सत्याग्रहमा ८५ वर्षीय वृद्ध
काठमाडौं : राजधानी आएको पहिलो दिनमै ८५ वर्षीय कृष्णदत्त जोशी वसन्तपुर गए। डा.गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै सत्याग्रहमा बसेका युवायुवतीसँगै बिरामी पत्नीसहित उनी पलेटी कसे। दमको औषधि साथैमा राखेका उनका आँखाले पनि टाढाको वस्तु राम्ररी ठम्याउन सक्दैनन्। तर पनि ७५ वर्षीय पत्नीसँगै उनी वसन्तपुर डबलीस्थित सामूहिक नागरिक सत्याग्रहमा सहभागी भए।
सोलिडारिटी फर डा.केसी अलायन्सको आह्वानमा शनिबार भएको प्रदर्शनमा सहभागी थिइन् सुनदेवी। ‘डा.केसीले गरिब, निमुखाका लागि अनशन बसेको थाहा पाएपछि प्रदर्शनमा सहभागी भएँ। तर पुुलिसले ड्याङड्याङ अ श्रुग्याँस छाड्यो। ढल्नै आँटेकी थिएँ। पछाडिबाट कसैले च्याप्प समाएर बचाए,’ अघिल्लो दिनको घटना सुनाउँदै सुनदेवीले भनिन्।
शनिवार डा.केसीका पक्षमा भएको नागरिक प्रदर्शनमा अ श्रुग्याँस खाएकाहरू आइतबारको सामूहिक सत्याग्रहमा सहभागी भएका थिए। २३ दिनदेखि आमरण अनशनमा रहेका डा.केसीको चिकित्सा शिक्षा सुधारको मागमा ऐक्यवद्धता जनाउँदै स्वस्तस्फूर्त सामूहिक सत्याग्रहमा बस्न आउनेको संख्या बढेको छ।
डा.केसीका सहयोगी प्रितम सुवेदीका अनुसार आइतबारदेखि सुरु भएको सामूहिक सत्याग्रहमा एक सय १४ जना सहभागी थिए। सत्याग्रह बिहान दशदेखि साँझ पाँच बजेसम्म चलेको थियो। सत्याग्रहस्थलमा राखिएको पुस्तिकामार्फत् दुई सय पन्ध्रजनाले ऐक्यबद्धता जनाएका थिए।
सामूहिक सत्याग्रहमा अस्कर इन्टरनेसनल कलेजकी छात्रा अनुष्का अधिकारी पनि सामेल थिइन्। फिल्म निर्माण विषयमा स्नातक अध्ययनरत अधिकारीले अनशनमा सहभागी हुँदै सडक नाटकमा समेत सहभागी भइन्। १९ वर्षीया अधिकारीले भनिन्, ‘निःस्वार्थ भावना भएका व्यक्ति पाउनै कठिन छ। आफूले दुःख सहेर जनताका लागि एक्लो व्यक्ति लड्नु भएको थाहा पाएपछि घरमा बस्न मन लागेन, सत्याग्रहमा आएँ।’
मागहरू सम्बोधन गर्नेतर्फ जानुको सट्टा सरकारले हेपेझैं लागेपछि आफू केसीलाई साथ दिन आएको उनले बताइन्। सामूहिक सत्याग्रहमा कलेजका विद्यार्थी, वयस्क र पाका उमेरका व्यक्ति समेत सहभागी थिए।
व्यक्तिगत नभई जनस्तरका माग उठाएका कारण धनकुटाबाट ऐक्यबद्धता जनाउन आएका चूडामणि धिमालले निरन्तर साथ दिने बताए। उनले भने, ‘ डा. केसीजस्ता व्यक्ति यो मुलुकका लागि चाहिन्छ भनेर नै साथ दिन आएको हुँ।’
चिकित्सा शिक्षा सुधारका साथै विपन्न नागरिकले सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारका लागि डा.केसीको यो पन्ध्रौं अनशन हो।
सरकारसँग वार्ता गर्न गठित केसी पक्षका वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले सरकार वार्ता गरी समस्या समाधान गर्नेतर्फ संवेदनशील नदेखिएको बताए। उनले भने, ‘औपचारिक रूपमा वार्ता गरी समस्या सम्बोधन गर्नेतर्फ सरकारले चासो दिएको छैन।’
दुईतिहाइको वामपन्थी सरकारले चिकित्सा शिक्षा अध्यादेशलाई पारित गर्दा सबैको हित हुनेमा उल्टो कार्यशैली देखाउँदै अलोकप्रिय बन्न पुगेको सत्याग्रहमा सहभागी हुनेहरूको बुझाइ छ।
