कान्ति अस्पतालमा आर्ट थेरापी
काठमाडौं : पेट दुख्ने समस्याले पिरोलेपछि सात वर्षीय राजु मण्डललाई उपचार गराउन कान्ति बाल अस्पताल ल्याएकी सुशीलादेवी छोरा खेलेको देखेर मख्ख थिइन् । उनले भनिन्, ‘बिरामी नभएझैं गर्छ । आफैं खेल्छ ।’
जनकपुरबाट आएका मण्डल मात्र होइन, कैलाली टीकापुरकी आराध्य विष्ट पनि कान्ति बाल अस्पताल परिसर डुल्दा खुसी देखिन्थिन् । दुई वर्षकी आराध्यले अस्पतालको भित्तामा सजाइएको चरा मागेर आमा लक्ष्मीलाई हैरान पारिन् । उनले भनिन्, ‘भित्ताको कला देखेर छोरी रमाएकी छ । जे देख्छे त्यो चुँडुलाझैं गर्छे । ’
मुलुकको एक मात्र केन्द्रीय कान्ति बाल अस्पतालका भित्तामा सुर्ती, पान, खैनी, गुट्खा खाएर थुकेको घिनलाग्दो दाग देखिँदैन । मन बहलाउने गरी कोरिएका चित्र र कलात्मक आर्टले उपचारका लागि गएका बालबालिका मात्र होइन अभिभावकलाई पनि लोभ्याएका छन् । अस्पतालका निर्देशक गणेशकुमार राई भन्छन्, ‘शब्दले वर्णन गर्न सकिँदैन । शब्दले व्याख्या गर्नुभन्दा भित्ताहरूका चित्र आफैं बोल्छन् ।’
अस्पताल परिसरलाई व्यवस्थित र सफा गराउन अस्पतालको आम्दानीले पुग्दैन । सिद्धार्थ आर्ट ग्यालरीकी निर्देशक संगीता थापाको नेतृत्वमा सुरु गरिएको ‘कलाद्वारा स्वास्थ्य रूपान्तरण’ योजनाले अस्पतालका भित्तालाई हेरुँहेरुँ झैं आकर्षक बनाएको छ । उनको यो योजनालाई कलाकार किरण महर्जन, श्रद्धा श्रेष्ठलगायतका कलाकारले साथ दिएपछि अस्पतालका भित्ताको रुपरङ नै बदलिएको हो ।
सिद्धार्थ ग्यालरीकी निर्देशक थापाका अनुसार अस्पतालको करिडरमा बिरामी बालबालिका धेरै समय रहने भएकाले तनावबाट केही क्षण भए पनि भुलाउन आर्ट थेरासीको सुरु गरिएको हो । ‘अस्पतालको परिसर बिरामीलाई तनाव दिने खालको हुनुहुँदैन । बिरामीमा भएको समस्यालाई कलाको माध्यमद्वारा हस्तक्षेप गर्न आर्ट थेरापी सुरु गरिएको हो’, उनले भनिन् । करिडरमा आर्ट थेरापीका लागि एक महिनाभन्दा बढी लागेको थियो ।
अस्पतालमा प्रयोग भइसकेर खेर गएका वस्तुलाई पनि कलात्मक रूप दिने कार्य पनि अभियानमा समेटिएको छ । काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्ट एन्ड डिजाइन र सृजना कलेज अफ फाइन आर्ट अध्ययन गरेका विद्यार्थीले पनि अभियानमा सहयोग गरेका थिए । यस खालको आर्ट थेरापी भक्तपुर क्यान्सर अस्पतालमा पनि गर्ने योजना रहेको निर्देशक थापाले जानकारी दिइन् । अभियानमा विभिन्न बैंक, पेन्ट्स कम्पनीलगायतले सहयोग गरेका छन् ।
अस्पतालका मनोचिकित्सक डा. अरुणराज कुँवर भन्छन्, ‘आर्ट थेरापीले बालबालिकाको मनोविज्ञानमा सकारात्मक प्रभाव पार्छ । यसले उनीहरूमा तनावबाट निस्केर बाहिरको वातावरणमा घुलमिल गराउँछ । ध्यान विकेन्द्रित गर्छ । स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ ।’
प्रतिक्रिया दिनुहोस !