टिपर ड्राइभरसँगको त्यो जम्काभेट
सधैँजस्तो बिहीबार साँझ सवा चार बजेतिर अन्नपूर्ण पोस्ट्को तीनकुनेस्थित न्यूजरुममा काम गर्दैथिएँ । न्यूजरुममा साथीहरु सबै आफ्नो काममा तल्लिन थिए ।
मसँगै काम गरिरहेको साथी रञ्जनहरि कोइरालाले चिया खाना जाऊँ भने प्रस्ताव गरेपछि मैले हुन्छ भनेँ । हामी दुईजनासहित सहकर्मी पवन तिमल्सिना पनि चिया खान जान तयार भए । हामी अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकको बिजनेस ब्यूरोको कार्यालय रहेको सातौँ तलाबाट तल झर्यौँ ।
कार्यालयको गेटबाट बायाँ मोडिँदै हामी गल्लीको सडकतर्फ हिँडिरहेका थियौँ । अन्नपूर्ण पोस्ट्को कार्यालयकै सवारी पार्किङ नजिकै सधैँजस्तो एक महिला मकै पालेर बसेकी रहिछन् । हामीले पनि एक घोया मकै खाने निर्णयसहित मकै पोल्न लगाएर लियौँ । मैले मकै लिँदालिँदै सहकर्मी पवनले २५ रुपैयाँ दिदीलाई दिइसकेका थिए ।
मैले मकै तीन टुक्रा गर्न लाग्दै थिएँ । अर्कातिर पवन र रञ्जनहरि केही अगाडि पाइला बढाउँदै थिए । त्यही बेला एउटा मिनी टिपरले उनीहरुलाई धक्का दिने गरी ब्रेक हान्यो । ब्रेक हानिसकेपछि हामी फुटपाथमा रहेका पैदल यात्रीमध्ये रञ्जनहरिलाई भन्यो, ‘बाटो हेरेर हिँड्नु पर्दैन ?’
चालकले त्यसो भन्दै गर्दा हामीले पैदल यात्रा गर्दा सडकको कुना च्यापेरै हिँडिरहेका थियौँ । चालकको शब्द मेरो कानामा पर्यो । मैले चालकलाई भनेँ, ‘ओ भाइ तैँले के भनेको ?’ मेरो पुरा वाक्य नसकिँदै चालकले ‘तैँले के खोजेको ?’ भन्दै टिपरको ढोका खोल्यो अनि सिटमुनिको फलामको मोटो डन्डी (लिभर) निकालेर ममाथि प्रहार गर्न खोज्यो ।
मैले ड्राइभरको हातबाट लिभर खोस्ने कोशिस गरेँ । तर, मेरो एउटा हातमा मकै भएकाले त्यो सम्भव भएन । त्यसपछि मैले मकै फालिदिएँ अनि साथीहरुको सहयोगमा लिभर खोस्न सफल भएँ । त्यसपछि आत्तिएका चालक हतार-हतार टिपरमा चढे । मैले उनलाई रोक्ने कोशिशमा गाडीको साँचो खोस्न गएँ । तर, एउटा सानो गल्ली भएका कारण सवारी साधनको लामो लाइन तीनकुनेमा लागिसकेको थियो ।
वरिपरिका स्थानीय र बोटो हिँडनेको भीड त्यहाँ लागिसकेको थियो । सबैको सल्लाहमा टिपर लागि साइट लगाउने ठाउँ दिँदा ऊ तीब्र गतिमा भाग्यो। नम्बर टिप्न खोजेँ, तर नम्बर प्लेट माटोले छोपिएको रहेछ । मैले पुरै नम्बर याद गर्न सकिनँ । तर, मैले नम्बर प्लेटको अगाडिको अंक २६ भने याद गरेँ । टिपर कता गयो ? तत्काल पत्ता लगाउन सकिएन ।
