'अस्पतालमा रक्तपात हेर्न सकिनँ'

'अस्पतालमा रक्तपात हेर्न सकिनँ'

जुम्ला/सुर्खेत  : जुम्लामा आमरण अनशनरत डा.गोविन्द केसीलाई सरकारले बल प्रयोग गरी सेनाको हेलिकोप्टरबाट काठमाडौं लगेको छ। २० दिनदेखि अनशनमा रहेका डा. केसी भने माग पूरा नहुँदासम्म काठमाडौं नजाने अडानमा थिए। केसी समर्थकले काठमाडौंबाट गएको टोलीलाई अनशनस्थलमा छिर्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको थियो। अनशनस्थलमा बिहीबार दोहोरो झडप मात्र भएन, प्रहरीले अस्पतालभित्रै गोली नै चलायो। अवस्था तनावग्रस्त बनेपछि डा. केसी लचिलो बन्दै काठमाडौं जान राजी भए।

प्रहरीको सहयोगमा स्थानीय प्रशासनले डा. केसीलाई अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाहिर निकालेको थियो। डा. केसीलाई काठमाडौं ल्याउन बिहीबार बिहान करिब साढे नौ बजे सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो। त्यसलगत्तै केसी समर्थक आक्रोशित बनेका थिए। डा. केसीलाई काठमाडौं लैजाने रणनीतिका साथ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिलामन्त्री नरेश भण्डारी, सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव खगराज बराल र स्वास्थ्य विभागका डा. गुणराज लोहनी बिहीबार जुम्ला पुगेका थिए।

मुख्यमन्त्रीसहितको टोली र डा. केसी पक्षबीच सहमतिको प्रयास भए पनि सहमति नभएपछि मध्याह्न १२ बजेपछि सरकार बल प्रयोग गर्ने निष्कर्षमा पुगेको थियो। गेटदेखि अनशन कक्षसम्म मानव साङ्लो बनाएर बसेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज गरेको थियो। त्यस क्रममा विद्यार्थी र प्रहरीबीच एक घण्टासम्म दोहोरो झडप भएको थियो। अवस्था तनावग्रस्त बनेपछि डा. केसीले काठमाडौं जान सहमति जनाएका थिए। डा. केसीले ‘रक्तपात रोक्नुहोस्, म काठमाडौं फर्कन्छु’ भनेपछि प्रहरी पछाडि हटेको थियो। प्रहरीले अस्पतालभित्र र बाहिरको भीड नियन्त्रणमा लिएपछि डा. केसीलाई दिउँसो चार बजे मात्र सेनाको हेलिकोप्टरमा राखिएको थियो।

‘रक्तपात रोक्न काठमाडौं लागें’

सरकारले रक्तपात गर्न थालेपछि आफू काठमाडौं फर्कन राजी भएको डा. केसीले बताएका छन्। सरकारले बल प्रयोग गरी अस्पतालबाहिर निकालेपछि डा. केसीले भने, ‘म सरकारसँग झुकेको छैन, सरकारले यहाँ रक्तपातको अवस्था सिर्जना ग¥यो। यसलाई रोक्ने मैले काठमाडौं जाने निर्णय गरें। माग पूरा नहुँदासम्म काठमाडौंमै अनशन जारी राख्छु।’

प्रहरी प्रशासन दमनमा उत्रिएको र सरकार रक्तपात मच्चाउने अवस्थामा प्रस्तुत भएको उनको भनाइ छ। ‘राज्यको दमनले यहाँ मानवीय र भौतिक क्षति बढ्दै जाने सम्भावना देखें, मलाई सरकारले जबर्जस्ती काठमाडौं लगेको छ’, डा. केसीले रुँदै भने, ‘तर मलाई जहाँ लैजान्छ, त्यहीँ अनशन बस्नेछु, कर्णालीको पक्षमा मेरो लडाइँ जारी रहनेछ। अब अस्पतालमा तोडफोड नगर, राज्यको दमनकारी शैलीले कर्णालीलाई दुःखी बनाएको छ।’

