नेसम्मका काम गरिरहेको सरोकारवालाको भनाइ छ।

सांसदहरूले जेठ २२ गते जिल्ला प्राविधिक कार्यालय धनुषामा योजनाको विवरण उपलब्ध गराएका थिए। ३ लाखदेखि १० लाखसम्मको योजना रहेको प्राविधिक कार्यालयका निमित्त प्रमुख महेन्द्र महतोले बताए। ‘योजना नै ढिलो आएकाले समयमा काम सक्न समस्या भएको हो’, उनले भने, ‘कतिपय सांसदले यति थोरै समयमा गर्न नसकिने योजना पनि ल्याउनुभएको छ।’ अनुगमनबाट सही ठहरिए मात्र रकम भुक्तानी दिने उनको भनाइ छ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको १ करोड ३० लाख बजेट प्राविधिक कार्यालयका नाममा निकासा भइसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। बिल भुक्तानी असार २५ गतेसम्म मात्र दिन पाइने प्रावधान रहेको जनाइएको छ। दुई सांसदले हालसम्म तीनवटा कार्यक्रम सम्पन्न भएको भन्दै अनुगमनमार्फत प्रमाणित गराएका छन्। कांग्रेसकी प्रमिलादेवी दास र सरस्वती चौधरीले तालिम सञ्चालन गरेको कार्यक्रम बिल पेस गरेका हुन्।

चालू आव सकिन लाग्दा नातागोता र कार्यकर्तालाई उपभोक्ता समितिमा राखेर रकम सक्ने काम भइरहेको जनाइएको छ। मिथिलाबिहारी नगरपालिका–७ स्थित हनुमान मन्दिरका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले ४ लाख रुपैयाँ दिएका छन्। मन्त्री यादवले दिएको बजेटबाट मर्मतको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष राघवेन्द्र यादव बताउँछन्। लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनीमा १० लाख लागतमा पर्खाल निर्माणको काम भइरहेको छ। यहाँका लागि नेकपाकी अनितादेवी यादवले कार्यकर्ता रामविलास यादवलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर काम गराइरहेको जनाइएको छ।

अर्थविद् डा. सुरेन्द्र लाभ सांसदले सोझै खर्च गर्ने गरी रकम उपलब्ध गराउनु गलत रहेको बताउँछन्। ‘पहिला पनि केन्द्रबाट विनियोजित हुने रकम दुरुपयोग भएको थियो’, उनी भन्छन्, ‘त्यसको मूल्यांकनै नगरी प्रदेश सरकारले केन्द्रको गलत नीतिलाई निरन्तरता दिनु उपयुक्त होइन।’ सांसदले खर्च गरेको रकमको अनुगमनका लागि आयोग गठन गरी अनुचित कार्यमा खर्चिएको पाइए दण्डित गरिनुपर्ने लाभको भनाइ छ।

नेकपाका किशोरी साहले सबैला नगरपालिका–१२ र धनुषाधाम नगरपालिका–३ मा कल्भर्ट बनाउन २ लाख, सबैला नगरपालिका–१२ खैर्बोना र गणेशमान चारनाथ नगरपालिका–११ शंकरपुरमा कुलो जीर्णोद्धारमा २ लाख, सबैला–१० खरिहानीमा विद्यालय पर्खाल बनाउन २ लाख, गणेशमान चारनाथ–९ बरमझियास्थित मदरसामा २ लाख, सबैला–४ बाल्टियास्थित विद्यालयमा १ लाख ५० हजार रुपैयाँ छुट्याएका छन्। कांग्रेसकी दासले सामुदायिक भवनमा ४ लाख, जनकपुर उपमहानगरपालिका–१५ मा सर्फ तालिम चलाउन ३ लाख, चुडा लहठी तालिमका लागि २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेकी छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुर–१९ मा खानेपानीका लागि २ लाख ५० हजार, मिथिला बिहारी नगरपालिका–७ मा हनुमान मन्दिरका लागि ४ लाख र मिथिला बिहारी–१ मा कुलो जीर्णोद्धार गर्न ३ लाख रुपैयाँ छुट्याएका छन्। संघीय समाजवादी फोरमका रामअशिष यादवले जनकपुर–१७ तेतरियामा मिथिला आर्ट प्रशिक्षणका लागि १ लाख, नदी नियन्त्रण गर्न औरही गाउँपालिका–१ पौडेश्वरमा ७ लाख र तेतरियामा १ लाख ५० हजारको योजना छनोट गरेका छन्।

