अदालतले न्याय दियो, समाजले दिएन

अदालतले न्याय दियो, समाजले दिएन

 बर्दिबास : छुवाछुत र जातीय विभेदको सिकार भएकी दलित महिला बुद्धमाया विश्वकर्माले आत्महत्याको प्रयास गरेकी छन् । बुद्धमाया र उनकी छोरी मनीषामाथि दुव्र्यवहार र कुटपिट गर्नेलाई जिल्ला अदालत महोत्तरीले असार २४ गते ६ महिनासम्म कैद, जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय सुनाएपछि सामाजिक बहिष्करणका कारण उनले आत्महत्याको कोसिस गरेको खुल्न आएको छ ।

अदालतले पीडकलाई जेल हाल्ने सजाय सुनाएपछि ‘तैंले मुद्दा हालेर जेल पठाइस्’ भन्दै पीडितलाई छिमेकीले हेयपूर्ण र अपमानजनक व्यवहार सुरु गरेका थिए । छुवाछुतपछिको सामाजिक बहिष्करणबाट प्रताडित बुद्धमायाले मानसिक तनावकै कारण विष सेवन गरेको परिवारको दाबी छ । ‘अदालतले हामीलाई न्याय दिएको हो’, पानी छोएको निहुँमा यातना भोगेकी बुद्धमायाकी छोरी मनीषाले भनिन्, ‘तर, अदालतको फैसला छिमेकीले स्वीकार गर्न मानेका छैनन् । हामीमाथि छिमेकी लगाएर पीडकले झन् दबाब दिइरहेका छन् ।’ समाजमा कसैले कसैलाई छुवाछुत गर्नु हुँदैन भन्ने स्कुलमा पढेको सम्झिँदै कक्षा ९ मा अध्ययनरत मनीषाले थपिन्, ‘यहाँ हामी दलित विश्वकर्माहरूका दुई घर मात्र छन् । धेरै घर अन्य जातिका छन् । उनीहरू भन्छन्, दलितसँग नबोल है । मुद्दा लगाइदिन्छन् ।’

विष सेवनपछि बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल भर्ना भएकी आमालाई हेरचाह गर्दै गरेकी मनीषाले स्कुलमा शिक्षकले पढाएको शिक्षा र समाजले गरेको व्यवहार उल्टो भएको अनुभव गर्दा आफूलाई अति नै दुःख लागेको बताइन् । उनले भनन्,ि ‘अदालतले हाम्रो परिवारलाई न्याय गरे पनि छरछिमेकीले जंगली व्यवहार गरे । छरछिमेकीले हामीलाई दुुस्मनजस्तै ठानेका छन् । हामीसँग कोही बोल्दैनन् ।’

पानी छोएको निहुँमा वैशाख १५ गते साँझ छिमेकी कमला गिरी र उनका भन्जा रामबाबु दाहालले बुद्धमाया र छोरी मनीषालाई गाली–बेइज्जत गर्दै कुटपिट गरेका थिए । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को दफा ३ बमोजिमको र दफा ४(३) बमोजिमको कसुर गरेको ठहर गर्दै पीडक कमला गिरी र रामबाबु दाहाललाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले १० हजार रुपैयाँ जरिवाना र ५० हजार रुपैयाँ क्षतिपूर्तिसहित जेल सजायको फैसला असार २४ गते सुनाएको थियो । कुटपिटका मुख्य अभियुक्त गिरीलाई ६ महिना सजाय तोकिएको छ भने दाहाललाई ३ महिना कैद सजाय सुनाइएको छ ।

विश्वकर्मा समाज प्रदेश २ का अध्यक्ष तथा दलित अधिकारकर्मी मीन रहपालले पीडितको न्यायका लागि चन्दा संकलन गरेर मुद्दा लडेका थिए । ‘छुवाछुतमा पीडकलाई जेल हाल्नेसम्मको फैसला भएको देशमा गणतन्त्र आइसकेपछिको सम्भवतः पहिलो फैसला हो । तर, समाजले पचाउन नसकेको सुन्दा दुःख लाग्यो’, उनले भने । पीडितको पक्षबाट अधिवक्ता दीपककुमार विश्वकर्माले वकालत गरेका थिए ।

न्याय पाएपछि पीडित खुसी थिए । तर, पीडित परिवारको खुसी तीन दिनमा झन् पीडामा फर्कियो । छिमेकीको दबाबले बुधबार बुद्धमायाले विष सेवन गरेर आत्महत्याको प्रयास गरिन् । ‘घडेरीबाहेक अरू केही छैन,’ बुद्धमायाका छोरा भुवनले भने, ‘अस्पतालको बिल कहाँबाट तिर्ने ? ’

काठमाडौंमा विभिन्न देवीदेवताको मूर्तिको बुट्टा बनाउने काम गर्दै आएका भुवनले भने, ‘हामीले बनाएको मूर्ति सबैको घरमा पुजिन्छ । तर, हामीलाई पानी छोएको भन्दै कुटिन्छ । गालीबेइज्जत गरिन्छ ।’ सीप, श्रम र पसिनालाई उपभोग गर्ने समाजले हामीले छोएको पानी किन चलाउँदैन ? ’ उनले प्रश्न गरे ।

आर्थिक अभावले बुद्धमायालाई अस्पतालबाट परिवारजनले डिस्चार्ज गराउन सकेका छैनन् । ‘अस्पताल खर्च उपलब्ध गराइदिन सबैमा अनुरोध गर्दछु,’ दलित अधिकारकर्मी रहपालले भने, ‘पीडितको स्वास्थ्य अवस्था ठीक भएपछि समाजमा पुनःस्थापनाका लागि वातावरण बनाउँछौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.