चिया सर्वेक्षण प्रतिवेदन : उत्पादनमा अब्बल झापा

चिया सर्वेक्षण प्रतिवेदन : उत्पादनमा अब्बल झापा

काठमाडौं  : इलाम चियामा चर्चित छ भने उत्पादनका हिसाबले झापा अगाडि छ। शुक्रबार केन्द्रीय तथ्यांक विभागले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै इलाममा भन्दा झापामा चियाको उत्पादन बढी हुने जानकारी दिएको हो। इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती फैलिएको छ भने झापामा सात हजार एक सय ९५ हेक्टरमा चियाको खेती हुने सर्वेक्षणले देखाएको छ।

केन्द्रीय तथ्यांक विभागले पहिलो पटक सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको चिया खेतीको अवस्थाबारे बताइएको छ। मुलुकमै सबैभन्दा बढी चिया बगान इलाममा छन् भने झापा क्षेत्रफल र उत्पादनका हिसाबले सबैभन्दा अगाडि छ। सबैभन्दा धेरै किसान चियाखेतीमा संलग्न भएको जिल्ला पनि इलाम नै भएको प्रतिवेदनले देखाएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहयोगमा केन्द्रिय तथ्यांक विभागले २०७४ को वैशाख १ देखि चैत मसान्तसम्म चिया खेती हुने जिल्लाको सर्वेक्षण गरेको थियो।

पहाड तथा हिमालका जिल्लामा कम्तीमा एक रोपनी र तराईमा कम्तीमा एक कठ्ठा १० धुर क्षेत्रफलमा हरियो चियापत्ती उत्पादन गर्नेलाई व्यावसायिक चिया खेतीअन्तर्गत राखेको छ।

प्रतिवेदनअनुसार नेपालका १४ जिल्ला ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा व्यावसायिक चिया खेती हुँदै आएको छ। हाल नेपालमा १२ हजार ६६ हेक्टरमा नौ हजार दुई सय ३६ वटा चिया बगान छन्। १४ जिल्लामध्ये पाँच जिल्लामा चिया उत्पादन बढी हुन्छ भने चियाको बगान र किसानको संलग्नताअनुसार इलाम सबैभन्दा अगाडि रहेको प्रतिवेदनमा उल्लेख छ। इलाममा पाँच हजार पाँच सय ९८ चिया बगान छन्।

इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती हुँदै आएको छ भने झापामा सात हजार एक सय ९५ हेक्टर। झापामा जम्मा एक हजार ६ सय १ चिया बगान छन्। चिया बगान र क्षेत्रफलको आधारमा तेस्रो नम्बरमा पाँचथर छ। पाँचथरमा सात सय ७२ बगानले ६ सय ७४ हेक्टर क्षेत्रफल ओगटेको छ।

इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती फैलिएको छ भने झापामा सात हजार एक सय ९५ हेक्टरमा चियाको खेती हुने सर्वेक्षणले देखाएको छ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९२० सालमा चीन भ्रमणबाट फर्कने क्रममा चियाको बीउ उपहारमा ल्याएका थिए। त्यसयता ब्रिटिस सरकारको इष्ट इण्डिया कम्पनीमार्फत दार्जिलिङको विभिन्न पहाडी भागमा चियाको खेती भएको थियो। दार्जिलिङको चियाको खेती हेरेर नेपालको पहाडी क्षेत्र इलाम, पाँचथर, ताप्लेजुङ र धनकुटामा चियाको खेती भएको सर्वेक्षणको क्रममा भेटिएको विभागका निर्देशक बद्रीकुमार कार्कीले बताए।

२०२३ सालमा चिया विकास निगमको स्थापना भएपछि नेपालको चिया खेतीले थप विकसित हुने मौका पाएको हो। २०३९ मा तत्कालीन राजा वीरेन्द्रले पूर्वाञ्चलका पाँच जिल्ला झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलामलाई चिया क्षेत्र घोषणा गरेपछि चिया खेती थप विस्तार हुने मौका मिलेको थियो। २०५० मा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गठन भएपछि नेपालको चिया खेती र चिया उत्पादन क्षेत्रले विकसित हुने अवसर पाएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए।

