पोल विवादले विद्युत् विस्तार अलपत्र

पोल विवादले विद्युत् विस्तार अलपत्र

ओखलढुंगा ः पोल हराएको विषयमा स्थानीय र ठेकेदारबीच विवाद हुँदा रामेछाप र ओखलढुंगा जोड्ने विद्युत् विस्तार आयोजना नौ वर्षदेखि अलपत्र परेको छ। रामेछापको साँघुटारबाट ओखलढुंगा सदरमुकाम जोड्ने साँघुटार–ओखलढुंगा ३३ केभी केन्द्रीय विद्युत् प्रसारण आयोजना पोल विवाद समाधान नहुँदा अलपत्र परेको हो।

साँघुटारबाट घोराखोरीसम्म १० किलोमिटर क्षेत्रमा गाडिएको पोल हराएपछि स्थानीय र ठेकेदार न्यू साताक्री कन्स्ट्रक्सनबीच विवाद बढेको थियो। ठेकेदार कम्पनीले केही क्षेत्रको पोल स्थानीयले उखेलेर माइक्रो हाइड्रोमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ। स्थानीयले भने ठेकेदारले पोल नगाडी आफूहरूमाथि आरोप लगाएको दाबी गर्दै आएका छन्।

समस्या समाधानमा सरकारी निकायले चासो नदिएपछि आयोजना अलपत्र हुँदा बिजुली बाल्ने सपना अधुरै छ। २०६६ सालमा सुरु भएको आयोजनाले विवादका कारण गति लिन सकेको छैन। १३ करोड लागत अनुमानमा सुरु गरिएको आयोजना विद्युत् प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयले ठेक्का लगाएको थियो। आयोजनाको कुल लम्बाइ ४० किलोमिटर रहेको जनाइएको छ।

साँघुटार–रानीवन क्षेत्रमा गाडिएका पोल तथा टाँगिएका तार अलपत्र अवस्थामा छन्। ‘ठेकेदार र स्थानीयबीच विवाद बढेपछि दुई वर्षदेखि कामको टेन्डर नै हुन सकेको छैन’, विद्युत् प्राधिकरण ओखलढुंगा वितरण केन्द्र रूम्जाटारका प्रमुख सञ्जीव साहले भने, ‘हामी चाँडो विवाद सल्टाएर काम अघि बढाउन प्रयासरत छौं।’

ओखलढुंगा सदरमुकाममा खोटाङबाट केन्द्रीय प्रसारण लाइन सञ्चालन गरिए पनि भरपर्दो छैन। २०५७ सालमा सुरु भएको बुइपा–ओखलढुंगा ३३ केभी प्रसारण लाइन आयोजना दुई वर्षयता सञ्चालनमा आए पनि उदयपुरको जलजलेबाट खोटाङको बुइपासम्मको भागमा विद्युत् अवरोध भइरहने समस्या रहेको जनाइएको छ।


साँघुटार–ओखलढुंगा ३३ केभी केन्द्रीय विद्युत् प्रसारण आयोजना पोल विवाद समाधान नहुँदा अलपत्र परेको हो।

जिल्लामा हालसम्म ४० प्रतिशत क्षेत्रमा मात्र केन्द्रीय विद्युत् प्रसारण लाइन जोड्न काम भइरहे पनि ग्रामीण विद्युतीकरण सुस्त गतिमा छ। जिल्लाका धेरैजसो भेगमा विद्युत् विस्तारका लागि पोल गाडिए पनि प्राधिकरणले मिटरबक्स वितरणमा ढिलाइ गर्दै आएको जनाइएको छ। रानीवनमा तार, पोल र ट्रान्समिटर जडनाको काम पूरा भए पनि मिटरबक्स नहुँदा ६ महिनादेखि एउटै वडाका ५ सयभन्दा बढी बासिन्दा केन्द्रीय विद्युत् सेवा उपभोगबाट वञ्चित भएको चम्पादेवी गाउँपालिका–१० का वडाध्यक्ष उज्जन बुढाथोकीले बताए।

स्थानीय उत्पादन प्रभावित

केन्द्रीय प्रसारण लाइन भरपर्दो नहुँदा हालै सञ्चालनमा आएको मोलुङ हाइड्रो प्रभावित बनेको छ। ७ मेगावाट क्षमताको हाइड्रोको उत्पादन गोरुमारे भञ्ज्याङ सब–स्टेसनबाट जोडिए पनि केन्द्रीय विद्युत् प्रसारण लाइनमा आइरहने खराबीका कारण प्रभावित बनेको हो। केन्द्रीय प्रसारणको जलजले–बुइपा खण्डमा खराबी आउँदा हाइड्रोबाट उत्पादित विद्युत् जिल्लाभित्र वितरण गरिँदैन। जिल्लामा साँझपख मुख्य समयमा ५ सय किलोवाट मात्र विद्युत् खपत हुने गरेको जनाइएको छ। विद्युत् खपत थोरै भएकाले केन्द्रीय प्रसारण लाइनमा खराबी आउँदा जिल्लाभित्र लाइन काट्ने गरिएको शाहले बताए। उत्पादन र खपतको सन्तुलन नमिल्दा सब–स्टेसन र हाइड्रोका मेसिन पड्किने सम्भावना हुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.