‘भद्र’ र ‘रुपसी’ को विदाइ

‘भद्र’ र ‘रुपसी’ को विदाइ

सौराहा : चीनलाई उपहारस्वरूप दिइने एक जोडी केटाकेटी मंगलबार काठमाडौं लगिएको छ। काठको खोरमा राखिएका भाले गैंडा ‘भद्र’ र पोथी गैंडा ‘रुपसी’ लाई ट्रकबाट काठमाडौं लगिएको हो। डेढदेखि दुई वर्षका भद्र र रुपसी लाई बिहीबार चीन पठाइनेछ। चीन लगिने थप दुई केटाकेटीलाई पनि छिटै काठमाडौं पठाइने जानकारी निकुञ्जले दिएको छ।

स्थानीय निकायका प्रतिनिधि र संरक्षणकर्मीले सौराहामा भद्र र रुपसीको विदाइ गरे। पहिलो चरणमा चीन लगिने भालेको नाम भद्र र पोथीको नाम रुपसी राखिएको हो। ५ फिट चौडा, १० फिट लामो र ६ फिट अग्लो काठको खोरमा मंगलबार बिहान फलफूल र घाँस राखी भद्रलाई खोरमा पस्न लोभ्याइएको थियो। ‘नयाँ खोर भएकाले भित्र पस्न अलि अप्ठेरो मानेको थियो’, भद्रको स्याहारमा खटिएका वन्यजन्तु प्राविधिक तीर्थ लामाले भने, ‘हाम्रो स्वर चिन्ने भएकाले हामीले बोलाएर खोरमा हुल्यौं।’

दुवैलाई त्यही खोरमा राखी चीन पठाइनेछ। यसअघि उनीहरूलाई खोरमा बस्ने अभ्यास गराइएको थियो। यसभन्दा पहिले स्थानान्तरण गर्दा बेहोस पारेर खोरमा गैंडा राख्ने गरिथ्यो। रुपसीलाई बिहान ३ बजे र भद्रलाई बिहान ८ बजे खोरमा राखिएको थियो। गैंडा लैजान चीनले विशेष कार्गो विमान पठाउनेछ। भद्र र रुपसीलाइै सांघाई र ग्वान्झाउस्थित पार्कमा राखिनेछ। भद्र र रुपसीसँगै दुई जना पशु चिकित्सक र तीन जना वन्यजन्तु प्राविधिक पनि चीन जानेछन्। उनीहरू त्यहाँ एक महिना भद्र र रुपसीको रेखदेखमा खटिनेछन्।

चीनलाई गैंडा उपहार दिने निर्णयले नेपालको पर्यटनको प्रचारप्रसार हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए। ‘गैंडा देखेपछि यसबारे थप जान्न पनि चिनियाँहरू आउने सम्भावना देखेको छु’, उनले भने ‘ गैंडाले नेपाल-चीन दौत्य सम्बन्ध अझै प्रगाढ बनाउँछ।’

भद्रलाई चितवन राष्ट्रिय निकुञ्जको खोरिया मुहाननजिक देवीतालबाट वैशाख १५ गते नियन्त्रण गरेर ल्याइएको हो। रुपसीलाई भने सुकिभार क्षेत्रबाट १७ गते ल्याइएको थियो। दुवैलाई दैनिक दुई दर्जन केरा, ५ किलो बन्दा, १÷१ किलो स्याउ र गाँजर आहारा दिने गरिएको छ। यसबाहेक दुवैलाई बिहान बेलुकी गरी ४० लिटर दूध पनि खुवाइने गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्जलाई दुर्लभ मानिएको एकसिङे गैंडाको सबैभन्दा बढी संख्या रहेको दोस्रो क्षेत्र मानिन्छ। देशमा रहेका ६ सय ४५ मध्ये ६ सय ५ वटा चितवनमा छन्। सरकारले यसअघि विभिन्न १० देशलाई २६ गैंडा उपहार दिइसकेको छ। पहिलो पटक सन् १९८४ मा भारतको दुधवा राष्ट्रिय निकुञ्जको प्राकृतिक वासस्थानमा नेपालबाट लगिएको गैंडा छोडिएको थियो। बाँकी २२ वटा चिडिखानामा राखिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.