फूलमालासहित बिदाइ

सरकारले बल प्रयोग गरी नियन्त्रणमा लिएपछि डा. केसीलाई जुम्लावासीले फूलमाला लगाएर बिदाइ गरेका छन्। कर्णालीको हित हुने माग राखेर जुम्लामा नै अनशन बसेको भन्दै स्थानीयले डा. केसीलाई फूलमाला लगाएर बिदाइ गरे। केसीका माग सम्बोधन नभएसम्म जुम्लामा आन्दोलन जारी रहने नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए।


झडपमा तीन दर्जन घाइते

डा. केसीलाई काठमाडौं लैजाने जानकारी पाएपछि बिहीबार बिहानैदेखि प्रतिष्ठानका विद्यार्थीले मानव साङ्लो बनाएर बसेका थिए। डा. केसीका समर्थक पनि अनशनस्थल बाहिर प्रहरीलाई रोक्न जम्मा भएका थिए। त्यही क्रममा डा. केसीलाई बाहिर निकाल्न प्रहरी अस्पतालभित्र प्रवेश गर्न खोज्यो। विद्यार्थी र समर्थकबाट अवरोध भएपछि प्रहरीले लाठीचार्ज गरेको हो। प्रतिष्ठानका विद्यार्थी र बल प्रयोग गर्न पुगेको प्रहरीबीच अस्पतालभित्रै दोहोरो झडप भएको थियो।

झडपमा ३६ जनाभन्दा बढी घाइते भएका छन्। घाइते हुनेमा २४ जना विद्यार्थी र अस्पतालमा कार्यरत चिकित्सक छन्। झडपमा प्रहरी पनि घाइते भएका छन्। प्रहरीले हानेको लाठी र फुटाइएका ढोकाको सिसा लागेर विद्यार्थी र चिकित्सक घाइते भएका हुन्। त्यस्तै विद्यार्थीले प्रहरीलाई रोक्न अस्पतालमा रहेका कुर्सी, टेबललगायत सामग्री प्रहार गरेका थिए। घाइतेमध्ये अधिकांश विद्यार्थीको टाउकोमा चोट लागेको छ।

घाइतेमध्ये २५ वर्षीय प्रहरी जवान कमल उपाध्यायको अवस्था गम्भीर छ। दाहिने छातीमा गोली लागेका उपाध्यायको प्रतिष्ठानमा उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। प्रहरीले विद्यार्थीलाई हान्न खोजेको गोली प्रहरी जवान कमल उपाध्यायलाई लाग्दा उनी गम्भीर घाइते भएका हुन्।

गोली नचलाएको दाबी

कर्णाली प्रदेश सरकारले डा. केसीलाई काठमाडौं लैजाने क्रममा अस्पतालमा गोली नचलेको दाबी गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालमा गोली चलेको हल्ला निराधार भएको बताए। जुम्लाबाट डा. केसीसँगै फिर्ता भएका मुख्यमन्त्री शाहीले सुर्खेत विमानस्थलमा पत्रकारसँग भने, ‘प्रहरीले गोली र अ श्रुग्यास प्रहार गरेको छैन।’

द्वन्द्व चाहनेले अस्पतालमा तोडफोड र तनावको अवस्था सिर्जना गरेपछि बाध्य भएर लाठी चार्ज गरिएको मुख्यमन्त्री शाहीले जनाए। प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी सुरेशविक्रम शाहले पनि जुम्लामा गोली नचलेको दाबी गरे।

‘हाम्रा तर्फबाट गोली नै चलेको छैन, अवस्थालाई नियन्त्रणमा लिन लाठी चार्ज गरेका हौं’, उनले भने।

