दुई जिल्ला घुमेर नगरपालिका केन्द्र

दुई जिल्ला घुमेर नगरपालिका केन्द्र

धनकुटा : महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका मानबहादुर खड्का योजनाको भुक्तानी लिन भन्दै आइतबार घरबाट नगरपालिका केन्द्र जितपुर हिँडे। नगरपालिकाबाट बेलैमा काम सकी बेलुकी घर फर्किने उनको योजना थियो। तर, उनलाई नगरपालिका केन्द्र जितपुर आइपुग्न नै १२ घण्टाभन्दा बढी लाग्यो। गाडी नपाएर सिँधुवाबाट रिजर्भमा मुस्किलले बेलुकी जितपुर बजार आइपुगेको उनले सुनाए।

बर्खाको हिलाम्मे सडक अनि नगरपालिका केन्द्र पुग्न दुई जिल्ला पार गर्नुपर्ने बाध्यताका कारण वडा नम्बर ३ (साबिक डाँडागाउँ गाविस) र ४ (साविक चानुवा गाविस)का बासिन्दालाई नगरपालिकाको सेवा लिन सास्ती भएको छ। स्थानीय बासिन्दालाई नगरपालिकाको काम मात्र नभई बैंकिङ सेवा लिन पनि जितपुर बजार पुग्नुपर्छ। चानुवा र डाँडागाउँका बासिन्दा संखुवासभाको मुढेशनिश्चरे, तेह्रथुमको बसन्तपुर हुँदै जितपुर आइपुग्नुपर्छ।

मुढेशनिश्चरेबाट बस चढेपछि तेह्रथुमको बसन्तपुर आइपुग्दा दुई ठाउँमा सडक जाम परेको खड्काले सुनाए। ‘दुई ठाउँको जाम पार गर्न ६ घण्टाभन्दा बढी समय लाग्यो’, उनले भने, ‘त्यो दिन टुटेदेउराली–मुढेशनिश्चरे सडकमा ५० भन्दा बढी सवारी साधन जाममा परेका थिए।’

हिउँदका बेला बिहान घरबाट हिँडी नगरपालिकामा काम सकेर बेलुका फर्किन सकिन्थ्यो। तर, बर्खा लागेसँगै मुढेशनिश्चरेबाट बसन्तपुरको टुटेदेउरालीसम्मको बाटो हिलाम्मे हुँदा एउटा कामका लागि दुई–तीन दिनभन्दा बढी समय खर्चिन बाध्य भएको उनले बताए।

त्यस्तै, गाउँमा सञ्चालित योजनाको भुक्तानी लिन नगरपालिका कार्यालय आइपुगेकी डाँडागाउँकी मनदेवी थापाले भनिन्, ‘नगरपालिका केन्द्र आउन पनि दुई जिल्ला पार गर्नुपर्ने बाध्यता छ।’ एक्लै आउँदा खर्चिलो हुने भएकाले सामूहिक काम लिएर नगरपालिका आएको उनले सुनाइन्।

लक्ष्मी र लेगुवा खोलापारिका स्थानीयलाई नगरपालिका केन्द्र आउन तीनवटा सडक ट्र्याक खोलिएका छन् तर स्तरोन्नोति नहुँदा गाडी चलेको छैन। नामले नगरपालिका भए पनि सेवा–सुविधाका हिसाबले गाउँपालिकाजति पनि नरहेको स्थानीयको गुनासो छ।

चानुवा र डाँडागाउँका बासिन्दा संखुवासभाको मुढेशनिश्चरे, तेह्रथुमको बसन्तपुर हुँदै महालक्ष्मी नगरपालिका कार्यालय जितपुर आइपुग्नुपर्छ।

महालक्ष्मीका मेयर पर्शुराम नेपालले डाँडागाउँ र चानुवाका बासिन्दालाई नगरपालिकाको सेवा लिन सास्ती परेको स्वीकार गरेका छन्। ‘स्रोतसाधनले भ्याएसम्म हामीले काम गरिरहेका छौं’, मेयर नेपालले भने, ‘पोहोरभन्दा यस वर्ष बजेट कटौती हुँदा सडक स्तरोन्नतिको काम गर्न गाह्रो भइरहेको छ। नगरपालिकाको विकास गर्न प्रयत्न गरेका छौं।’ तर, पहाडका स्थानीय तहप्रति प्रदेश र संघीय सरकारको दृष्टिकोण फरक रहेको उनको गुनासो छ। ‘संघीय सरकार काठमाडौं उपत्यकामै रुमलियो, प्रदेश सरकार तराईका स्थानीय तहमा’, उनले भने, ‘पहाडका स्थानीय तहको विकास कसैको प्राथमिकतामा परेन।’

जितपुरबाट लेगुवा हुँदै चानुवा डाँडागाउँ पुग्न सडक निर्माण भएका छन्। बर्खा हिलाम्मे हुँदा गाडी चल्दैनन्। हिउँदमा मुस्किलले गाडी चले पनि नियमित रुट नरहेको जनाइएको छ। स्थानीयका अनुसार जितपुरबाट लेगुवासम्म गाडी पुगे पनि लेगुवा बजारबाट गाउँसम्म पुग्न गाडी भेटिँदैन। बाध्यताले माथिल्लो बाटो हिँड्नुपरिरहेको नगरपालिका आइपुगेकी डाँडागाउँकी लक्ष्मी छालाले बताइन्। उनी डेढ वर्षका नानीलाई काखी च्यापेर महिला समूहको खाता खोल्न राष्ट्रिय वाणिज्य बैंक शाखामा आएकी थिइन्। ‘एक्लै हिँड्दा त गाह्रो हुन्छ, बालबच्चासहित आउँदा झनै सास्ती भयो’, उनले भनिन्। जितपुर बजारसम्म जोड्ने सडकमा बाह्रै मास यातायात चल्ने गरी स्तरोन्नति हुनुपर्ने उनको माग छ। नगरपालिकाबाट सञ्चालित सबै योजना तथा कार्यक्रमका खाता यही बैंकमा छन्। उपभोक्तालाई योजनाको भुक्तानी मात्र होइन खाता खोल्नेलगायत अन्य काम गर्न जितपुर नै पुग्नुपर्ने बाध्यता रहेको जनाइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.