डा.केसी पक्षका वार्ता टोली सदस्य ओमप्रकाश अर्यालले भने, ‘सरकारले आफ्नो खुट्टामा आफै बन्चरो हानिरहेको छ। आफ्नो अलोकप्रियता बढाउने काम गरिरहेको छ।’ सर्वसाधारण नागरिकले डा.केसीको मागमा समर्थन जनाउँदै वसन्तपुरमा मात्र नभई विभिन्न ठाउँमा सामूहिक सत्याग्रह बस्ने योजना बनाएका छन्।
सम्पादकहरूको ऐक्यबद्धता
डा.केसीका मागप्रति सम्पादकहरूले ऐक्यबद्धता जनाएका छन्। आइतबार शिक्षण अस्पताल पुगेर सम्पादकहरूले केसीका मागप्रति ऐक्यबद्धता जनाएका हुन्। डा.केसीको अनशन लम्बिएको प्रति चिन्ता व्यक्त गर्दै उनीहरूले यसअघिका सरकारले उनको मागमा सहमति गरेर कार्यान्वयन नगरेका कारण पन्ध्रौं पटक अनशन बस्नु परेको ठहर गरेका छन्।
पटक पटकको अनशनले डा.केसीको जीवन नै संकटमा परेको भन्दै उनीहरूले सत्याग्रहप्रति ऐक्यबद्धता जनाएका हुन्। केसीलाई भेटेपछि सम्पादकहरूले जारी गरेको अपिलमा भनिएको छ, ‘पटक पटक अनशन र लम्बिँदो उपक्रमले डा.केसीको जीवन नै संकटमा परेको छ। हामी डा. केसीको सत्याग्रहप्रति ऐक्यबद्धता जनाउँछौं। सँगै उहाँका माग अविलम्ब सम्बोधनका लागि जोडदार माग गर्छौ।’
डा.केसीको सत्याग्रहप्रति अन्नपूर्ण पोस्ट्का राजाराम गौतम, कान्तिपुरका नारायण वाग्ले, काठमान्डु पोेस्टका अखिलेश उपाध्याय, नागरिकका गुणराज लुइँटेल, रिपब्लिकाका सुवास घिमिरे, नयाँ पत्रिकाका कृष्णज्वाला देवकोटा, हिमालका किरण नेपाल, बाह्रखरीका प्रतीक प्रधान, द हिमालयन टाइम्सका प्रकाश रिमाल, सेतोपाटीका अमित ढकाल, कान्तिपुर टिभीका प्रशान्त अर्याल, कान्तिपुरका पूर्वप्रधानसम्पादक सुधीर शर्मालगायत छन्।
‘वार्ता निःशर्त’
सरकारद्वारा गठित म्यान्डेटबिनाको वार्ता टोलीसँग वार्ता नगर्ने अडान लिएपछि अवरुद्ध बनेको सरकार र डा. केसी पक्षधरबीचको वार्ता प्रक्रिया झन् गाँठो पर्दै गएको छ।
प्रधानमन्त्री केपी ओलीले डा.केसी निःशर्त वार्तामा बस्न तयार भए मात्र सरकार औपचारिक वार्तामा बस्ने जनाएपछि वार्ताको वातावरण बिग्रेको छ। डा. केसीले भने संसद्मा दर्ता गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ फिर्ता लिनुपर्ने अडान राखेका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार र आइतबार डा.केसी पक्षधर वार्ता टोलीका संयोजक डा.अभिषेकराज सिंह र डा.जीवन क्षेत्रीसँग अनौपचारिक कुराकानी गरे पनि औपचारिक वार्ता हुने संकेत देखिएको छैन। ‘सार्वभौम संसद्भन्दा बाहिरबाट चिकित्सा शिक्षा विधेयकको सम्बन्धमा निकास खोज्न थोपरिने कुनै पनि शर्त मान्य र ग्राह्य नहुने कुरामा प्रधानमन्त्री ओली अडिग रहेको’ उनका प्रेस सल्लहाकार कुन्दन अर्यालले जनाएका छन्।
‘प्रधानमन्त्री ओलीले घटनाक्रमलाई नजिकबाट नियालिरहनु भएको छ’, प्रेस सल्लाहकार अर्यालले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘डा. केसी स्वतन्त्र निर्णय लिन सक्ने अवस्थामा पुग्नु भएको खण्डमा मात्र निःशर्त वार्ता गर्न तत्पर हुनु हुने छ। उहाँ निःशर्त रूपमा वार्ता गर्न तयार हुनु भयो भने सरकारका तर्फबाट जुनसुकै बेला औपचारिक वार्ता हुन सक्छ।’
प्रतिक्रिया दिनुहोस !