बनिनसक्दै उप्कियो कालोपत्रे

बनिनसक्दै उप्कियो कालोपत्रे

धनगढी : कैलालीको टीकापुर नगरपालिका-९ मा लाखौं बजेटको कालोपत्रे निर्माण सम्पन्न नहुँदै टालटुल गरिएको छ । बजेट सक्नका लागि कमसल सामग्री प्रयोग गरी हतारमा गरिएको कालोपत्रे निर्माण सम्पन्न नहुँदै उप्किएपछि टालटुल गरिएको हो ।

निर्माण सम्पन्न नहुँदै असार दोस्रो साता आएको पानीले उक्त सडकमा धेरै ठाउँमा भत्किएको छ । नगरपालिकाले वडा नम्बर ९ को झुगादेखि गाउँघर क्लिनिकसम्मको २ सय ६२ मिटरका लागि कल्भर्ट निर्माणबापत १५ लाख र सडक निर्माणका लागि ३५ लाख गरी ५० लाख बजेट विनियोजन गरेको थियो ।

कालोपत्रे निर्माण सम्पन्न नहुँदै उप्किन थालेपछि स्थानीय आक्रोशित भएका छन् । उनीहरूले नगरपालिकाले दिगो विकास गर्न नभई बजेट सिध्याउने काम मात्रै गरेको स्थानीय प्रदेश चौधरीले गुनासो गरे । हतारमा गरिने विकासले गर्दा एक पटक पानीले कालोपत्रे भत्किएको छ । उनले एक पटक भत्किएको कालोपत्रे पुनः गरे पनि त्यो दिगो नहुने बताए ।

वडाध्यक्ष लौटन चौधरीले उपभोक्ता समितिमार्फत दुई महिनाअघि कालोपत्रे सुरुभएको बताउँदै कालोपत्रे भत्किएको र पुनर्निर्माणपछि मात्र निर्माण कम्पनीले भुक्तानी पाउने जानकारी दिए । ‘कालोपत्रे हुँदा उपभोक्ता समिति र हामी पनि सँगसँगै थियौं । पानी पर्नुभन्दा पहिले ठिकै थियो । तर, केही दिनअगाडिको वर्षाले सडक भासियो । कालोपत्रे फुट्यो,’ उनले भने, ‘काम अलि हतारमा भयो । तर, मर्मत नभएसम्म कालोपत्रे सम्पन्न भएको सिफारिस हुँदैन ।’

वडाकै प्रेम चौराहादेखि तारागाउँसम्म १ सय २७ मिटर सडक कालोपत्रे गर्न नगरपालिकामार्फत सीमा क्षेत्र विकास कार्यक्रमको २५ लाख ५५ हजार बजेट छुट्याइएको थियो । सो सीमा क्षेत्र विकास कार्यक्रमको जम्मा बजेटमा ५ लाख ५५ हजार रुपैयाँ जन श्रमदान रहेको नगरपालिकाका इन्जिनियर नवराज जोशीले जानकारी दिए ।

तर, हाल सो कालोपत्रे ठाउँठाउँमा फुट्नुका साथै कल्भर्ट आसपास कालोपत्रे नै भासिएकाले पुनर्निर्माण गरेर मात्र योजना सम्पन्न हुने बताए ।

कालोपत्रे निर्माण सम्पन्न भए पनि नगरपालिकामा रकम निकासाका लागि प्रगति प्रतिवेदन बुझाउन बाँकी रहेको उनको भनाइ छ । असार मसान्तभित्र सडक कालोपत्रे गर्ने सम्झौता भएको हो । नगर प्रमुख तपेन्द्र रावलले आफूले उक्त कालोपत्रेको स्थलगत अनुगमन गरेको र भत्किएको ठाउँमा पुनः कालोपत्रे गरेको बताए ।

सडक छेउछाउमा राम्रोसँग माटो पटानी नगरेको र राम्रोसँग रोलर प्रयोग नगर्दा कालोपत्रे उप्किएको नगर प्रमुख रावलको भनाइ छ । उप्किएको ठाउँमा पुनः कालोपत्रे नहुन्जेलसम्म बाँकी रकम निकासा नदिने नगर प्रमुख रावलले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.