अस्पतालमा १० लाखको क्षति

डा. केसीलाई काठमाडौं लैजाने क्रममा प्रतिष्ठानका विद्यार्थी, समर्थकले अवरोध गरेपछि भएको प्रहरीसँगको दोहोरो झडपबाट १० लाखभन्दा बढीको क्षति भएको छ। झडपमा अस्पतालका सिसा र ढोका फुटेका छन्। प्रतिष्ठानभित्रकै रेलिङ तथा दुईवटा फलामे गेट पनि भत्किएका छन्। यस्तै प्रतिष्ठानमा जडित साइरन र अन्य सामग्रीमा पनि क्षति पुगेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए। अस्पतालका कुर्सी, टेबल, बेन्च, बिरामीलाई सुताउने खाट र झ्याल तोडफोड भएका छन्।

‘तोडफोड गर्नेलाई कारबाही गर्छौं’

यसैबीच कर्णाली प्रदेश सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ। अस्पतालमा घुसपैठ गरेर अराजक समूहले तोडफोड गरेको भन्दै प्रदेश सरकारले उनीहरूलाई कडा कारबाही गर्ने जनाएको हो।

भीड नियन्त्रण गर्न मृत्युको हल्ला

प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायको दाहिने छातीमा गोली लागेको छ। तर जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी तपनकुमार दाहालले अवस्था नियन्त्रणमा लिने रणनीतिस्वरूप प्रहरी जवान उपाध्यायको निधन भएको बताउनुपरेको उल्लेख गरे। 

‘प्रतिष्ठान परिसरको अवस्था तनावग्रस्त थियो, कुनै पनि हालतमा हामीले अवस्थालाई नियन्त्रण बाहिर जान दिनुहुँदैनथ्यो’, उनले भने, ‘भीड नियन्त्रण गर्न पनि प्रहरी जवानको निधन भएको समाचार दियौं, हामीले प्रहरी जवानको मृत्यु भएकाले अब अवस्था नियन्त्रणमा लिन गोली चलाउँछौं भनेपछि भीड पनि तितरबितर भयो। त्यसपछि मात्र डा. केसीलाई काठमाडौं पठाउन सफल भयौं।’

सेनाले फोटो खिच्न दिएन

केसीलाई लिएर सेनाको हेलिकोप्टर बिहीबार अपराह्न सुर्खेत विमानस्थलमा अवतरण गरेपछि उनको फोटो खिच्न गएका सुर्खेतका पत्रकारलाई सेनाका कर्णेलले फोटो खिच्न नदिई अपशब्द प्रयोग गरेका छन्। केसीको फोटो खिच्न गएका पत्रकारलाई सेनाका कर्णेल सागर थापाले अपशब्द प्रयोग गर्दै लखेट्न आदेश दिए। कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसँगको समन्वयमा हेलिकोप्टरमा रहेका केसीको तस्बिर खिच्न पत्रकार विमानस्थलमा पुगेका थिए। तर कर्णेल थापाले पत्रकारलाई हप्काउँदै लखेट्न आदेश दिएका थिए।

जुम्ली महिलाको साथ

केसीका माग जायज भएको भन्दै जुम्ली महिला निरन्तर सडकमा उत्रिए। केसी अनशनका लागि जुम्ला पुगेदेखि नै यहाँका महिलाले सडकमा साथ दिएका थिए। केसीको पक्षमा उत्रिएका महिला सरकारले उनलाई काठमाडौं लैजान लागेको खबर पाएलगत्तै सडकमै पहरेदारी गरेका थिए।

केसीका माग सम्बोधनका लागि राज्यलाई दबाब दिन जुम्लामा आन्दोलनका कार्यक्रम जारी राख्ने संयुक्त संघर्ष समितिले जनाएको छ। बल प्रयोग गरेर केसीलाई लिएपछि सेनाको भगवती दल गणसम्म नारा बाजी गर्दैै केसीका समर्थकले बिहीबार विरोध जनाएका थिए।

सुरुका पाँच दिनसम्म कभर्ड हलमा अनशन बस्न बाध्य बनाइएका केसी स्वास्थ्य बिग्रेपछि प्रतिष्ठानको विशेष उपचार कक्षमा सारिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.