एलईडी बल्ब खरिदमा अनियमितता आशंका

एलईडी बल्ब खरिदमा अनियमितता आशंका

जनकपुरधाम : सडकमा बत्ती राख्न राख्नका लागि धनुषाको जनकपुर उपमहानगरपालिकाले अढाई सय रुपैयाँ पर्ने एलईडी बल्ब झन्डै दोब्बर मूल्यमा खरिद गरेको पाइएको छ। यसबाट सडक बत्ती जडानमा उपमहानगरपालिकाले लाखांैे रकम भ्रष्टाचार गरेको आरोप वडाध्यक्षले लगाएका छन्।

सडकमा बत्ती जडानका लागि २ सय ८० रुपैयाँ पर्ने बल्ब ४ सय ७५ का दरले खरिद गरिएको हो। तार, होल्डर, क्यापलगायत विद्युतीय सामग्री खरिदमा ८५ लाखको बिल बनाएर रकम खर्च गरेको जनाइएको छ।

गत आर्थिक वर्षको जेठ महिनासम्ममा उपमहानगरपालिकाले सडकमा बत्ती जडानका लागि ८५ लाख खर्च गरे पनि २५ वडामध्ये अधिकांशमा बल्ब एक वर्ष नै नटिकी फ्युज भइसकेको जनाइएको छ। उपमहानगरपालिकाका जिन्सी शाखा अधिकृत ललनकुमार कर्णका अनुसार जनप्रतिनिधिले दसैं, तिहारका बेला बत्ती राख्नुपर्ने प्रस्ताव गरेपछि कोटेसनका माध्यमबाट बल्बलगायत विद्युतीय सामग्री खरिद गरिएको थियो।

स्थानीय सत्या इन्टरप्राइजेजबाट आवश्यक सामग्री खरिद गरिएको जनाइएको छ। इन्टरप्राइजेजसँग असोज ९ गते भएको सम्झौताअनुसार १४ वाटको एलईडी बल्ब ४ सय ७५ रुपैयाँ प्रतिगोटा, १ एमएमको तार १ हजार ६ सय रुपैयाँ प्रतिक्विन्टल, डेढ एमएमको तार २ हजार ५ सय रुपैयाँ प्रतिक्विन्टल, बेरिएको तार ९ सय ५० रुपैयाँ प्रतिक्विन्टल र ६ एमएको तार ४५ रुपैयाँ प्रतिमिटरको दरभाउमा खरिद गरिएको हो।

एल्मुनियम क्याप प्रतिगोटा १ सय २५ रुपैयाँ, होल्डर ३६ र बेड स्विच ३० रुपैयाँमा खरिद गरिएको हो। एलईडी बल्बको एक वर्षको ग्यारेन्टीसमेत दिइएको थियो। तर, ४ सय ७५ रुपैयाँमा खरिद गरिएका बल्बको बजारमा दर अढाई सयदेखि २ सय ८० सम्म रहेको व्यापारीले बताएका छन्।

उपमहानगरपालिकाका २५ वटा वडामा ५ हजार ८ सय ९० एलईडी बल्ब, १ हजार ९ सय ८० सामान्य बल्ब, ६ हजार ४ सय होल्डर, ८३ क्वाइल तार, ५ हजार ३ सय ३० थान क्याप पठाइएको थियो। तर, अधिकांश बल्बको फ्युज गएर पुनः सडक अँध्यारो हुन पुगेको उपमहानगरपालिका–४ का वडाअध्यक्ष सुदर्शन सिंहको भनाइ छ।

१ हजार १ सयवटा पोल रहेको ४ नम्बर वडामा सडकबत्ती जडानका लागि पहिलो चरणमा अढाई सय र दोस्रो पटक माग गर्दा ५० वटा बल्ब थप उपलब्ध गराइएको सिंहले बताए। ‘बल्ब कस्तो क्वालिटकिो थियो वा कसरी खरिद भयो भन्ने विषयमा मेयरले हामीलाई कुनै जानकारी गराउनुभएको छैन’, उनले भने।

उपमहानगरपालिकाले २३ नम्बर वडामा उपलब्ध गराएका बल्बसमेत काम नलाग्ने भइसकेको वडाध्यक्ष शत्रुधन पाण्डेले बताए। एक वर्षको ग्यारेन्टी भनिए पनि अधिकांश बल्ब बल्न छाडेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.