एकजना मोटरसाइकल चालकको पछाडि बसेर म टिपर खोज्दै बागमती किनारै किनार तिलगङ्गा जाने बाटोतर्फ लागेँ । तर, गाडी फेला पार्न सकिनँ । म फेरि बानेश्वर क्याम्पस अगाडिको पुलामा आएपछि दुई साथीलाई भेटेँ । त्यही बेला हामीले खबर गरेका प्रहरी पनि आइपुगेका रहेछन् ।
मैले उनीहरुलाई चालकले हामीमाथि प्रहार गर्न खोजेको लिभर बुझाएर अनुमान गरेको टिपरको नम्बर २६६८ हुन सक्ने भन्दै टिपाएँ । प्रहरीले रंग कस्तो छ भने ? मैले निलो रंगको छ भन्ने जवाफ दिएँ ।
त्यति नै बेला कार्यालयकै सहकर्मी विनय कोइराला आफ्नो सवारी लिएर त्यहीँ आइपुगेका रहेछन् । उनले गाडीमा बस टिपर खोज्न जाऊँ भने । हामी तीनैजना उनको गाडीमा बसेर बागमती किनारै किनार अगाडि बढ्यौँ । उनलाई थाहा रहेछ यो क्षेत्रका टिपरको बास र सामान बोक्ने डिपो । उनीसँग सीधै त्यता लाग्यौँ । नभन्दै खोला किनारको सुकुम्बासी बस्ती भित्रको डिपोका गाडी रहेछ । नम्बर हेरेँ, अगाडि २६ रहेछ तर गाडी नम्बर भने २६६८ नभई २६८८ रहेछ । हामी त्यहीँ बसेर प्रहरीको सहयोग माग्दै गर्दा चालक पल्सर बाइक चढेर त्यहीं आइपुगे । प्रहरी आउने बेलासम्म त्यहाँ भीडभाड भइसकेको थियो ।
चालकले म दाइ हो भनेर फेरि हामीसँग विवाद गर्न थाल्यो । मैले भनेँ, ‘होइन पुलिस आउन् अनि कुरा हुन्छ ।’ त्यसबेलासम्म त्यहाँ उनीहरु चालकको बचाउमा तँत र मम गर्दैँ थिए । कतिले त यो गाडीको फोटो खिच, काम लाग्छ भन्न थाले ।
प्रहरी आइपुगेपछि हामीले यसलाई चौकी लैजाऊँ भनेपछि त्यहीँ कुरा गर्ने प्रस्ताव प्रहरीले राखे । प्रहरीको प्रस्तावपछि उसलाई लिएर महानगरीय प्रहरी वृत्त बानेश्वरको कार्यलयका पुगियो । हामीले बुझाएको लिभर प्रहरी निरीक्षकले पनि देखे ।
उनले भने, ‘मान्छे मार्न तयार हुने ? यसलाई पीडितको निवेदन लिएर भित्र हाल्दिनु’, भोली कार्यालय समयमा कुरा गर्ने भनेर उनले मेरो निवेदन लिए । म त्यहाँबाट कार्यालय आएँ । मैले मनमा सोचेँ दिउँसै सडकमा हिँड्ने पैदल यात्रुलाई यस्तो व्याहार गर्नेले अन्य बेला बालबच्चा, महिला र वृद्ध बुबाआमालाई के गर्लान् ?
यो त मैले टिपर चालकबाट भोगेको घटना हो । यहीबेला उपत्यकासहित देशका सडकमा टिपर आतंक छ । टिपरले दिनदिनै अन्य सवारीसाधनका यात्रु र पैदलयात्रीको ज्यान लिइरहेका छन् । यही टिपरको विवादमा चालकले गल्ती गर्दै गर्दा उनका दाजु भन्नेले ‘तलाईँ के भएको छ ? केही भएको भए उपचार गर्दिन्थेँ’ भन्ने जवाफ दिए । यो सुन्दा लाग्यो, टिपर मालिक र ठेकेदारले नै सामान्य घटना भयो भने मार्दिए हुन्छ, खर्च कम हुन्छ भन्ने सन्देश दिँदा रहेछन् । टिपर र त्यसका चालकबाट ज्यान जोगाउनै गाह्रो ।