नेकपाकी अनितादेवी यादवको १० लाख बजेटमा एउटै योजना परेको छ। उनले लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनी टोलमा सोनामाई स्थानको पर्खालका लागि १० लाख खर्चिने भएकी हुन्। कांग्रेसकी सरस्वती चौधरीले जनकपुर–१ मा सर्फ तालिमका लागि २ लाख, औरही गाउँपालिका–२ परबाहा टोलमा पाइप जडान गर्न २ लाख ५० हजार र रामेश्वर राधिका धानुक कुटी भवन बनाउन ५ लाख छुट्याएकी छन्।

राजपाका परमेश्वर साहले जनकपुर–१ मा सडक ढलान गर्न ५ लाख र मधेस समाज कल्याण केन्द्रमार्फत महिलालाई सीप विकास तथा आयमूलक तालिमका लागि ४ लाख ५० हजार छुट्याएका छन्। संघीय फोरमका शैलेन्द्रकुमार यादवले सहिदनगर नगरपालिका–७ धबौलीमा तारजालीका लागि १ लाख ३० हजार, जनकनन्दनी गाउँपालिका खजुरीमा समाधि बाबा बनाउन ३ लाख ५० हजार र कमला नगरपालिका–७ हथमुन्डामा सामुदायिक भवन बनाउन ४ लाख ७० हजार छुट्याएका छन्।

नेकपाका रामचन्द्र मण्डलले मिथिलाबिहारी–३ मिथिलेश्वर मौवाहीमा घाट निर्माणका लागि २ लाख, करहिया–तारापट्टी बाटो बनाउन २ लाख र धनुषा नगरपालिका–५ पर्वतामा सामुदायिक भवन बनाउन ३ लाख रुपैयाँ छुट्याएका छन्। धनुषाधाम नगरपालिका–१ को मंग्राहाको सामुदायिक भवनमा १ लाख र हंसपुर नगरपालिका–३ मा बाटो बनाउन १ लाख ५० हजार छुट्याएका छन्।

कांग्रेसका रामसरोज यादवले मुखियापट्टी मुसहर्निया गाउँपालिका–६ मा ५ लाख, जनकपुरमा खानेपानीका लागि २ लाख ५० हजार र तालिममा २ लाख रुपैयाँ छुट्याएका छन्। नेकपाका शत्रुघन महतोले बटेश्वर गाउँपालिका–३ मा इनार बनाउन ३ लाख, मिथिला नगरपालिका–६ मा सामुदायिक भवन बनाउन ६ लाख ५० हजार रुपैयाँ छुट्याएको जनाइएको छ। त्यस्तै, कांग्रेसका शिवचन्द्र चौधरीले सबै बजेट नगराइन नगरपालिका–२ मा खर्च गर्दै छन्। रामजानकी मन्दिरमा ६ लाख ४२ हजार, दालमोठ बनाउने तालिम दिन २ लाख ४० हजार र महिलालाई आयमूलक तालिम तथा बाख्रापालनका लागि २ लाख ४० हजार रुपैयाँको योजना उनले बनाएका छन्। संघीय फोरमकी चमेलीदेवी दासले विभिन्न ठाउँमा पाइप जडान गर्न ३ लाख ५० हजार, सबैला नगरपालिका–१० को अमर्खानास्थित हनुमान मन्दिरमा १ लाख ५० हजार र लक्ष्मीनिया गाउँपालिका–६ मा ४ लाख ५० हजार रुपैयाँको योजना छनोट गरेकी छन््।

प्रदेश २ मा आगामी आर्थिक वर्षका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम २५ लाख राखिएको थियो। तर, यो रकम निकै कम भयो भन्दै सांसदले सदनमा विरोध जनाएपछि संशोधन गरी डेढ करोड पुर्‍याइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.