रुप्से र अन्धगल्छीको एकीकृत गुरुयोजना तयार
बेनी : अन्नपूर्ण-३ दानामा अवस्थित विश्वकै गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरनाको एकीकृत पूर्वाधार विकासका लागि गुरुयोजना बनाइएको छ । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत पर्ने रुप्से र अन्धगल्छीलाई चार वर्षभित्र प्रसिद्ध पर्यटकीय गन्तव्य बनाउन २ करोड ६५ लाख रुपैयाँ पूर्वाधारमा लगानी गर्नुपर्ने गरी गुरुयोजना बनाइएको हो ।
वडा कार्यालयले बेनीस्थित डेल्टा इन्जिनियरिङसँग सहकार्य गरेर तयार पारेको गुरुयोजनाअनुसार गाउँपालिका, प्रदेश र संघीय सरकारसँग बजेटको पहल गरिने वडाध्यक्ष नरसिंहबहादुर पुर्जाले जानकारी दिए । ‘यो दुई पर्यटकीय गन्तव्य अब वडाको मात्रै सम्पत्ति रहेन, त्यसैले यसको व्यवस्थित विकासका लागि गुरुयोजना बनाएका हौं’, उनले भने, ‘जुनसुकै निकायबाट आउने बजेट अब यही गुरुयोजनाको अधीनमा रहेर पूर्वाधार निर्माणमा लगानी गर्नेछौं ।’ तीन खण्डमा बग्ने रुप्से झरना र अन्धगल्छीमा यसअघि साविक जिल्ला विकास समिति, गाविसको पहलमा पदमार्ग र भ्युटावर निर्माण गरिएको थियो ।
गुरुयोजनामा अहिले निर्माण भएका पदमार्गको स्तरोन्नति र विस्तार, भ्युटावर थप, अन्धगल्छी अवलोकनका लागि पुल, रुप्से झरनाको हरेक खण्डमा बिरुवा रोपण र प्रत्येक खण्डलाई तालको स्वरूप दिइनुपर्ने उल्लेख छ । अन्धगल्छी र झरनाको बीचमा वनभोजस्थल, व्यवस्थित पार्किङस्थल, रुप्से झरनाको माथिल्लो भ्युटावरमा पुग्न सडक विस्तार र दुवैतर्फ स्वागत गेट निर्माणको प्रस्ताव गरिएको इन्जिनियर विष्णु रिजालले बताए ।
‘झरनाको प्रत्येक खण्डलाई ताल बनाउने, अन्धगल्छी अवलोकन गर्न बनाइएको भ्युटावरले पुरै भाग देखिँदैन, त्यसैले अवलोकनका लागि वारिपारि जोड्ने गरी पुल, वनभोजस्थल र व्यवस्थित पार्किङस्थल निर्माणमा बढी खर्च पर्ने देखिएको छ’, इन्जिनियर रिजालले भने, ‘यति पूर्वाधार बनाउन सकियो भने अहिलेभन्दा ५ गुणा पर्यटक यस क्षेत्रमा पुग्ने अनुमान गरेका छौं ।’
मुस्ताङ भ्रमणमा जाने यात्रुहरु एक पटक रुप्से झरना र अन्धगल्छी अवलोकन गरेरै फर्कने गरेका छन् । गाउँपालिकाले त्यहाँ पुग्ने पर्यटकको तथ्यांक संकलनको व्यवस्था गरेको छैन । तर, पछिल्लो समय घुमफिरका लागि आउने स्वदेशी पर्यटकको संख्या बढी छ । पर्यटकलाई लक्ष्य गरी वडा कार्यालयले रुप्से र अन्धगल्छीको बीच भागमा सार्वजनिक शौंचालय निर्माण गरेको वडाध्यक्ष पुर्जाले जानकारी दिए । पानीको मात्रा बढ्ने भएकाले हिउँदभन्दा वर्षायाममा रुप्से बढी मनमोहक देखिन्छ । १९७५ सालमा ७५ पैसामा हुलाकी टिकटमा समेत रुप्सेको फोटो टाँसिएको थियो । ‘रुप्से र अन्धगल्छीको बीचमा शौचालय थिएन अहिले त्यो आवश्यकता पनि पूरा भएको छ’, उनले भने, ‘अब यही क्षेत्रमा होटल व्यवसाय पनि विस्तार गर्ने योजना छ ।’
अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले झरना र अन्धगल्छीको अत्यावश्यक ठाउँमा गाउँपालिकाले सहयोग गरेको बताए । ‘थप बजेटका लागि हामीले माथिल्लो निकायमा दबाब दिएका छौं, यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सक्यौं भने त्यसले यहाँको नागरिकको जीवनस्तरमा निकै परिर्वतन ल्याउनेछ’, उनले भने, ‘गुरुयोजनाले परिकल्पना गरेका पूर्वाधार निर्माणमा सरकार, पर्यटन व्यवसायी र स्थानीयको समान दायित्व रहन्छ ।’