सर्वेक्षणअनुसार २०५० को दशकमा सबैभन्दा बढी चिया खेती विस्तार भएको छ। यस अवधिमा झन्डै ५४।६ प्रतिशतले चियाको क्षेत्रफल र उत्पादनमा वृद्धि भएको हो। यसपछि २०६० को दशकमा २७ र २०७० पछि १।९ प्रतिशतले मात्रै विस्तार भएको छ। २०४० को दशकमा १४।४ र २०४० अघि २।२ प्रतिशत चिया खेती हुने गरेको थियो।

तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालकाअनुसार चिया खेतीमा १५ प्रतिशत महिला र ८५ प्रतिशत पुरुष संलग्न छन्। उनकाअनुसार चिया किसानमध्ये ४८।३ प्रतिशत किसानले सहकारीबाट ऋण लिएका छन्। चियाखेतीबाट सबैभन्दा बढी झापाका किसानले आम्दानी गर्दै आएका छन्। झापाका ७०।१ प्रतिशत किसानको मुख्य आयस्रोत चिया बनेको छ। यसपछि इलामको ६४।७ प्रतिशत किसानको मुख्य आम्दानी स्रोत चिया खेती बनेको हो।

साढे दुई करोड किलो प्रशोधित चिया उत्पादन

तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीकाअनुसार १४ जिल्लामा ११ करोड ६७ लाख ५१ हजार चियाका बोट छन्। यसबाट वार्षिक १० करोड ८० हजार किलो हरियो चियापत्ती उत्पादन हुन्छ। यसबाट दुई करोड २२ लाख ४० हजार किलो प्रशोधित चिया तयार हुन्छ।

इलाममा एक करोड ५९ लाख ७१ हजार, झापामा आठ करोड २५ लाख १७ हजार, पाँचथरमा सात लाख ६५ हजार, धनकुटामा तीन लाख नौ हजार, तेह्थुममा एक लाख ५१ हजार र बाँकी नौ जिल्लामा तीन लाख ६८ हजार किलो हरियो पत्ती चिया उत्पादन हुन्छ।

प्रतिवेदनअनुसार आठ हजार आठ सय ३८ हेक्टरमा परम्परागत रूपमा चिया खेती हुँदै आएको छ। एक हजार एक सय हेक्टरमा अर्गानिक चिया खेती हुँदै आएको छ भने दुई हजार एक सय २९ हेक्टरमा अर्गानिक उत्पादनतर्फ उन्मुख छ। अहिले नेपालमा एक करोड ६० लाख ३६ हजार किलो सीटीसी चिया उत्पादन हुन्छ।

सीटीसी चियाको उत्पादन झापामा मात्रै हुन्छ। यो चियामध्ये झन्डै ४५ प्रतिशत स्वदेशमै खपत हुन्छ भने बाँकी निर्यात हुन्छ। यस्तै कारखानाबाट २६ लाख ७० हजार किलो अर्थोडक्स चिया उत्पादन हुन्छ। यस्तै दुई लाख २० हजार किलो ग्रिन टीको शपमा र ३२ हजार किलो स्पेसियालिटी चिया उत्पादन हुन्छ। बोर्डकाअनुसार नेपालबाट भारतसहित तेस्रो मुलुकमा वार्षिक तीन अर्ब मूल्यबराबरको चिया निर्यात हुन्छ। चियालाई निर्यातजन्य तुलनात्मक लाभको सूचीमा राखिएको छ।

नेपालमा चिया प्रशोधन कारखाना एक सय १३ छन्। यस्ता कारखानाको उत्पादन क्षमता पाँच करोड २१ लाख भए पनि ३६।४ प्रतिशतका दरले एक करोड ८९ लाख ५८ हजार किलो चिया मात्रै प्रशोधन हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.